विवादित बन्यो मुख्यमन्त्री कप

विराटनगर / मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता विवादित बनेको छ । धरानमा भएको लिग खेल अन्तर्गत सुनसरी र धनकुटा दोश्रो चरणमा प्रवेश तथा तेह्रथुम प्रतियोगिताबाट बाहिरिएसँगै प्रतियोगिता विवादमा परेको हो । लिग चरणको खेलमा ८ अंक जोडेको तेह्रथुम, धनकुटा र सुनसरी मध्ये तेह्रथुम प्रतियोगिताबाट बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा सुनसरीले भोजपुरलाई ९–१ र धनकुटाले संखुवासभालाई ७–२ गोल अन्तरले पराजित ग¥यो । अप्रत्यासित नजितासहित धनकुटा र सुनसरी दोस्रो चरणमा पुगेपछि त्यस अघि ८ अंकसहित दोस्रो चरण प्रवेशका लागि सुरक्षित रहेको तेह्रथुम बाहिरियो ।

यस विषयमा आयोजक समक्ष कुनैप्रकारको उजुरी नआएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले बताए । उनले प्रतियोगिता नियामावली अन्तर्गत रहेर निर्णय गर्दा तेह्रथुम बाहिरिएको दाबी गरे । उनले भने, ‘हालसम्म अघिल्लो चरणमा पुग्ने र बाहिरिने दुवै टिमले कुनै दाबी विरोध नगरेका कारण सुनसरी र धनकुटालाई दोस्रो चरणमा पुगे ।’ लिग नियमावलीको अंक र स्थान निर्धारण अन्तर्गत ५ को ‘ङ’ मा यदि दुईवटा टोलीबीच अंक बराबर भएमा बराबर भएको टोलीबीच बढी गोल गर्ने टोली अर्को चरणमा प्रवेश गर्ने उल्लेख छ । यसअन्र्तगत तेह्रथुम, सुनसरी र धनकुटाको समान ८ अंक छ । तीन टोली मध्ये तेह्रथुमले ४ गोल गर्दै चार गोल आत्मसात गरेको छ । सुनसरी र धनकुटाले विपक्षी पोस्टमा ३ गोल गर्दै ३ गोल आफ्नो पोस्टमा खाएका छन् ।

बराबर अंकपछि बढी गोलका आधारमा तेह्रथुम दोस्रो चरणमा पुग्नु पर्ने भए पनि त्यो नभइकन खेलका नाममा खेला गरेर तेह्रथुमलाई बाहिर पठाउने काम आयोजकबाट भएको एन्फाका एक पदाधिकारीले बताए । उनका अनुसार प्रदेश लिग कमिटी अलग्गै भए पनि जारी प्रतियोगिता एन्फाकै नियमावली अनुसार जारी छ । तेह्रथुम जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरु आइतबार सम्पन्न दुवै खेलको विषयमा उजुरी दिन एन्फामा पुगेका छन् । एन्फाका उच्च पदाधिकारीसमक्ष धनकुटा र संखुवासभा तथा सुनसरी र भोजपुरबीच सम्पन्न खेलको विषयमा मिलोमतो भएको उजुरी दिने तयारी गरिएको समितिका तेह्रथुम अध्यक्ष केशव भट्राईले बताए । ‘नियोजित ढंगले लिग चरणबाटै तेह्रथुमलाई बाहिर पठाइएको पाइयो,’ उनले भने, ‘कुनै प्रतियोगिता नहारेको , अंक समाचार र गोल पनि बढी भएको अवस्थामा कसरी बहिर पठाइयो भन्ने कुराको पनि छानबिन गर्न माग गर्ने छौं ।’

तपाईको प्रतिक्रिया

Loading…