किन खानुहुँदैन साउनमा माछा मासु ? यस्तो छ वैज्ञानिक कारण ।


साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो ।

पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ ।

भलै अहिलेका पुस्तालाई यी कुरा भलै धार्मिक आडम्बर लाग्न सक्छ । वा यो केवल परम्परा मात्र लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरुसँग विज्ञान पनि जोडिएर आएको छ । साउन महिनामा किन शिवको पूजा गरिन्छ, किन उपवास बसिन्छ, किन वोलवल धाउन गरिन्छ ? यी सबैको वैज्ञानिक तर्क दिन सकिन्छ ।

साउन महिना, जो मध्य बर्षायामसँगै जोडिएर आउँछ । असारको चटारो सक्न नभ्याउँदै साउन महिना आउँछ । यतिबेला खेती किसानी गर्नेहरुले बालीनाली लगाएर विश्राम लिने बेला हुन्छ । तपाई, हामीलाई थाहै छ, हाम्रो देश कृषिमा आधारित छन् । धेरैजसो जन-जीविका खेतीपातीबाटै धानिएको छ ।

खेतीको कुरा जोड्नुको अर्थ के भने, साउन महिना किसान बर्गका लागि पनि विशेष हो । खेतीपातीको चटारोबाट विश्राम लिएर मनलाई धर्मकर्ममा लगाउने बेला हो यो । धार्मिक आस्थाको रुपमा मात्र होइन, हाम्रो जीवन पद्धतीसँग जोडिएका कुरा हुन् यी ।

किन व्रत बस्ने ?

साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानलाई खुसी तुल्याउनका लागि मात्र होइन । वा आफ्नो मनोकांक्षा पुरा गराउन मात्र होइन । यी त आस्थाका कुरा भए । विज्ञानको कुरा अर्कै छ ।

भनिन्छ, वर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानी लगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

हामीले देखे, सुनेकै कुरा हो, झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रति छौं । यतिबेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पूर्खाहरुले यसबेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।

किन मासुमंस नखाइएको होला ?

साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ । तर, यससँग धार्मिक तर्कमात्र जोडिएको छैन, वैज्ञानिक तर्क पनि छ ।

माथि पनि उल्लेख गरियो यो सिजनमा संक्रमणको भय अधिक रहन्छ । र, मासुजन्य परिकारमा संक्रमणको बढी संभावना हुन्छ । मासुमंसमा जीवाणु फैलने । कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस त्यती हितकर मानिदैन ।

वर्षायाम भनेको धेरै जसो पानीमा पाइने जीवहरुको प्रजननको महिना हो । पहिलेको जमानामा माछालाई व्यावसायीक रुपमा छुट्टै पोखरीमा पाल्ने र खानको लागि प्रयोग गर्ने चलन थिएन ।

प्राकृतिक नदीहरु र खोलामा पाइने सिमित माछाहरु प्रजनन महिनामा खाइदिएमा अर्को वर्ष माछाको सङ्ख्या घट्ने वा लोप नै हुने डर हुन्थ्यो । त्यसैले माछामासु खानमा नियन्त्रण गरिएको हुनुपर्छ ।

कस्तो खानपान उपयुक्त ?

यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीर लगायत दुधजन्य परिकार खाने गरिन्छ ।

यस बर्षको विशेष साउन

यस बर्षको साउन महिनामा विशेष रहेको बताइन्छ । किनभने १९ बर्षपछि एक दुर्लभ संयोग जुरेको छ । यस पटक साउनको महिना २८ वा २९ दिनको रहने छैन, पुरा ३० दिनको रहनेछ ।

खासमा यस पटक साउन महिना ३० दिनको हुनुको पछाडि अधिकमास परेकाले हो । हरेक तीन बर्षमा एक पटक अधिकमास पर्छ ।

यस पटक साउन महिना चार सोमबारको व्रत हुनेछ । पहिलो साउनको सोमवार ३० जुलाईको हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading…