नयाँ वर्षमा पर्यटकिय र धार्मिक हिसावले पुग्नै पर्ने रौता र ताप्ली पोखरी ( १५ तस्विरहरू)

उदयपुर / उदयपुरमा रहेका दुई पर्यटकिय स्थलका रुपमा परिचित रौता र ताप्ली पोखरीमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । पर्यटकिय तथा धार्मिक हिसावले नयाँ वर्षको दिन शहर बजारका साथै गाउँ गाउँबाट उक्त दुई पोखरीमा रमाउन युवा युवतीहरुको लर्को लाग्ने गरेको छ । जिल्लाका अधिकांश नयाँ वर्ष मनाउनेहरु यो दुई पोखरीमा नयाँ वर्षको दिन रमाउने गरेका छन् । पर्यटकिय तथा धार्मिक हिसावले घुम्नै पर्ने मध्येको एक प्रकृतिक सौन्दर्य ठाउँ हो यो ।

डाँडाको थाप्लोमा गोलाकार पोखरी । पोखरीमा पानी । पानीमा तैरिरहेको कमल । किनारको रुखमुनि रौतामाई। शितल अनि हरियाली । पवित्र एवं शान्त भूमि । रौतापोखरी पुग्दा मन फुरुङ हुन्छ । उत्साहको लहर चल्छ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–६ मा पर्छ रौता पोखरी । यो पोखरी सदरमुकाम गाईघाटदेखि उत्तर–पश्चिम क्षेत्रमा समुन्द्री सतहदेखि ५ हजार ९ सय फिट उचाईमा रहेको छ । पूर्वको प्रख्यात धार्मिक गन्तव्य । पोखरीको दक्षिणमा घना जंगल छ । जंगलको छायाँ पानीमा तैरिन्छ । रौतामाईको मूर्ति भलायोको रुख मुन्तिर छ । त्यहाँ ध्वजापताका, त्रिशुल आदि चढाइएको छ ।

रौतामाई प्रति यस्तो छ जनविश्वास

रौतामाई दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ । मन्दिरका पूजारीका अनुसार देवी भाकेर मनले जे माग्यो त्यो फल प्राप्त हुन्छ । धन लाभ, निरोगिता, सन्तान प्राप्ति, जागिरमा बढुवा लगायत सबै खाले मनोकांक्षा पुरा हुने विश्वासमा बर्सेनी हजारौं तिर्थालु रौतापोखरी पुग्छन् ।

भाकल पुरा भएपछि तिर्थालुहरु बलि लिएर आउँछन् । देवीलाई चढाउँछन् । रौतामाईलाई पाठी र परेवा बलि चढाइन्छ । बोका, भाले र हाँस दिइँदैन । त्यस्तै धुपबत्ति, अबिर, अक्षता, फूल, ध्वजापताका, चुरापोते, त्रिशुल आदि चढाइन्छ । वैशाख १ गतेका दिन मन्दिरमा ठूलो मेला लाग्छ । त्यतिबेला पूजापाठ, नाचगान र खानपिन गरिन्छ । पोखरीमा नुहाउन पाइन्न । बाहिरको धारामा नुहाउँछन् तिर्थालु । पोखरीकै पानी ग्यालिनमा झिकेर बाहिर चौरमा आएर नुहाउन भने पाइन्छ ।

किवतन्ती

रौतारानीको महिमाका विषयमा एउटा घटना सुनाए पूजारी भीम बहादुर राना मगरले । ३६ वर्ष भएछ, पूजारी बनेको । वि.सं. १९६४ मा रुम्जाटार, ओखलढुंगाका भुजुङ गुरुङ सयौं भेडा लिएर यही बाटो हिँडेका रहेछन । त्यतिबेला उनका ५ सय भेडा हराएछन् । भेडा हराएपछि उनले धुई धुई रौता वरिपरि खोजेछन, तर भेटिएन । त्यसपछि गुरुङले बुढापाकालाई सोध्दा ‘रौताको शरणमा जाउँ, भेटिन्छन’ भनेछन् । भुजुङ रौतादेवीको शरणमा पुगे । ‘मेरा भेडा देखा पार्दिनु देवी म यहाँ मन्दिर बनाउँछु’, उनले आँखा चिम्म गरेर याचना गरेछन् । त्यहिबेला भेडा कराएको आवाज सुनियो । नभन्दै सबै भेडा फेला परेछन् । त्यसबाट खुशी भएर उनले ढुंगाको सामान्य मन्दिर बनाई दिएपछि उनका नातिले वि.सं २००७ सालमा ठूलो मन्दिर बनाए । तीसको दशकमा तिनै नातीले दिएको ३० हजार रुपैयाँले मन्दिर व्यवस्थित गरिएको पूजारीबा सुनाउँछन् ।

हिँडेर पोखरीको फन्को मार्न १० मिनेट जति लाग्छ । रौतापोखरी क्षेत्र पानीको मुहान पनि हो । यसबाट पूर्वमा अँधेरी खोला, पश्चिममा त्रियुगा खोला, उत्तरमा राँकुली तथा रसुवा खोला र दक्षिणमा बरुवा खोला बग्छन् ।

पश्चिमपट्टिको त्रियुगा खोलामा अन्य साना–ठूला खोला मिसिंँदै जाँदा त्रियुगा नदी बन्छ र अनि तल तराईमा बग्दै जाँदा तपेश्वरी र ओद्राहको बीचमा सप्तकोशीमा पुगेर मिसिन्छ । अनौठो कुरा–छेउमा त्यति ठूलो जंगल भएता पनि पोखरीमा एउटा पात पनि देखिँदैन । पात खस्यो कि चराले टिपेर किनारा लगिहाल्छ रे ! पानीमा पात पर्ना साथ गुलाबी सिउँर भएका चराले चुच्चोमा च्यापेर घाम झुल्किनु अघि नै बाहिर फाल्छन् भन्ने सुनाए पूजारीबाले । वर्षैभरि घुम्न सकिन्छ रौतापोखरी । बिशेषतः फागुनदेखि वैशाखसम्म चहलपहल बढी हुन्छ । अरु बेला फाट्टफुट्ट आउँछन् तिर्थालु । हरेक औंसी, एकादशी, आइतबार र साउनमा मन्दिरमा पूजा चल्दैन ।

पर्यटकिय महत्व

धार्मिक आस्था बोक्नेहरुका लागि त रौतापोखरी ‘ड्रिमल्याण्ड’ नै बन्न सक्छ । प्रकृति, संस्कृति, जीवनशैली र जैविक विविधतामा रमाउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्नेमा शंका छैन । चुरे उपत्यका गाईघाटमा बस्नेहरु हुन् कि अलिपर राजविराज वा लाहानतिर बस्नेहरु, उनीहरुलाई गर्मी छल्ने गन्तव्यका रुपमा रौतामा उकाल्न सकिन्छ । पोखरीबाट १ घन्टा उकालो चढे एनसेल डाँडा (२,१०० मिटर) पुगिन्छ । एनसेलको टावर भएकाले एनसेल डाँडा भनिएको । डाँडाबाट हिमालको लामो लर्कन देखिन्छ । मौसम खुलेमा सगरमाथासम्म देखिने गरेको छ ।

अतिथिलाई होमस्टेको सुविधा

रौतापोखरीको बेस क्याम्प निकास गाउँका ११ घरमा होमस्टे सुविधा छ । होमस्टेबाट १० मिनेट उकालो चढे पुगिन्छ पोखरीमा । रौतापोखरीको बेस क्याम्पमा अबस्थित निकास गाउँमा बाहुनका २ र राईका ९ गरी जम्मा ११ घरमा होमस्टे सुविधा छ । त्यहाँ ०७१ सालदेखि होमस्टे सुविधा दिन थालिएको । गज्जब कुरा के छ भने अन्यत्र पहिला होमस्टे सुरु हुन्छ अनि पर्यटक बढ्दै जाँदा आधुनिक सुविधायुक्त होटल खुल्छन् । तर, निकास गाउँमा सुरुमा सामान्य होटल खुलेछन् । पछि तिनलाई होमस्टेमा रुपान्तरण गरिएछ । होटलको बोर्ड राखेर चलाउँदा भन्दा होमस्टेका रुपमा सञ्चालन गर्दा सेवा र सुविधा बढी दिन सकिएको रौतामाई निकास सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष जितशेर राई (विजय) बताउँछन् ।

होमस्टेका रुपमा ब्राण्डिङ गर्नु अघि यहाँका होटलले सामान्य खाना र बास सुविधा दिन्थे । राईका अनुसार कतिपय तिर्थालु आफैं चामल र तरकारी बोकेर आउँथे । होटलवाला पकाइदिन्थे । त्यसको ज्याला लिन्थे । अचेल त्यसरी खाद्यान्न बोकेर आउँदैनन् । होमस्टेका रुपमा अघि बढेपछि खाना बनाउने र अतिथि सत्कार तालिम पाएपछि उनीहरुको गुणस्तर बढेको छ ।

होमस्टेमा एउटा घरमा ६ जना बस्न सक्छन् । लोकल चामल, तरकारी, पिठो र कुखराबाट परिकार लगायत यहाँको विशेष खाना हो । अडर अनुसार ढिडो पनि बनाउने गरेको छ । होमस्टेका संचालकहरुका अनुसार आउनु भन्दा अगाडी खबर गरेमा बालन, साकेला र रोधीको स्वाद पनि चाख्न पाइन्छ । सादा खानाको १२० रुपैयाँ र डबल बेडको कोठाको ३०० रुपैयाँ चार्ज छ भने लोकल कुखरा प्रति केजी ६०० रुपैयाँ पर्छ ।

डिपिआर सम्पन्न, केबलकार सञ्चालन गर्ने योजना

रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काका अनुसार गाउँपालिकाको प्रमुख धार्मिक गन्तव्य रौता पोखरीको गुरु योजना र डिपिआर सम्पन्न भएको बताए । त्यही अनुसार पूर्वाधार निर्माणमा पुरातत्व भल्किने मन्दिरको निर्माण गर्ने योजना समेत रहेको छ । यस्तै पोखरीको झार हटाउने, सुख्खा वाल लगाउनेसम्मको काम हुने छ । स्थानीय र प्रदेश सरकारबाट बजेट छुटिएर केही कामहरु बनाउन शुरु गरिएको बताए । उनले भने, ‘बेलदोभानबाट रौतासम्म केबलकार सञ्चालन गर्ने विषयमा त्रियुगा नगरपालिकासँग हामी सहकार्य गरेका छौं । रौता पोखरीको मात्र होइन उदयपुरकै अग्लो भूमि चित्रेको पर्यटन विकासमा समेत हामी जुटेका छौं । दुबै ठाउँलाई हामी नमूना गन्तव्य बनाउँछौं ।’ उनका अनुसार बैशाख १ गते मेला लगाउने जिम्मा स्थानीय युवाहरुलाई दिइएको छ । यस वर्ष मेलाको उद्देश्य भनेको पोखरी वरिपरिका क्षेत्रमा गुराँस प्रयाप्त मात्रामा भएकोले गुराँस संरक्षण, बाल विवाह न्यूनीकरण, वन्यजन्तु संरक्षणको लागि स्थानीय कलाकारको नाटक प्रस्तुत हुने छ ।

थुम हेर्न ताप्ली पोखरी

प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्व बोकेको ताप्ली पोखरी साविक सगरमाथा अञ्चल हाल १ नं. प्रदेश उदयपुर जिल्लामा अवस्थित छ । उदयपुर जिल्लाको एक प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टाको यात्रामा पुगिने उत्तरको डाँडा ताप्ली गाउँपालिका २ ताप्ली पोखरी वा रानी पोखरीको नामले प्रख्यात रहेको छ । यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ ।

समुन्द्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा रहे पनि यो पोखरीमा वर्षैभरि पानी जमिरहन्छ । यो पोखरी हेर्न विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन् । पोखरीबाट उत्तरमा सगरमाथासम्मका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । यसैगरी हरियो चउरले भरिएका थुमहरूका कारण पर्यटकहरू रोमाञ्चित हुन्छन् । बाह्रै महिना चिसो हुने यो पोखरीमा पर्यटकहरू गर्मी छल्न पनि पुग्छन् ।

यस पोखरी ७५ मिटर चौडा तथा ३ सय २० मिटर लामो यो पोखरीको गहिराई ३ मिटर छ । तुसारो परिरहने यो पोखरीको किनारमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । जैविक विविधताले भरिपूर्ण यो पोखरी धार्मिक तथा प्राकृतिक अध्ययनका लागि पनि महत्वपूर्ण छ । सत्य युगमा शिवजीले यहाँका गुफामा बास बसेको किवदन्ती गाउँलेहरु सुनाउँछन् । विशेष गरी नयाँ वर्षका दिन यहाँ भव्य मेला लाग्ने गरेको छ । ताप्ली पोखरीको दक्षिणतर्फ हेर्दा भारतसम्मका सहरहरू अवलोकन गर्न सकिन्छ ।

यो पोखरी किनारमा भ्यू–टावरसमेत निर्माण भैरहेको छ । यहाँको आकर्षण प्राकृतिक छटासँगै यहाँका लेक र थुमहरू हुन् । लेक हेर्न पनि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । पञ्चकन्या मन्दिरमा पूजाआजा गरे रोगव्याधि निको हुने जनविश्वास छ । ताप्ली पोखरीले १ नं. प्रदेशमा धार्मिक पर्यटकको सम्भावना बोकेको छ । तत्कालीन माओवादीले यो स्थानबाटै पूर्वी डिभिजनको घोषणा गरेको राजनैतिक इतिहास पनि छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया