सगरमाथा आधार शिविर क्षेत्रमा सरसफाइ तीव्र

काठमाडौँ / नेपाली सेनाको समन्वयमा विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गर्ने कार्यलाई तीव्र तुल्याइएको छ । शिखर चढ्ने क्रममा आरोहीले प्रयोग गरेका विभिन्न खाले सामग्रीले आधार शिविर र त्यसमाथिका क्षेत्रमा फोहर थुप्रिन जाँदा हिमाली क्षेत्रको सौन्दर्य बिग्रन सक्ने सम्भावना देखिएपछि फोहर सङ्कलनलाई तीव्र तुल्याइएको हो ।

हिमालमा बढिरहेको फोहर हटाउन अहिले सफा हिमाल अभियान नै सञ्चालन गरिएको छ । उक्त अभियानले सबैभन्दा पहिले सगरमाथाबाट कामको शुरुआत गरेको हो । हालसम्म सगरमाथा क्षेत्रबाट काठमाडाँै दुई हजार किलो ल्याइसकिएको छ भने दुई हजार किलो ओखलढुङगामा ल्याई पु¥याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

वन तथा वातावरण, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश सरकार, नेपाल पर्वतारोहण सङ्घ र खुम्बु पासाङ ल्हामु गाउँपालिका र नेपाली सेनाको समन्वयमा उक्त सफाइ कार्य गरिँदै आएको छ । ती निकायबीचको सहकार्यमा सफा हिमाल अभियानले हिमालय क्षेत्रमा पर्यावरण संरक्षणसम्बन्धी जनचेतना जागृत तुल्याउन काठमाडौँ र सोलुखुम्बुको नाम्चेमा विशेष कार्यक्रम गर्ने भएको छ । विश्व वातावरण दिवस पारेर उक्त कार्यक्रम गरिने बताइएको छ ।

उक्त अभियानलाई सफल तुल्याउन समाजका विभिन्न क्षेत्रमा रहेका विशिष्ट व्यक्ति रहेका बेग्लाबेग्लै समिति गठन गरी काम अघि बढाइएको छ । फोहर सङ्कलनका लागि त्यस क्षेत्रका शेर्पा र आरोहीको पनि सहयोग लिइएको बताइएको छ । अहिले सगरमाथाको चौथो आधार शिविरसम्म पुगेर फोहर सङ्कलनको काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

सङ्कलित फोहरमध्ये सड्ने र नसड्ने फोहर यकिन गरी सिलेण्डरसहितका नसड्ने फोहर काठमाडौँ ल्याइने बताइएको छ । सङ्कलित फोहर कालापत्थर, स्याङबोचे, ओखलढुङगा हुँदै यहाँ ल्याइनेछ । आगामी जेठ २० गतेसम्ममा अभियानले सगरमाथा क्षेत्रमा पहिलो चरणको सफाइको काम पूरा गर्नेछ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनको नेतृत्व लिएसँगै भएको कमाण्ड मार्ग निर्देशनमा पर्यावरण संरक्षणमा नेपाली सेनाले विशेषरुपले काम गर्ने तथा सफा हिमाल अभियान सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…