हुवावेई–गुगल टकराव : हुवावेईको स्मार्टफोन व्यापारमा कस्तो असर ?

काठमाडौं / अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले गत सोमवार हुवावेईलाई हार्डवेयर र केही सफ्टवेयर सेवाको आपूर्ति बन्द गर्ने निर्णय गरेको छ । साथै उसले हुवावेईको उपकरणमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेटमा पनि रोक लगाएको छ । अमेरिका–चीन व्यापारयुद्ध जारी रहेको अवस्थामा अमेरिकी प्रविधि कम्पनीले हुवावेईलाई लगाएको प्रतिबन्धसँगै विश्व बजार तरंगित बन्न पुगेको छ । यद्यपि अमेरिकाले यो प्रतिबन्धमा ९० दिनका लागि (अगस्ट १९ सम्म) स्थगित गर्ने निर्णय गरेको छ ।

यससँगै हुवावेईमाथि गुगलको प्रतिबन्ध अगस्ट २० देखि मात्र लागू हुनेछ । त्यसपछि हुवावेईका फोनमा एप र गूगल प्ले सर्भिसको अपडेट गर्न त मिल्नेछ, तर कम्पनीले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ डिजाइनका स्मार्टफोनमा भने नयाँ संस्करणको एन्ड्रोइड उपलब्ध हुनेछैन । भविष्यमा आउन सक्ने उपकरणहरूमा युट्युब र गुगल म्याप्स लगायत एप पनि हुनेछैनन् । अन्य अमेरिकी कम्पनीहरू इन्टेल कर्पोरेशन, क्वालकम इंक, सिलिङ्स इंक र ब्रोडकम इंक लगायत अमेरिकी प्रविधि कम्पनीले नयाँ सूचना जारी नहुँदासम्मका लागि हुवावेईलाई चीप आपूर्ति बन्द गर्न आ–आफ्ना कर्मचारीलाई आदेश दिएका छन् ।

व्यापारयुद्धको असर

गुगलले सोमवार हुवावेईमाथिको प्रतिबन्धको निर्णय गर्दै आफूले अमेरिकी सरकारको निर्देशनअनुसार यस्तो निर्णय गरेको बताएको छ । यसअघि गत बिहीवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेईसँग व्यापारमा रोक लगाउन अमेरिकी प्रविधि कम्पनीलाई निर्देशन दिएका थिए ।

अमेरिकामा हुवावेईमाथि २ दर्जनभन्दा बढी आपराधिक मुद्दा पनि छन् । अमेरिकाले हुवावेईले चीनका लागि जासुसी गर्ने गरेको आरोप लगाउँदै आएको छ । तर कम्पनीले भने यो आरोपको खण्डन गर्दै आएको छ । अन्तिम समयमा हुवावेई सरकारलाई कुनै पनि विवरण नदिने विषयमा हस्ताक्षर गर्न पनि सहमत भएको थियो । हुवावेईको यो निर्णयको बीचमा ट्रम्पले प्राविधिक आपत्कालको घोषणा गर्दै हुवावेईलगायत चिनियाँ कम्पनीसँग व्यापार नगर्न सुझाएका थिए ।

अमेरिकासँग चिसिँदो सम्बन्ध

पछिल्लो केही समययता अमेरिकासँग हुवावेईको सम्बन्ध चिसिँदै गएको देख्न सकिन्छ । गत डिसेम्बरमा अमेरिकाको आग्रहमा हुवावेईकी प्रमुख वित्तीय अधिकारी मङ वान्चाउ क्यानडामा पक्राउ परेकी थिइन् । हुवावेईले अमेरिकाको इरान प्रतिबन्धको पालना नगरेको आरोप अमेरिकाले लगाएको छ । हुवावेईले भने यसको खण्डन गरेको छ । कम्पनीले विशुद्ध व्यापारबाहेक कुनै पनि काम नगरेको बताउने गरेको छ ।

अमेरिकाले क्यानडामा पक्राउ परेकी वान्चाउको सुपुर्दगीको माग गरिरहेको छ । चीनले भने उनको रिहाइको माग गर्दै आएको छ । उनको पक्राउपछि चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरेको छ । अमेरिका र क्यानडाले पनि उनीहरूको पक्राउ उचित नरहेको बताउँदै आएका छन् । अमेरिकाले व्यापारयुद्धमा सहमति भए वान्चाउलाई रिहाका लागि पहल गर्ने बताएको थियो । तर अन्तिम चरणमा रहेको भनिएको वार्तामा पनि सहमति हुन नसकेपछि दुई मुलुकको व्यापारवार्ता टुटेको छ । यससँगै चिनियाँ प्रविधि कम्पनीलाई आगामी दिनमा थप समस्या उत्पन्न हुन सक्ने देखिन्छ ।

फाइभजीको लडाइँ

हुवावेईमाथि अमेरिकाले प्रतिबन्ध लगाउनुको अर्को महत्त्वपूर्ण कारण फाइभजीको लडाइँ पनि हो । पाँचौं पुस्ताको इन्टरनेटका लागि अहिले अमेरिका र चीन अघि बढिरहेका छन् । यस्तोमा चिनियाँ कम्पनीभन्दा पहिला फाइभजी सेवा ल्याउन अमेरिका अघि बढिरहेको छ । अमेरिकाले हुवावेईको फाइभजी उपकरणमा सुरक्षाको जोखिम रहेको भन्दै आफ्ना सहयोगी मुलुकलाई पनि प्रतिबन्ध लगाउन आग्रह गर्दै आएको छ । हुवावेईले फाइभजी उपकरणका साथै फाइभजी स्मार्टफोन पनि सार्वजनिक गरिसकेको छ । हुवावेईको फाइभजी प्रविधिमा अंकुशका लागि पनि अमेरिकाले हुवावेईमाथिको प्रतिबन्धको घोषणा गरेको हो ।

हुवावेईलाई पर्ने असर

यस वर्षको पहिलो त्रैमासमा हुवावेईको स्मार्टफोनको आपूर्ति अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशत बढेको छ, जब कि अमेरिकी प्रविधि कम्पनी एप्पलको आपूर्ति ३० प्रतिशत घटेको छ भने दक्षिण कोरियन कम्पनी सामसुङको आपूर्ति ८ प्रतिशत घटेको छ । विश्वको समग्र स्मार्टफोनको बजारमा हुवावेईले १९ प्रतिशत हिस्सा आगटेको छ । यस वर्षको पहिलो ३ महीनामा मात्र उसले ५ करोड ९१ लाख स्मार्टफोन विक्री गरेको थियो ।

सन् २०१८ मा हुवावेईको समग्र वार्षिक आम्दानी १ खर्ब डलर नाघेको थियो । यो अवधिमा कम्पनीको आम्दानी १९ दशमलव ५ प्रतिशत बढेको हो । यस्तोमा अहिले गुगलले लगाएको प्रतिबन्धसँगै हुवावेई समस्यामा पर्न सक्ने देखिन्छ । विशेषगरी कम्पनीको चीनबाहिरको स्मार्टफोन व्यापारमा उल्लेख्य कमी आउनेछ । चीनमा गुगलका धेरै सेवामा रोक लगाइएको अवस्थामा हुवावेईमाथिको प्रतिबन्धले धेरै ठूलो असर नगर्न पनि सक्छ । तर चीनभन्दा बाहिर भने गुगलका सेवाको लोकप्रियता बढ्दो क्रममा छ । यस्तोमा प्रयोगकर्ता अन्य कम्पनीको स्मार्टफोनमा आकर्षित बन्न सक्छन् ।

अबको बाटो

व्यापारयुद्धमा चीन अमेरिकासँग टसमस नहुने दिशामा अघि बढेको छ । यो अवस्था जारी रहेको खण्डमा हुवावेईमाथि गुगलले लगाएको प्रतिबन्ध कम हुने सम्भावना छैन । त्यसका लागि चीन र अमेरिकाको बीचमा वार्ता हुन सक्छ । अमेरिकाले वार्ताका लागि घुँटा टेकाउनैका लागि चिनियाँ कम्पनीमाथि प्रतिबन्धको योजना अघि सारेको हो । तर चीनले भने अमेरिकासामु आत्मसमर्पण नगर्ने बताइएको छ । दुई मुलुकको बीचमा व्यापार वार्ता हुन नसकेको खण्डमा हुवावेईले गुगलको विकल्प खोज्नुपर्ने हुन्छ, जुन हुवावेईका लागि निकै कठिन मार्ग हो । हुवावेईका सबै स्मार्टफोन गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा काम गर्छन् । यस्तोमा अहिलेको प्रतिबन्धबाट पार पाउन हुवावेईले आफ्नै अपरेटिङ सिस्टम बनाउनुपर्ने हुन्छ ।

२ महीनाअघि साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारअनुसार हुवावेईले आफ्नै अपरेटिङ सिस्टम बनाएको छ । हुवावेई विगत ७ वर्षदेखि आफ्नै अपरेटिङ सिस्टमका लागि काम गर्दै आएको उक्त समाचारमा उल्लेख थियो । यसलाई पुष्टि गर्दै केही दिनअघि कम्पनीका कन्जुमर बिजनेश शाखाका सीईओ रिचार्ड यूले यस वर्षभित्रै हुवावेईको अपरेटिङ सिस्टम आउन सक्ने बताएका थिए । गुगल र माइक्रोसफ्टले पूर्णरूपमा प्रतिबन्ध लगाएको खण्डमा मात्र उक्त अपरेटिङ सिस्टम ल्याइने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

Loading…