क्रिकेट पिचमा भ्रष्टाचार भएको छैन : घिमिरे

विराटनगर / पछिल्लो समय प्रदेशसभा र सडकमा चर्चामा रहेको मोरङको विराटनगर–१९ मा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानको काम रोकिएको छ । प्रदेशसभामा क्रिकेट खेल मैदान निर्माण गर्दा भ्रष्टाचार भएको विषय उठेपछि सम्बन्धित निकायले मंगलबार खेल मैदानमै पत्रकार सम्मेलन गरेर भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

बैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नति व्यवस्थापन समितिका अध्यक्ष नवीन घिमिरेले पत्रकार सम्मेलनमा पिच र मैदान बनाउन कुनै किसिमको कमसल समान प्रयोग नगरेको दाबी गरे । ‘भ्रष्टाचार गरेको र काम नै नभई विभिन्न शीर्षक बनाएर बिल भौचर पेस गरी रकम हिनामिना गरेको छैन भन्नेमा हामी क्लियर छौं,’ घिमिरेले भने, ‘जसले पनि काम र बिल हेर्दा हुन्छ, हामी काहीं चुकेका छैनौं ।’ जति काम भयो त्यस अनुरुपको बिल भौचर सरकारलाई पेस गरेका छौं । हामीले नाफा कमाउनेभन्दा पनि गुणस्तरलाई ध्यान दिँदै काम अघि बढाएको हौं, घिमिरेले भने ।

‘यदि हामीले भ्रष्टाचार गर्ने नियत राखेका भए पिच र मैदानमा गुणस्तरीय समान प्रयोग गर्दैन थियौं,’ घिमिरेले भने, ‘सरकारसँग सम्झौता जेठ तेस्रो सातामा भयो, काम तुरुन्तै थाल्यौं ।’ वर्खामा सम्झौता भयो र काम सुरु ग¥यौं, भारतको मुम्बइका क्युरेटर सन्तोष सिंहलाई ल्याएर पिच र मैदानलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर व्यापक छलफल गर्दै उसले भारतको विभिन्न ठाउँमा बनाइएका अन्तर्राष्ट्रिय मैदानको फर्मुला प्रयोग गरी काम गरेका छौं, घिमिरेले बताए ।

खेल मैदानमा ५ वटा अन्तर्राष्ट्रिय पिच बन्ने छ । अन्तर्राष्ट्रिय स्तरका अढाइ फिट गहिरो खाल्डो खनेर इँटा, फोड्वा गिट्टी, बालुवा प्रयोग गरिएको छ । अब यसपछि पहेंलो माटो, कालो माटो र रातो माटो प्रयोग हुन्छ भने त्यो पनि परीक्षण गरेर मात्र प्रयोगमा आउने छ । मैदान व्यवस्थापन समिति र प्रदेश सरकारबीच ८५ लाख रुपैयाँमा मैदान तयार गर्ने सम्झौता भएको हो ।

‘अहिलेसम्म ३६ लाख ५७ हजार रुपैयाँ खर्च भएको र सरकारलाई त्यही खर्च अनुरुपको बिल भौचर पेस गरेको छौं,’ समितिका अध्यक्ष घिमिरेले भने, ‘८५ लाख रुपैयाँमा सम्झौता हामीले भ्रष्टाचार गर्ने भएको सबै रकम मैदानमै खर्च गर्ने थियौं होला ।’ हामीले पिच र मैदान बनाउन करिब ४३ लाख मात्र लाग्ने भएपछि त्यस अनुसार काम गर्दै गयौं । ३६ लाख ५७ हजार खर्च भयो बाँकी पैसा सरकारले फिर्ता गरेका छौं । वर्खाको समयले गर्दा काम ढिला भयो, हामीले जुन गतिमा गर्न खोजेका थियौं पानीले गर्न दिएन ।

समितिले सरकारसँग समन्वय गरेर सम्झौता अनुसारको बजेटबाट मैदानमा चाहिने आधुनिक घाँस काट्ने मेसिन ठूलो र सानो गरी ३ वटा, पिचको घाँस काट्ने स्पेशल मेसिन १ वटा, पिच छाप्नका लागि जुट र प्लाष्टिका कभर २–२ थान र पूरै मैदान ढाक्नका लागि कभर ३ थान खरिद भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…