नेपाल आफैंले पहिलोपटक नाप्यो सगरमाथाको उचाई

काठमाडौं । लामो समय देखि चर्चाको रुपमा रहेको विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई नापिएको छ । नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको हो । आज बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको बताएको छ ।

नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिनुभयो ।

नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र टोली आजै फर्कने भएको छ । सगरमाथाको उचाइ कति भन्ने ५ महिनापछि मात्रै थाहा हुने ति अधिकारीले जानकारी दिए ।

सगरमाथाको उचाइ नाप्न नापी टोली गत चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो । यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो ।

उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो । उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो ।

अहिले विश्वभर भारतीय मापन नै आधिकारीक मानिएको छ । दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले आफैँ उचाइ नापोको हो । गएको महा–भुकम्पका बेला सगरमाथाको उचाई कम भएको भारतले पटकपटक दावा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…