विरामीसँग सनक्कै सन्किन्छे नेपालकी फ्लोरेन्स नाइटिंगेल

सन् १८५३ देखि ५६ सम्म युरोपमा चलेको क्रिमिया युद्धका घाइते सैनिकहरुको उपचारमा एक युवती अहोरात्र खटिन् । अँध्यारो युद्धमैदानमा टुकी बालेरै भएपनि उपचारमा लागिरहिन् । पछि उनलाई ‘लेडी विथ द ल्याम्प’ उपनाम दिइयो । औषधि उपचारका साथै विरामीप्रति उनको समर्पण, मायालु व्यवहार र सहानुभूतिका कारण धेरै घाइते सैनिकहरु मानसिक र शारिरिक रुपमा तङ्ग्रिए । तिनै युवती फ्लोरेन्स नाइटिंगेल थिइन् जसले सन् १९६० मा लन्डनको सेन्ट थोमस हस्पिटलमा विश्वमै पहिलो नर्सिङ स्कुल स्थापना गरिन् । नर्सिङलाई पेशा र सेवाको रुपमा स्थापित गरिन् । नर्सिङ पेशाको संस्थापकका रुपमा सम्मान गर्दै उनको जन्म दिन मे १२ लाई अन्तरराष्ट्रिय नर्स दिवसका रुपमा प्रत्येक वर्ष मनाउने गरिएको छ ।

पेशाका रुपमा स्थापना भएको ९६ वर्ष पछि अर्थात सन् १९५६ मा मात्र नेपालमा नर्सिङ शुरु भएको हो । त्यो बेला सम्भ्रान्त राणाहरुको पहलमा केही महिलाहरुले भारतको अलाहावादबाट नर्सिङको औपचारिक तालिम लिएका थिए । नेपालमा अहिले ७० हजार भन्दा बढी नर्स कार्यरत छन् । नेपालमा हरेकवर्ष सरदर ५ हजार जना नर्स उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । बदलिँदो परिवेशमा पनि नर्सिङ पेशाप्रति खासगरी युवतीहरुको आकर्षण बढ्दै गएको छ । आकर्षक सेवा सुविधा, समाजले दिने सम्मान, शिक्षित र उच्च स्तरिय जीवन शैली आदीका कारण युवतीहरुले नर्सिङलाई करिअर मान्दै आएकाछन् ।

नर्सिङ आफैमा जिम्मेवार र संवेदनशील पेशा हो किनभने नर्सको ज्ञान, सीप र मिहनेतले विरामीलाई जीवन दिनसक्छ । मृत्युलाई पराजित गर्न सक्छ । प्रायः डाक्टरलाई भगवानको संज्ञा दिइन्छ तर डाक्टरलाई भगवान बनाउने भूमिका पनि नर्सकै हुन्छ । उनीहरुको सहयोग विना कुनै डाक्टरले पनि सही उपचार गर्न सक्दैन । विरामीसँग धेरै समय विताउने र अन्तरक्रिया गर्ने जिम्मेवारी नर्सको हुन्छ । डाक्टरको मधुरता सहितको ढाडसले विरामीको आधा रोग निको हुन्छ भनिन्छ तर व्यवहारिक स्तरमा भने नर्स नै स्नेहका साथ विरामीको मनोवैज्ञानिक उपचारमा खटिरहेको हुन्छ । यसकारण पनि नर्स र नर्सिङ पेशा हाम्रो समाजबाट छुटाउन नसकिने पक्ष हुन् ।

श्रीशीशा राई

तर दुःखको कुरा, नेपालमा यस्तो भईरहेको छैन । खासगरी सरकारी वा अर्धसरकारी अस्पतालका नर्सहरुको व्यवहारले नर्सिङ पेशाको भूमिका, आदर्श र विश्वासलाई बचाउन सकेको छैन । प्राय नर्सहरुको व्यवहार विरामी र उसका आफन्तसँग रुखो हुने गरेको छ । विरामीसँग अन्तरक्रिया गर्न र निकट हुन नचाहने, च्याँठिने, झर्किने, वास्ता नगर्ने, केही कुरा सोध्दा वा बोलाउँदा सनक्कै सन्किने आदी जस्ता व्यवहार देखिन्छ । यो नर्सिङ पेशाको मर्म र नाइटिंगेलको आदर्श भन्दा ठिक विपरित छ । यसले गर्दा डाक्टर र नर्ससँग धेरै बोल्नुहुँदैन, डराउनुपर्छ भन्ने आम मानिसको मनोविज्ञान बन्दै गएको छ । नर्स र विरामी विच दुरी बढ्दै गएको छ । यो डाक्टर, नर्स र पेशाकै असफलता हो । नर्सको रुखो बोलि व्यवहारकै कारण अस्पतालका आकस्मिक कक्षमा झगडा हुने गरेका कैयौँ उदाहरण छन् । यसले नर्सिङ पेशाकै भविष्य चूनौतिपुर्ण बन्दैछ ।

विरामीको असिमित चाप, दबाब, साधन श्रोतको सिमितता आदीका बावजुद पनि विरामीसँग सरल व्यवहार, मिठो बोलि, हँसिलो मुहार कुनैपनि नर्सको पहिलो धर्म हो । नाइटिंगेलको सुत्र र आदर्श पनि यही हो । नर्सको मायालु व्यवहारले विरामीमा रोग प्रतिरोधात्मक मानसिक क्षमता बढाउन सहयोग गर्छ । यदि कुनैपनि व्यक्ति यति कुरा बुझ्दैन वा यस्तो विशेषता छैन भने उसले नर्सिङ पेशा नै अँगाल्नुपर्छ वा नर्स नै बन्नुपर्छ भन्ने जरुरी छैन ।

तपाईको प्रतिक्रिया

Loading…