जोगवनी नाका बिहानैबाट ठप्प

विराटनगर / विराटनगरबाट भारत प्रवेश गर्ने जोगवनी नाकामा बिहीबार बिहानैबाट आयात निर्यात ठप्प पारिएको छ । भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसवीबीचको विवाद उग्र बन्दै गएपछि त्यसको असर भन्सार नाकामा परेको हो । भारत तथा तेस्रो मुलुकबाट सामान लिएर नेपाल छिरेका मालबहाक सवारी साधन सामान झारिसकेपछि फर्कने क्रममा जोगवनी नाकाको प्रयोग गर्न एसएसवीले रोक लगाएको हो । जोगवनी भन्सारका एजेन्टहरु भने त्यही नाकाको प्रयोग गर्न पाउनु पर्छ भन्ने पक्षमा रहेका छन् ।

एसएसवीले फर्कने क्रममा खाली मालबहाक सवारी साधनलाई जोगवनी नाकाको प्रयोगमा रोक लगाएपछि नाकाबाट हुँदै आएको आयात निर्यात प्रभावित बनिरहेको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले बताए । नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ जाने आउने दुई सय बढी मालबहाक सवारी साधन बीचैमा अलपत्र परेका छन् । विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित बनेको छ । बुधबार साँझ पनि खाली मालबहाक सवारी साधन भारत फर्कन नदिने विषयमा विवाद हुँदा नाका प्रभावित बनेको थियो ।

आयात र निर्यातकै लागि जोगवनी नाका प्रयोग गर्दा धेरै ठूलो जाम भएको भन्दै एसएसवीले माथिकै आदेशबाट कडाई गर्नु परेको दाबी गरेको नेपाल प्रहरीले जनाएको छ । जोगवनीमा अत्यधिक जाम भएपछि नेपालबाट भारत फर्कने सवारी साधनलाई भने रोक लगाएको बताइएको छ । ‘माथिबाट आदेश आएका कारण हामी खाली गाडी छिर्न दिंदैनौं भन्दै एसएसवीले खाली गाडी लैजान दिएका छैनन् । त्यसको असर आयात निर्यातमा परिरहेको छ,’ एक नेपाल प्रहरीले भने, ‘त्यसको विरोधमा भारतीय भन्सार एजेन्टले जाँचपासमा नगरिँदा भारत तथा तेस्रो मुलुकबाट सामान बोकेर आएका मालबहाक सवारी साधन पनि जोगवनी बजारमै राकिएका छन् । नाका ठप्प हुँदा मालबहाक सवारी साधन आउने जाने भएका छैनन् ।’

भारतीय सुरक्षा अधिकारीसँग समन्वय गर्दै समस्या समाधानका लागि पहल गर्न इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाको नेत्रृत्वमा नेपाली टोली परिचालन गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालबाट खाली गाडीलाई विराटनगर– १८ को बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै फर्काउने विषयमा भारतीय पक्षसँग छलफल भइरहेको बताए । ‘आईसीपीको बाटो हुँदै बेलुकी ७ देखि विहान ७ बजेसम्म खाली गाडी फर्काउन दिने सवालमा भारतीय पक्ष सकारात्मक देखिएको छ,’ उनले भने, ‘यस अघि उनीहरु साँझ एक घण्टाका लागि मात्रै यो बाटो प्रयोग गर्न दिने पक्षमा थिए । एक घण्टाको समय पर्याप्त नहुने भएपछि समझदारीमा १२ घण्टा समय उपलब्ध गराउन सहमत भएका छन् ।’ विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पौडेलले पनि मालबहाक सवारी साधन आवतजावत गर्ने वातावरण तयार पार्न भारतीय पक्षसँग समन्वय गर्ने काम भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

Loading…