मुख्यमन्त्री कप अनियमितता छानबिन : विज्ञ टोलीसँग छलफल

विराटनगर / प्रदेश १ मा असार अन्तिममा सम्पन्न मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा आर्थिक अनियमितता तथा तेह्रथुमको टोली घटुवा भएको विषयमा प्रदेशको सार्वजनिक लेखा समितिले सोमबार विज्ञसँग छलफल गरेको छ । विराटनगरस्थित समितिको कार्यालयमा विज्ञका रुपमा पूर्व प्रशिक्षक सन्तोष वानियाँ र फिफाका पूर्वसहायक रेफ्री किरण गिरीसँग प्रतियोगिताका विषयमा जानकारी लिएको हो ।

समितिका सभापति शिवनारायण सिंह गन्गाईले फुटबलमा जानेका, बुझेको र लामोसमयदेखि फुटबलमा सक्रिय रहेको हुनाले दुवै जनालाई विज्ञका रुपमा समितिले बोलाएको बताए । सभापति सिंहले दुवै विज्ञसँग प्रतियोगिता आयोजनाको नियमावलीको विषयमा कुरा भएको स्पस्ट पारे । उनले भने, ‘यस छलफलमा तेह्रथुम, सुनसरी र धनकुटाबीच भएको खेलको विषयमा अंकसहित टोली बाहिरिने अवस्थाको विषयमा जानकारी लियौं ।’

छानविनका क्रममा गिरीले उपलब्ध कागजातका आधारमा आफूले केही बोल्न नमिल्ने बताएका थिए । उनले भने, ‘अंकका आधारमा तेह्रथुम बाहिरिएको हो होइन त्यसबारे रिपोर्ट हेर्न आवश्यक हुन्छ । सो रिपोर्ट उपलब्ध नहुँदा मैले यसै भन्न सक्ने अवस्था छैन । त्यसैले पनि पहिले फिल्ड रिपोर्ट हेर्न पाएपछि कुरा अघि बुझाउन सकिन्छ ।’

यद्यपी प्रतियोगिता आयोजक पक्षले हालसम्म धरानमा भएको खेलको पूर्ण विवरण समिति समक्ष बुझाइसकेको छैन । सभापति गन्गाईले भने, ‘समितिले माग गरेबमोजिम खेल विवरण आयोजक पक्षले बुझाएको छैन । तीन देखि चार दिनको समय उपलब्ध गराएका छौं । त्यसभित्र समितिले माग गरेका सबै कागजपत्रसहित आयोजक पक्ष उपस्थित हुनेछन् ।’

गत १७ गते समितिले छानबिनमा तानेर मुख्यमन्त्री कपको आयोजक समितिका अध्यक्ष किरण राईलाई रकम भौचर, खेल विवरण उपलब्ध गराउन माग गरेको थियो । समितिका सदस्य कुलप्रसाद साम्बा लिम्बूका अनुसार प्रतियोगितामा भएको आर्थिक पाटो विषय लेखा समिति र प्राविधीक पाटोको विषय सामाजिक विकास समितिले हेर्नेछ ।

प्रतियोगिता आयोजक समितिले लेखा समितिलाई मागे बमोजिम कागजपत्र यसअघि नै उपलब्ध गराएको र पत्रमार्फत माग गरेको विल, भौचर तत्काल बुझाउने जनाएको छ । साउन १७ गते छानबिनका क्रममा लेखा समिति समक्ष प्रतियोगिता आयोजनाका क्रममा एक लाख ७९ हजार रुपैयाँ रकम अपुग भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजक पक्षले दाबी गरेको थियो ।

विज्ञ को हुन्

विज्ञका रुपमा समितिमा बोलाइएका दुवै जना विराटनगरका स्थायीबासिन्दा हुन् । लामो समय फुटबलमा सक्रिय गिरी पछिल्लोसमय निस्क्रिय सरह रहेका छन् ।  हाल उनी एन्फाको रेफ्री समितिमा समेत अटाएका छैनन् । यसैगरि, एघार महिना अघि गिरी थाइल्याण्ड रेफ्री कोर्षबाट विवादमा तानिएका थिए । गतवर्ष रेफ्री कोर्षका लागि एन्फाको अनुमति विना थाइल्याण्ड पुगेका थिए । सो क्रममा एन्फाले गिरीलाई कार्यक्रममा सहभागिता नगराउन आयोजकलाई जानकारी गराएपछि उनी काठमाडौं फर्किएका थिए । उनले काठमाडौंमा एन्फाले प्रस्तुत गरेको घटनाको विरुद्धमा पत्रकार सम्मेलन गरेर विवादमा आएका थिए । त्यसघटनापछि फुटबलबाट आफू टाढा रहेको बताउँदै आएका गिरी फुटबल प्रतियोगितामा कम देखिन्थे । उनी मुख्यमन्त्री कप प्रदेश लिगका क्रममा पनि समिति बाहिर रहेका थिए । यद्धपी तेह्रथुमको टोली बाहिरिएसंगै दोश्रो चरणका खेलका लागि धरानमा उपस्थित हँुदै आएका थिए ।

त्यसैगरि अर्का विज्ञका रुपमा छलफलमा उपस्थित वानियाँ मुख्यमन्त्री कपकोे विराटनगर भेन्युका संयोजक रहेका थिए । मुख्यमन्त्री कपको दोश्रो चरणको खेल विराटनगरस्थित सहिद मैदानमा हुने कार्यक्रम तय थियो । यद्यपी वर्षाका कारण आयोजकले खेल धरान सारेका थिए। विराटनगरमा प्रतियोगिता सञ्चालनका लागि आयोजकले तयारी समेत गरेको थियो । त्यसैगरि, बानियाँ विराट गोल्डकप ट्रष्टका अध्यक्ष पनि हुन् । लामोसमय फुटबलमा सक्रिय रहँदै आएका वानियाँले मुख्यमन्त्री कपको आर्थिक पाटोको जानकारी नभएको र प्राविधीक विषयमा छलफल भएको समिति समक्ष बताएका छन् । उनी एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको कार्यकालमा वरिष्ठ मानार्थ उपाध्यक्ष समेत भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…