पाथीभरा गोल्डकपको पहिलो खेलमा ईलाम बिजयी

ताप्लेजुङ / ताप्लेजुङमा विहिवारदेखि सुरु चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा रेडहर्ष क्लब ईलाम बिजयी भएको छ । घरेलु टिम पोमु केछाङ स्र्पोटिङ क्लब ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै ईलाम बिजयी भएको हो । इलामले खेलको सुरुदेखि नै दबावमा राखेको थियो । पहिलो हाफको ८ औँ मिनेटमा पासाङ शेर्पाको गोलमा इलामले अग्रता लिएको थियो ।

यस्तै खेलको १७ औँ र २६ औँ मिनेटमा फोफोनाले लगातार २ गोल गरे । दोश्रो हाफमा दुवै टिमले गोल गर्न सकेन् । ताप्लेजुङले जित हासिल गर्ने लक्षका साथ तीन जना विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो । आइभेरी कोष्टका याओ कोवासी,सायरा डाई र एलेक्स इक्वेल थिए । ईलामले पनि २ जना विदेशी खेलाडीलाई समावेश गरेको थियो । आजको म्यान अफ दि म्याच रेडहर्ष ईलामका जर्सि नम्बर ७ का फोफोना घोषित भएकाछन् । यसैबीच भोली हुने खेलमा ताप्लेजुङ ११ (आयोजक) र बेलबारी फुटबल क्लब मोरङबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुने छ ।

पुर्वकै बहुप्रतिक्षित मानिने पाथीभरा गोल्डकप प्रतियोगिताको आजै उद्घाटन भएको हो । भदौ ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भारतको समेत गरि १० टिमको सहभागिता छ । यू.के.एफ.सि. दार्जेलिङ, गोर्खा स्पोर्टिङ क्लब दमक, एलाभेन एरोज सुनसरी, रेडस्टार क्लब झापा, डाँगीहाट क्लब मोरङ, फिदिम स्पोर्टिङ पाँचथर, बेलबारी फुटबल क्लब, रेडहर्ष ईलाम, ताप्लेजुङ ११ आयोजक र पोमु केछाङ ताप्लेजुङ प्रतियोगितामा सहभागि भएकाहुन् ।

सदरमुकाम स्थित भानुजन माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिताको बिजेताले ३ लाख ११ हजार नगद सहित रुपैँया नगद सहित ट्रफि प्रदान गरिने छ । यस्तै उपबिजेताले १ लाख ५१ हजार नगद सहित ट्रफि पाउने छ । प्रशिद्ध तिर्थस्थल पाथीभराको प्रचार–प्रसार गर्ने र खेलकुदका माध्ययमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्य सहित प्रतियोगिताको आयोजना गरिएको आयोजक लोखजात्रा खेल सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…