काँग्रेस जागरण अभियान :- एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम

नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महीनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

जागरणको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भएर यही जेठ २५ गते सम्पन्न भएको थियो । प्रथम चरण र आगामी कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी लगायतको सहभागिता रहेको बताउनुभयो ।

अभियानलाई व्यवस्थित बनाउन पार्टीले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । प्रथम चरणको जागरण अभियानलाई पछिल्लो समय कुनै पनि राजनीतिक दलद्वारा जनस्तरमा प्याकेजमा अघि सारिएको बृहत् र नवीन एक मात्र कार्यक्रमका रुपमा काँग्रेसले व्याख्या गरेको छ ।

अभियानका क्रममा स्थानीय तहसम्म बृहत्स्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव सङ्कलन हुनाका साथै गणतन्त्र, सङ्घीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा बौद्धिक छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…