सर्प जोगाउन सक्रिय परिवार

चितवन / सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् । भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् । सर्पलाई समातेर जङ्गलमा लगेर छाडिदिन्छन् । सापकोटा परिवार सर्पलाई सन्तानसरह माया दिन्छन् ।

गाउँघरमा सर्प देखिँदा उहाँहरुलाई बोलाइन्छ । उहाँहरु तुरुन्तै पुगेर उद्धारमा जुट्नुहुन्छ । स्थानीयका घरभित्र, आँगन वरपर देखिएका सर्प समात्न जाने गर्नुहुन्छ । “घरमा सर्प पस्यो भन्दै फोन आउँछ”, उहाँले भन्नुभयो, “सर्पलाई समाउने औजार र बोरा लिएर जान्छु, करीब १० मिनेटमा उद्वारको काम सकिन्छ ।”एक महीनामै आठ सर्पको उद्वार भएको छ । उहाँ सर्पलाई बचाउनुपर्ने तर्क राख्नुहुन्छ । “सर्पलाई उद्वार गर्र्दा सन्तुष्टि मिलेको छ”, सापकोटाले भन्नुभयो, “सर्प जोगाउन सकिएन भने मानव अस्तित्व पनि समाप्त हुन्छ ।” सर्प लोप भएमा भावी सन्ततिले कथाका रुपमा कल्पना गर्नुपर्ने दिन आउने बताउनुहुन्छ । सर्प उद्वार गरेवापत कुनै रकम लिनुहुन्न ।

चितवनमा मात्रै होइन, उहाँले छिमेकी जिल्ला नवलपुरसम्म पनि पुगेर उद्धार गर्नुभएको छ । बाउन्न वर्षीय अनिरुद्र नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाउनुभएको थियो । नेपाली सेनामा हुँदा उहाँले सर्पको कहिल्यै उद्धार गर्नु नभएको भएपनि सर्प संरक्षणमा जुट्नुभएको छोरा सुनिल सापकोटाबाट प्रभावित भएर उहाँ पनि सर्प संरक्षणमा लाग्नुभयो । “छोराले सर्प बचाउनुपर्छ भन्यो, “जियोग्राफी, एनिमल प्लानेट जस्त विदेशी टेलिभिजन च्यानलहरु हेर्दा विदेशीले संरक्षण गरेको देखेँ”, उहाँले विगत सम्झदै भन्नुभयो, “विदेशीले सर्पलाई चिडियाखानामा पालेको देखेँ । वातावरणलाई यथावत राख्न सर्प बचाउनैपर्ने रहेछ भन्ने थाहा भएपछि यसतर्फ लागेको हुँ ।”

उहाँ सर्प मार्न नहुनेमा अडिग हुनुहुन्छ । “मार्दा एकछिन सुरक्षित भएको अनुभव होला तर यसले वातावरणलार्ई धेरै घाटा हुन्छ र मानव अस्तित्वलाई नै सङ्कट पु¥याउँछ”, उहाँले भन्नुभयो, “सर्पको विष औषधिका रुपमा समेत प्रयोग हुन्छ, ‘एन्टी स्नेक भेनम’ बन्छ, अन्य रोगविरुद्धको औषधि पनि बन्दो रहेछ ।” उहाँ सर्पलाई सम्पत्तिका रुपमा चित्रण गर्नुहुन्छ । उहाँले पछिल्लो समय घरभित्र प्रवेश गरेका करेत, अजिङ्गर, धामिनको उद्धार गरेर ल्याएको जानकारी दिनुभयो । अहिलेसम्म ४०० भन्दा बढी सर्पलाई उद्वार गरी जङ्गलमा छाडेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Loading…