सदस्य सचिवमा सिलवाल नियुक्त सँगै मोरङ खेलकुद अध्यक्षका लागि दौडधूप सुरू

विराटनगर / राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएसँगै मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षका लागि दौडधूप सुरु भएको छ ।
वर्तमान कार्यसमितिको कार्यकाल पनि आगामी साउन १३ गतेबाट सकिंदैछ । पुरानो समितिको कार्यकाल सकिंदै गर्दा र परिषद्ले नयाँ सदस्य सचिव पाइरहँदा अध्यक्षका आकांक्षीले राजनीतिक शक्ति केन्द्रसँगको लविङ बढाएका छन् । समितिको पदाधिकारी राजनैतिक भागवण्डाका आधारमा टुँगो लगाइने भएकाले पनि यो दौदधूपमा नेकपा सम्वद्धहरु सक्रिय छन् ।
अध्यक्षको दौडमा रोहित कोइराला, सुजय गौतम, लक्ष्मण पोखरेल र सन्तोश बान्तवा रहेका छन् । बान्तवाको नाम अघिल्लो कार्यकालकै लागि चर्चामा थियो । यद्यपी कोइराला अध्यक्षको दौडमा देखिएपछि आफूले उनलाई समर्थन गर्ने बान्तवाले बताए । दौडधूपमा रहेकाहरुले आ–आफ्नै हिसावबाट लविङ थालेका छन् । राजनीतिकसँगै खेलकुद क्षेत्रमा जोडिएकाहरुले अध्यक्षमा आकांक्षा देखाएका हुन् ।

फुटबलका खेलाडी कोइराला फुटबलमा लामो समयदेखि सक्रिय रहेको सीएमजी स्वस्थ्य क्लबका उपाध्यक्ष हुन् । यस क्लबले वर्षेनी पूर्वकै चर्चित भेट्रान फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । कोइराला तत्कालिन एमालेका विराटनगर महानगर कमिटी सदस्य एवं युवा संघ नेपाका केन्द्रीय सदस्य हुन् । खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उदेश्यसहित अध्यक्षको दाबी गरेको बताउँदै कोइरालाले खेलकुदमा देखिएका विकृति र विसंगति निर्मूल पार्नका लागि आफू सक्रिय रहने बताए ।

मोरङको बेलबारीका बासिन्दा गौतम अहिले जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष हुन् । अध्यक्षको दौडमा रहेका उनी समितिमा बसेर काम गरिसकेको अनुभव रहेका कारण पार्टीले आफूलाई समर्थन गर्नु पर्ने बताउँदै आएका छन् । गौतमले पनि पार्टीका नेता सामु लविङ गरिरहेका छन् । २०३७ सालमा बक्सिङबाट खेल जीवन सुरु गरेका उनी जिल्लातहमा रहेका खेलमैदानको व्यवस्थापन र कर्मचारीको हितमा आफू लागि पर्ने बताउँछन् । यसअघि तत्कालिन एमालेको सरकारमा प्रदीप नेपाल खेलकुद मन्त्री हुदाँसमेत गौतम मोरङ खेलकुद विकास समितिको कोषाध्यक्ष थिए । जिल्ला तह तथा अञ्चलतहमा खेलकुद प्रतियोगितामा सहभागिता जनाएर अनुभव बटुलेका गौतम खेलाडीको विगत र वर्तमानसँग पनि आफू नजिक रहेको दाबी गर्छन् ।

अध्यक्षका अर्का दाबेदार पोखरेल अखिलको राजनीतिमा छन् । अहिलेको जिल्ला खेलकुद विकास समितिका सदस्य रहेका पोखरेलले पनि अध्यक्षका लागि पार्टी नेताहरुसँगको सम्पर्क बढाएका छन् । उनले खेलकुद क्षेत्रको विकास र समृद्धिका लागि आफूले अध्यक्षको दाबी गरेको बताए ।

स्रोतका अनुसार पूर्व एमाले र माओवादीसहितका नेकपा नेताहरु अध्यक्षको आकांक्षी मध्ये कोइरालाको पक्षमा छन् । ११ सदस्यीय रहने कार्यसमिति राजनीतिक भागवण्डाको आधारमा हुने गर्दछ । राखेपका सदस्यसचिव सिलवाल र उपाध्यक्ष पिताम्बर तिमल्सिनाको तजविजमा जिल्ला अध्यक्षको नियुक्ती भर पर्ने सम्भावना रहेको स्रोतको दाबी छ । अध्यक्षको दाबी गर्ने मध्ये कोइराला प्रधानमन्त्री केपी शर्मा ओली तथा गौतम र पोखरेल बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर हुन् । पूर्व माओवादीबाट पक्षबाट भने अहिलेसम्म कसैले पनि अध्यक्षमा दाबी गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

Loading…