प्रथम स्वर्णपदक विजेता अजित मुख्यमन्त्री राउतद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम / हङ्कङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्णपदक विजेता अजितकुमार यादवलाई मुख्यमन्त्री लालबाबु राउतले सम्मान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पाँच लाख एगारह हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गर्नु भएको हो ।

१७ वर्षीय अजित राजविराज नगरपालिका वडा नम्वर १२ सिंग्यौन निवासी हुन् ।अजितले सिङ्गो मुलुककै शिर उचो पारेको भन्दै प्रोत्साहन स्वरुप मुख्यमन्त्री लालबाबु राउतले पुरस्कृत गर्नु भएको छ । सम्मान थाप्दै अजितले मुख्यमन्त्री लालबाबु राउतलाई धन्यवाद दिदै मधेशी र पहाडीबीच विभेद नगर्न नगराउन सवैमा आग्रह समेत गरे ।

‘नेपालको जुनसुकै कुनामा बस्ने नेपाली नेपाली नै हो, पहाडी र मधेशी भनेर विभेद नगर्नुस्, यस्तो सुन्दा चित्त दुख्छ’ उनले भने ‘हामी सबै देशलाई माया गर्नुपर्छ ।’ गत चैत्र ४ गते हङ्कङको घरेलु मैदानमा भएको प्रतियोगितामा तीन हजार मिटरको दौडमा अजितले निर्धा्रित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेर स्वर्णपदक विजेता बनेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…