पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई

ताप्लेजुङ / ताप्लेजुङमा आज सम्पन्न तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लवले जितेको छ । साविक विजेता पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजार स्थित नारायणी माविको खेल मैदानमा पुलिसले आर्मी माथी २५–१७,२५–१३,२५–१९ को जित निकाल्यो । खेलको सुरु देखि नै खेलमा पुलिस हाबी भएको थियो । उत्कृष्ठ ब्लकिङ गरेकै कारण आर्मीलाई हराउन सहज बनेको पुलिस क्लबका प्रशिक्षक सरोज श्रेष्ठले बताउनुभयो । पुलिस ईम रानाको कप्तानीमा मैदानमा उत्रिएको थियो । उपाधि सँगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उप विजेता आर्मीले १ लाख ७६ हजार २ सय ५१ मा चित्त बुझाउन बाध्य बन्यो ।

यसै गरि सेमीफाइनलमा पुग्न सफल एपिएफ र गण्डकी प्रदेशले ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे । विधागततर्फ पनि पुलिकै खेलाडीको वर्चश्व रह्यो । वेष्ट प्लेयर पुलिसका कुलबहादुर थापाले नगद १५ हजार प्राप्त गर्नुभयो । वेस्ट सर्भर पुलिसका विशाल विक, वेस्ट सटर पुलिसका इमबहादुर रानामगर, बेस्ट ब्लकर पुलिसकै दिपकराज जोशी, वेस्ट स्पाइकर आर्मीका धनबहादुर भट्ट, वेस्ट डिफेन्डर पुलिसका भिम गाहामगर, उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ घोषित भए । सबैले नगद ७ हजार प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेतालाई प्रदेश सभा सदस्यहरु बलबहादुर साम्सोहाङ, टंक आङ्बुहाङ, होमकुमारी सावाँ लिम्बुले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । पर्यटन प्रवद्र्धनका लागि भलिबल भन्ने नारासहित बैसाख २२ गतेदेखि सुरु प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४ र विश्वविद्यालय क्वाटरफाइनलमै पराजित भएका थिए । प्रतियोगिताको उद्घाटन प्रतिनीधिसभा सदस्य योगेश भट्टराईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…