अन्ततः बन्द भयो जनतासँग प्रधानमन्त्री कार्यक्रम, मनोज पाण्डेले दिए राजीनामा

 

काठमाडौं / एक वर्षदेखि प्रशारण भइरहेको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द भएको छ । अघिल्लो वर्ष साउन २ गतेदेखि प्रसारणमा आएको यो कार्यक्रम बुधबारदेखि बन्द भएको हो । होटल सोल्टीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रस्तोता मनोज पाण्डेले यो कार्यक्रमबाट विदा लिएको घोषणा गरे । यस्तै उनले प्रधानमन्त्रीको आडियो भिडियो विज्ञ पदबाट समेत राजीनामा दिएको बताए । स्रोतका अनुसार प्रधानमन्त्रिले पार्टीका नेताहरू, सचिवालयका कर्मचारी र सल्लाहकारहरूको सुझावमा कार्यक्रम अघि नबढाउने भएका हुन् । कार्यक्रम नवीकरण नगर्ने प्रम कार्यालयको निर्णयानुसार पाण्डेले विदा लिएका हुन् । अब प्रधानमन्त्री कार्यालयमा समेत उनको कुनै भूमिका रहने छैन ।

प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि यो कार्यक्रम तत्कालका लागि बन्द भएको पुष्टि गरेको छ । ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना भइरहेको पृष्ठभूमिमा पाण्डेले विदा लिने घोषणा गरेका हुन् । पाण्डेमाथि कार्यक्रमको नाममा रकम उठाएको आरोप समेत लागेको थियो ।
विदा लिने क्रममा पाण्डेले बाहिर चर्चा भए जस्तो आफूले कुनै पनि सरकारी निकायबाट विज्ञापन नउठाएको दाबी गरेका छन् । प्रधानमन्त्री कार्यालयले एक वर्षका लागि प्रतिस्पर्धा नगराइ पाण्डेको संस्था कथा नेपाललाइ कार्यक्रम चलाउने जिम्मेवारी सुम्पेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले एक वर्षमा ५० वटा कार्यक्रम चलेको बताउँदै विदेश जानुपरेकाले र स्वास्थ्यका कारण ४÷५ वटा कार्यत्रममा भाग लिन नपाएको बताए । मनोज पाण्डेले उक्त कार्यक्रम छाड्दा आफूलाई दुःख लागेको ओलीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…