त्रिशूली बस दुर्घटनामा हराइरहेका १९ जनाकाे खाेजी गर्न पाँच जिल्लाका प्रहरी परिचालन

धादिङ / धादिङको पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर भएको बस दुर्घटनाका बेपत्ताहरुकाे अवस्था अझै पत्तालाग्न सकेकाे छैन । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्ला सँग अनुराेध समेत गरेकाे छ । खोजी कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायसँग समन्वय गरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी कार्यमा जुटेका छन् । वर्षाको समयमा त्रिशूलीमा ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

गत शुक्रबार सर्लाहीकाे मलङ्गवाबाट चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नंको बस त्रिशूलीमा खसेर दुर्घटनाग्रस्त भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ । उक्त बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशङ्का गरिएको प्रजिअ पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

Loading…