इटहरी उपमहानगरपालिकाले पत्रकार महासंघलाई जग्गा दिने

इटहरी । इटहरी उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ सुनसरीलाई जग्गा दिने भएको छ । उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले झण्डै २७ धुर जग्गा पत्रकार महासंघ सुनसरीको भवन निर्माणका लागि दिलाउने प्रतिबद्धता जनाएका हुन् । नयाँ बन्न लागेको बजेटको लागि सुझाव संकलन कार्यक्रममा मेयर चौधरीले इटहरी ५ मा रहेको जग्गा उपलब्ध गराउने भएका हुन् । उनले तत्कालै घेराबाराका लागि रकम दिने र आउँदो आर्थिक वर्षमा भवन निर्माणको लागि बजेट छुट्याउने प्रतिबद्धता जनाएका छन् ।

सुझाव संकलन कार्यक्रममा पत्रकारहरुले पत्रकार तथा मिडिया हाउसको विकासका लागि सुझावहरु दिएका थिए । उनीहरुले विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्नुपर्ने, पत्रकारको क्षमता विकासका लागि बजेट छुट्याउनुपर्ने, मिडिया नीति बनाउनुपर्नेलगायतका सुझाव दिएका थिए । सुझावपछि उपमेयर लक्ष्मी गौतमले पत्रकारिता क्षेत्रको विकासका लागि उपमहानगरले कुनै कसर बाँकी नछाड्ने बताइन् । पत्रकार महासंघ सुनसरीको धरानमा आफ्नै दुई तले भवन छ । इनरुवामा समेत सम्पर्क कार्यालय स्थापना गरिसकेपनि इटहरीमा जग्गा अभावमा भवन बनाउन सकेको थिएन ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…