वैदेशिक रोजगारीको विकल्प के हुन सक्छ ?

काठमाडौं / नेपालमा ‘समृद्ध नेपाल खुशी नेपाली’को बाँसुरी बज्न थालेको धेरै समय बितिसक्यो । मुलुकको अर्थतन्त्र र शासकीय क्षमताले यो मूलमन्त्र सार्थक भए पनि नभए पनि हामी नेपाली स्वतस्र्फूत समृद्धिको यात्रामा लम्किसकेका छौँ । आर्थिक समृद्धिको अग्रगामी दिशामा अघि बढ्दै गर्दा र सरकारले नयाँ वर्ष २०७६ सँगै नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै गर्दा नेपाली युवा जनशक्ति भने हातमा पासपोर्ट बोकेर वैदेशिक रोजगारीका लागि लामबद्ध भएका छन् । स्थिर सरकार गठन भएको डेढ वर्ष भइसक्दा पनि नेपाली जनताले स्वदेशमै केही गरुँ भन्ने विकल्प सोच्न सकेका छैनन् ।

सरकारले हरेक दिन आर्थिक समृद्धिको रटान लगाइरहँदा नेपालका गाउँ खालि हुने क्रम बढिरहेको छ । दुःखका साथ भन्नुपर्छ– कतिपय गाउँ महिलाका भरमा चलेको छ । गाउँमा विपत्ति हुँदा र मान्छे मर्दा पुरूष मलामी पनि नपाइने अवस्था सिर्जना भइसकेको छ । सरकारलाई मात्रै होइन हरेक नेपालीलाई थाहा छ कि विदेशमा श्रम बेचे कामदार मात्रै भइन्छ तर स्वदेशमै पसिना बगाए आफैँ मालिक बन्न सकिन्छ । तर, दुर्भाग्य नेपालमा बसेर केही हुँदैन भन्ने गलत मान्यता अझै पनि हाबी भएको छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार वार्षिक ६ लाख नेपाली युवाशक्ति विदेश पलायन हुने गरेका छन् । युवा विदेशिने क्रममा कमी होइन दिनहुँ बढोत्तरी भइरहेको छ । स्वदेशमा यसको विकल्प नखोज्ने हो भने दशकौँसम्म नेपालीले विदेशमै श्रम बेच्दै दासत्वको जीवन बिताउनुपर्नेमा कुनै द्विविधा छैन ।

आफ्नो सीप र क्षमताअनुसार स्वदेशमा रोजगार पाउन नसकेको तीतो यथार्थ भए पनि विदेश पलायन हुनु नै अन्तिम विकल्प होइन । वैदेशिक रोजगारीप्रति नेपाली युवाको आकर्षण बढ्दो छ । एसईई उत्तीर्ण गरेका युवा प्लस टु पनि नपढ्दै विदेशको सपना देख्न थाल्ने मानसिकता छ । उच्च शिक्षा सकेर प्रमाणपत्र हातमा लिएर बसेका युवाहरूको सपना पनि विदेशमै रहेको पाइन्छ । देखासिकी होस् वा बाध्यता, अभिभावकहरु नै युवापुस्तालाई विदेश जान प्रोत्साहित गरिरहेका छन् ।

वैदेशिक रोजगारीको सपनाले मनमा जरो गाडेपछि युवापुस्ता गाउँशहरमा अडिनै नसक्नेजस्ता भएका छन् । दृष्टान्तका लागि जापनिज र कोरियन भाषा पढ्नेहरुको लर्कोलाई लिन सकिन्छ । स्वदेशमा श्रम गर्नु देशको अस्तित्वसँग गाँसिएको विषय हो । तर, रोजगारीका विकल्पहरुको खोजी नगरी राज्य भने रेमिट्यान्स भित्रिएको बहानामा केको न्यानोमा हराइरहेको छ । सरकारले आर्थिक समृद्धिको रट लगाए पनि स्वदेशमै युवाहरुलाई रोक्ने रणनीति बनाउन सकिरहेको छैन ।

सरकार र युवाशक्तिको सोचमै परिवर्तन नआएसम्म न समृद्धि सम्भव छ, न त वैदेशिक पलायन रोक्न नै सम्भव । मुलुकले आर्थिक र सामाजिकरुपमा फड्को मार्न पहिले श्रममा विश्वास गर्न सक्नुपर्छ । काम सानो वा ठूलोभन्दा श्रमको सम्मान गर्ने र स्वदेशमा उत्पादन बढाउन लागिपर्नुपर्छ । विदेशमा पनि तलब नपाएर बिचल्लीमा परेका, चर्को श्रम शोषणमा परेका, विदेश–मोहले परिवार नै बिगारेका दृष्टान्त विदेश पलायनले निम्त्याएका परिणाम हुन् । सरकारले नेपाली श्रमशक्तिलाई स्वदेशमै परिचालन गर्न सक्नुपर्छ । अाजकाे
नेपाल समाचापत्र दैनिकमा खबर रहेकाे छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…