डुबानमा प्राधिकरण कार्यालय, विद्यालय तीन दिन नखुल्ने 

विराटनगर  /  अत्यधिक वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्र नै डुबानमा परेको छ। वितरण केन्द्र नै डुबानमा परेपछि विराटनगर क्षेत्रमा विद्युत् वितरण बन्द गरिएको छ। प्राधिकरणको विराटनगर वितरण शाखाले शनिबार अबेर सूचना जारी गर्दै सेवा बन्द गर्ने जानकारी दिएको हो। प्राधिकरण विराटनगर वितरण केन्द्रको भृकुटीचोकस्थित कार्यालय हाताभित्र तथा प्रशासनिक भवनको कार्यालयभित्र एक फिट पानी जमेको प्राधिकरणले जनाएको छ। 

पानी जमेपछि आइतबार इमरजेन्सी बाहेकका विद्युत् महसुलको काउण्टरसहित सम्पूर्ण सेवाहरु बन्द हुने जनाइएको हो। ‘वर्षाका कारण वितरण केन्द्र हेर्ने सम्पूर्ण क्षेत्र भित्र विद्युत सुचारु गर्न नसकेकाले यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र क्षमाप्रार्थी छ,’ उक्त सूचनामा भनिएको छ। 

विराटनगरका विद्यालय तीन दिन विदा यसैबीच अत्यधिक वर्षका कारणले पठनपाठन असहज भएको भन्दै विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयलाई तीन दिनसम्म छुट्टी गर्न निर्देशन दिएको छ। साउन एक गतेदेखि २४ गतेसम्मको वर्षे विदामा समायोजन हुने गरी आइतबार, सोमबार र मंगलबारका लागि छुट्टी गरिएको विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Loading…