फुटबल विकास तथा युवा खेलाडी समूहमा ४४ खेलाडी छनाैट

अखिल नेपाल फुटबल संघले सुरु गरेको फुटबल विकास तथा युवा खेलाडी समूह तयारीका क्रममा सुनसरीको दुहबी छनोटबाट ४४ खेलाडीले काठमाडौंको यात्रा गर्ने भएकाछन्। चैत्र २९ गतेदेखि बैशाख १ गते आइतबारसम्म भएको छनोटका क्रममा प्रदेश नम्बर एकको मोरंग, झापा, सुनसरी, उदयपुर, धनकुटा र प्रदेश नम्बर दुइको सप्तरीबाट ३ सय खेलाडी छनोटमा सहभागि रहेका थिए।

आइतबार दुहबी रंगशालामा भएको अन्तिम छनोटका क्रममा १३ वर्ष मूनिको उमेर समुहमा २३ र १६ वर्ष मूनिको उमेर समुहमा २१ जना खेलाडी छनोटमा परेको उमेर समूहका राष्ट्रिय प्रशिक्षक मनिष तिम्सिनाले जानकारी दिए। १३ वर्ष मूनिको उमेर समुहमा मोरंगबाट ७, झापा १०, सुनसरी ४ र उदयपुर २ जना चयन भएकाछन्। त्यसैगरि, १६ वर्षमूनिको उमेर समुहमा मोरंगबाट १०, सुनसरी ७, र झापाबाट ४ गरि २१ जनाको छनोट भएको प्रशिक्षक तिम्सिनाले बताए। तथापि, प्रदेश नम्बर दुइबाट खेलाडीहरु छनोट हुन सकेनन्।

हाल ७७ जिल्लाका विभिन्न केन्द्रमा खेलाडी छनोट कार्य जारी रहेको छ। जसमध्ये १३ वर्षमूनिको खेलाडीलाई अन्तिम छनोटका क्रममा काठमाडौं स्पर्धा गराइने एन्फाले जनाएको छ। सो उमेर समुहमा एन्फाले धरान एकेडेमी, बुटवल एकेडेमी र काठमाडौं एकेडेमीमा गरि कुल ७५ जना खेलाडीलाई भर्ना लिनेछ। त्यसैगरि, १६ वर्षमूनिको खेलाडीलाई भने राष्टिय टोलीका लागि तयार गर्ने बताइएको छ। खेलाडी छनोटका क्रममा राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी वहन गरिसकेका प्रशिक्षक बालगोपाल महर्जन, राजेश मानन्धर, श्याम मानन्धर, पारस चौधरी र तिम्सिना रहेका थिए।

त्यसैगरि, इलाम जिल्लाबाट पहिलो चरणमा १३ वर्षमूनिको लागि २५, र १६ वर्षमूनिका लागि ८ जना खेलाडी छनोट गरिएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले जानकारी दिए। एन्फा सदस्य खड्गीका अनुसार, आउँदो बिहीबार इलाम, पाँचथर, र ताप्लेजुंग जिल्लाबाट काठमाडौंका लागि अन्तिम चरणको खेलाडी चयन हुने बताए। इलाममा हुने छनोटका लागि प्रशिक्षक महर्जन र राजेश मानन्धर रहने जिल्ला फुटबल संघ इलामले जनाएको छ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया