कहाँ गए करोडौं कुम्ल्याएर बेलबारीका सुन ब्यबसायी श्रेष्ठ ?

बेलबारी / सर्बसाधारणलाई बिभिन्न प्रलोभन देखाएर करोडौ रुपैया उठाएर बेलबारीका एक सुन ब्यबसायी फरार भएपछि सर्बसाधारणको बिचल्ली भएको छ । बेलबारी नगरपालिका–१ मा ॐ कृष्ण सुनचाँदी पसल र बेलबारी ३ मा ॐ कृष्ण ट्रेडर्स सञ्चालन गर्दै आएका व्यवसायी घनश्याम श्रेष्ठ बेपत्ता भएपछि सर्वसाधारणको १५ करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ । साना देखि ठुला ब्यबसायी सँग ५० हजारदेखि ४२ लाख सम्म लिएका श्रेष्ठ एकाएक फरार भएपछि सर्बसाधारणको रकम जोखिममा परेको हो ।

जग्गा कारोबारी समेत रहेका उनले सस्तोमा जग्गा उपलब्ध गराउने र उद्योग खोलेर सेयर दिने भन्दै सर्वसाधारणसँग करोडौं रुपैयाँ कुम्ल्याएर गायब भएका हुन । उनले ब्याजमा सर्बसाधारणको पैसा समेत लिने गरेका थिए । अरुले भन्दा महंगो ब्याज दिने भन्दै उनले पैसा लिन्थे र आबश्यक पर्दा पैसा फिर्ता समेत गर्ने गरेका थिए । ब्याजको लोभमा कतिपय बृद्धबृद्धाले बृद्धाभत्ताको रकम समेत श्रेष्ठकहाँ राखेका थिए । बिगत दुई वर्षदेखि उनले एक जनासँग ५० हजारदेखि ४२ लाख रुपैयाँसम्म उठाएको खुलेको छ । पीडितले लामो समयसम्म जग्गा नदिएको र कुनै उद्योग धन्दासमेत सञ्चालन नगरेपछि श्रेष्ठबाट आफू ठगिएको थाहा भएको गुनाासो गरेका छन । ठगिएको थाहा पाएर पैसा माग्न जाँदा एक महिनादेखि उनी सम्पर्कविहीन बनेको पीडितको गुनासो छ । पीडितले श्रेष्ठलाई सम्पर्कमा ल्याई गुमेको पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गर्दै प्रस्तावित उद्योग वाणिज्य संघ बेलबारीमा निवेदन समेत दिएका छन् ।

पीडितले नगरपालिकाकी उप–प्रमुख ढाकाकुमारी पराजुलीलाई पनि भेटेर निवेदन दिएका छन् । पराजुलीले पीडितलाई जिल्ला प्रशासन कार्यालय, प्रहरी लगायतका निकायमा जान सुझाव दिएको बताइन् । कतिलाई उनले चेक दिए पनि बाउन्स रहेको पाईएको छ । पीडितहरु घनश्याम पीडित संघर्ष समिति नै बनाएर पैसा फिर्ताका लागि पहल गरिदिन विभिन्न निकाय धाइरहेका छन् । संघर्ष समितिका अध्यक्ष मातृकाप्रसाद पराजुलीले ठगीमा पर्नेको संख्या दिनप्रतिदिन बढिरहेको बताउँदै भने, ‘सबै जसोसँग भर्पाइ गरेर जग्गा दिने र उद्योग खोल्ने भन्दै पैसा लिएको पाइयो । भर्पाइलाई प्रमाणका रूपमा बोकेर विभिन्न निकायमा धाएको साता बिते पनि कतैबाट सहयोग पाउन सकिएको छैन ।’ उनले पनि आफूले २० लाख रुपैयाँ दिएको बताए । घटनाका विषयमा उजुरी गर्न जाँदा प्रहरीले भने वास्ता नगरेको गुनासो पीडितको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले श्रेष्ठविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि पीडित निराश बनेका छन् । उनले भने, ‘यो मुद्दा प्रहरीले भन्दा पनि न्यायिक समितिले हेर्ने हो । त्यही भएर जाहेरी दर्ता नगरिएको हो । पिडितहरु यतिबेला आफनो डुबेको रकम उठाउन प्रहरी कार्यलय,नगरपालिका र जिल्ला प्रशासन कार्यलय धाईरहेका छन । श्रेष्ठ भने एक महिनादेखि फरार रहेका छन । सिक्किममा उनका आफन्त रहेका कारण उनी त्यहिँ लुकेर बसेको हुन सक्ने केहीको अनुमान छ । ठगीमा परेकाहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ

तपाईको प्रतिक्रिया

Loading…