विधेयक विरुद्ध देशभरका पत्रकार आन्दोलित

मोरङ । संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रावधान प्रति देशभरका पत्रकारहरु बिरोधमा उत्रिएका छन । मन्त्री परिषद्बाट पारित भई वैशाख २६ गते संसदमा विधेयक दर्ता भएको थियो । बिधेयकको विरोध जनाउँदै देशभरका पत्रकारहरु आन्दोलित भईरहेका बेला मोरङका पत्रकार समेत आन्दोलित बनेका छन् । प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा मोरङका पत्रकारले पनि साथ दिएका हुन् ।

विधेयकको प्रावधान प्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार हातमा कालो पट्टी बाँधेर पत्रकारहरु कार्यक्षेत्रमा खटिएका छन् । पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर सरकारको कदमको विरोध गरेका हुन् । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले प्रेस स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दोलन गर्नु परेको जानकारी दिए । उनले संचार सामग्री सहित प्रदर्शन गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरिएको बताए । प्रेस युनियनका उपाध्यक्ष लीलाबल्लभ घिमिरेले सरकारले पत्रकारको घाँटी निमोठ्ने गरी ल्याउन लागेको कानुन मान्य नहुने बताए । पत्रकारहरुले निर्भयका साथ काम गर्न पाउनु पर्ने माग उनले गरे । नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले कानुन बनाउने नाममा सरकारले पत्रकारको घाँटीमा खतरनाक तरवार झुन्ड्याउन लागेको बताए ।

‘समाचार लेखेकै विषयमा पत्रकारले लाखौं रुपैयाँ जरिवाना तिर्नु पर्ने कानुन बनाउन खोजिनु दुखद् हो,’ गौतमले भने, ‘समाचार लेखेकै कारण पत्रकारले जेल जानु पर्ने अवस्थाको सिर्जना गरिएको छ ।’ उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका केही प्रावधानले संविधानले प्रदत्त गरेका सूचनाको हकलाई समेत संकुचन गर्ने बताए । गौतमले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने सरकारका हरेक कदमको खुलेर विरोध गर्न सबैलाई आग्रह गरे ।
यता पुर्वोत्तर मोरङका पत्रकारहरुले पथरीमा भेला भएर हातमा कालो पटटी बाँधेर बिधेयक खारेजीको माग गरेका छन । नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद अर्जुन जम्नेली राई,प्रेस युनियन मोरङका उपाध्यक्ष हरि कोईराला,प्रेस चौतारीका केदार चौहान लगायतले बिधेयक गलत भएको बताए । यसैबिच पत्रकारहरुले कानुनमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ का सांसद भानुभत्त ढकाललाई बिधेयक खारेज गर्न माग गर्दै सामुहिक एसएमएस समेत गरेका छन ।
मिडिया बिरोधी विधेयक खारिज गर्न माग गर्दै नेपाल प्रेस युनियन सुनसरी शाखाले इटहरीमा प्रदर्शन गरेको छ । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस लाई अंकुश लगाउन खोजिएको भन्दै बुधबार युनियनको नेतृत्वमा इटहरीमा प्रदर्शन गरिएको हो । प्रेस स्वतन्त्रता लाई वर्तमान सरकारले अंकुश लगाउने उद्देश्यले प्रेस काउन्सिल सम्बन्धि विधेयक संसदमा पेस गरेको भन्दै प्रेस युनियनको नेतृत्वमा दुई दर्जन बढी पत्रकारहरुले सडकमा मुखमा कालोपट्टी बाधेर एक खुट्टा उचालेर विरोध प्रदर्शन गरेका हुन ।

सरकारले पत्रकारलाई अपाङग बनाउँन खोजेको बन्दै साङ्केतिक विरोध स्वरुप मुखमा पट्टी र एक खुट्टा उचालेको प्रेस युनियन सुनसरीका सभापति धनबहादुर पुरीले बताए । प्रेस स्वतन्त्रता हनन गर्ने गरी, संबिधानले दिएको अधिकार खोस्ने गरी बनाउने कुनैपनि स्वीकार नहुने सभापति पुरीले बताए । युनियनको बिरोध कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…