सगरमाथाको उचाई नाप्न प्राविधिक टोली आधार शिविरमा

सोलुखुम्बु / नेपालको पहिलो सगरमाथा उचाइ मापन टोलीका प्रावधिकको टोली आधारशिविर पुगेका छन् । उचाई नाप्ने टोलीको नेतृत्व यसअघि सगरमाथाको सफल आरोहण गरिसकेका नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमले गर्दैहुनुहुन्छ । उनी नेतृत्वको टोली अहिले प्राविधिक सहयोगी र शेर्पा आरोहीहरूसँगै सगरमाथा आधार शिविरमा पुगेका छन् । उनी सन् २०११ को नेपाली कर्मचारी सगरमाथा आरोहण दलमा पनि सामेल थिए ।

सगरमाथाको उचाइ मापन गर्ने ऐतिहासिक आरोहण अभियान अघि उनी यतिखेर सगरमाथा आधार शिविरमा अन्तिम तयारीमा व्यस्त रहेका छन् । उनको टोलीको नेतृत्व नेपाल पर्वतारोहण प्रतिष्ठानका पथप्रदर्शक छिरिङ जाङ्ग्मु शेर्पाले गर्दैछन् ।
नेपालको इतिहासमा सगरमाथाको उचाइ नाप्न लागिएको यो पहिलो पटक हो। यसपटक नेपाल सरकारले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी सगरमाथाको उचाइ नाप्दैछ । उक्त सरकारी टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । केही आरोहण सहयोगी पनि टोलीमा सहभागी छन् ।

चार सरकारी कर्मचारीमध्ये गौतम र कार्की सगरमाथाको चुचुरोमै पुग्ने योजनामा छन् । चुचुरोमा जाने टोलीका सदस्यले ‘ग्लोबल न्याभिगेशन स्याटलाइट सिस्टम’ (जीएनएसएस) नाम उपकरण लानेछन् । उक्त उपकरणले सगरमाथाको चुचुरोमा भू–उपग्रहबाट पठाएका डेटा, तापक्रम, गुरुत्वाकर्षण, मौसमी तथ्याङ्क र आद्रतासम्बन्धी तथ्याङ्क सङकलन गर्नेछ । तयारीका क्रममा नापी विभागका प्रमुख नापी अधिकृत गौतम संयोजकत्वको चारसदस्यीय उचाइ मापन टोलीले ६,१८९ मिटर उचाइ अग्लो आइलन्ड पीक आरोहण गरिसकेको छ ।

नापी विभागले भारतको बङ्गाल हुदै नेपाली भूभाग सिराह जिल्लाको माडारलाई केन्द्रविन्दु मानेर सम्पर्क स्थापित गरेको छ । जीएन एस एस उपकरणको सहयोगमा सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, भोजपुरलगायतका स्थानहरूमा विन्दुहरू कायम गरिएका छन् । एकीकृत तथ्याङ्क सङ्कलनका लागि ती विन्दु कायम गरिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…