विदेश जान दिएनन्, बिहे पनि गरेनन्, सँगै बस्ने चाहले लियो ज्यान : यस्ताे छ रामकहानी…

बेलवारी । मोरङ बेलवारी-४ का योगेन्द्र गुरुङ फागुन २ गते प्रेम दिवसमा प्रेमिका रमिला राईलाई लिएर पथरी बजारतर्फ लागे । साथमा थिइन् रमिलाकी बहीनी समिक्षा । बजारमा किनमेलपछि तीनै जना कारमा फर्किँदै थिए । बाटोमा रमिलाले योगेन्द्र गुरुङलाई बिहे गर्नुपर्छ भनिन् । ६ वर्षयताको प्रेम सम्बन्धमा रहेका योगेन्द्र रिसाए ।
बहिनी समिक्षाकै अगाडि गुरुङले रमिलालाई गाडीभित्रै कुटपिट गरे । पूर्व-पश्चिम राजमार्गको पथरी जंगलखण्डमा गाडीबाट बाहिर निकालिदिए । समिक्षा पनि रुँदै कारबाट उत्रिइन् । योगेन्द्र एक्लै हुँइकिए । समिक्षा र रमिला टेम्पोमा बेलवारी आए ।नेकपा स्थानीय नेता तथा बेलवारीमा सञ्चालित नोबेल हस्पिटलको सञ्चालक ४६ वर्षीय गुरुङको घर बेलबारी नगरपालिका -४ धरहरा चोकमा पर्छ । २८ वर्षीया रमिलाको घर पनि नजिकै छ । घर आएपछि रमिला किन बीच बाटोमा छाडेको भन्दै झगडा गर्न योगेन्द्रको घरमा पुगिन् । समिक्षा गाउँकै साथीलाई लिएर योगेन्द्रको घर पुग्दा उनीहरुबीच विवाद चल्दै थियो । समिक्षाकै अगाडि योगेन्द्रले दुवै हातले रमिलाको मुख थुने । समीक्षाले दिदीलाई योगेन्द्रबाट छुटाएर घर ल्याइन् ।

घटनाको १५ दिनपछि फागुन १७ गते योगेन्द्रसँगै घरबाट निस्किएकी रमिला बेपत्ता भइन् । बेपत्ता भएको २६ दिन अनुसन्धान गर्दा बल्ल खुल्यो, फागुन २ गतेकै शैलीमा योगेन्द्रले रमिलाको मुख थुनेर हत्या गरी सप्तकोशीमा शव फालेका रहेछन् । रमिलाको ११ वर्षअघि तेह्रथुमका भीम लिम्बुसँग बिहे भएको थियो । तर श्रीमानसँग सम्बन्ध विगि्रएपछि छोरी लिएर माइत बस्न थालिन् । ६ वर्षयता योगेन्द्रसँग प्रेममा थिइन् । उनीहरुको सम्बन्ध घरमा मात्र होइन, गाउँमा सबैलाई थाहा थियो ।
डेढ वर्षअघि स्थानीय तहको निर्वाचनमा योगेन्द्र एमालेको तर्फबाट बेलवारी नगरपालिकाको मेयरको दाबेदार थिए । रमिलासँगको सम्बन्धकै कारण पार्टीले टिकट दिएन । रमिला योगेन्द्रसँग विवाह गर्न चाहन्थिन् तर, आफ्नो प्रतिष्ठामा आँच आउने भन्दै योगेन्द्रले बिहे टार्दै आएका थिए । विवाह नगरेपछि रमिलाले योगेन्द्रसँग टाढिन विदेश जान खोजिन् । विदेश जान बुझाएको पासपोर्ट म्यानपावर कम्पनीबाट योगेन्द्रले नै फिर्ता ल्याए । विवाह नगर्ने, तर सबै आवश्यकता पूरा गर्ने आश्वासन दिने योगेन्द्रले रमिलालाई विदेश जान पनि दिएनन् ।

योगेन्द्र विवाहित हुन् । तर उनकी श्रीमती श्रीमानसँग छुट्टिएर छोरा-छोरीसहित काठमाडौं बस्थिन् । त्यही बेला नजिकिएका योगेन्द्रले रमिलाको सबै खर्च जोहो गर्दै आएका थिए । रमिला उनलाई ‘श्रीमान’ सम्बोधन गर्थिन् भने रमिलाकी छोरीले ‘बाबा’ र बहिनीले ‘भिनाजु’ सम्बोधन गर्थिन् ।

सँगै बस्ने चाहले लियो ज्यान

फागुन २ गतेदेखि चिसिएको सम्बन्धलाई सुधार गर्न १७ गते बेलुका गुरुङले बा १५ च ७९१६ नम्बरको कारमा रमिलासँगै जलिना र विक्रम राईलाई लिएर विराट चोकमा रहेको हवाना होटल गए । राति करिब ११ बजेसम्म नाचगान गरी फर्किए । रमिला, जलिना र विक्रमले मापसे गरे, तर योगेन्द्रले पिएनन् । होटलबाट निस्किएका योगेन्द्रले विक्रम र जलिनालाई घर छेउमा छाडे, रमिलालाई लिएर घर गए । रमिलाले आफ्नै घरमा छाड्दिन भनेकी थिइन्, तर योगेन्द्रले सँगै बस्ने बताएपछि राजी भइन् । योगेन्द्रको घरमा पुगेपछि रमिलाले फेरि विवाहको कुरा निकालिन् ।

विवाद बढ्दै जाँदा योगेन्द्रले रमिलालाई हातले घचेटिदिए । खाटमा ठोक्कीएकी रमिला लडिन् । उठाएर खाटमा राखेका योगेन्द्रले फेरि दुवै हातले रमिलाको मुख थुने । हातखुट्टा चलाउँदासम्म मुख थुनेका योगेन्द्रले हलचल गर्न छाडेपछि हात निकाले । रमिलालाई भुइँ तल्लाको कोठामा छाडेर आफ्नो कोठामा गए, लुगा फेरेर फर्किँदा रमिलाको शरिर चिसो भइसकेको थियो । त्यसपछि योगेन्द्र शव व्यवस्थापनमा लागे ।

रमिलाको हात खुट्टा बाँधे । कोठामै रहेको प्लास्टिकले बोरे । भुइँको रगत पुछ्न कोठाको पर्दा प्रयोग गरे । त्यसपछि गाडीको डिकीमा अटाउने गरी बोरामा शव हालेर २ बजे घरबाट निस्किए । सुरुमा शव बेतनाको जंगलमा फाल्ने योजना थियो तर, शंका हुने भएकाले धरानको जंगलमा फाल्ने सोचे । हतारमा निस्किएका योगेन्द्रले पर्स घरमै बिर्सिएका रहेछन् । राति साढे २ बजेतिर नोबेल अस्पतालको काउण्टरबाट पैसा लिएर धरानतिर लागे ।

इटहरी पुगेपछि उनको मन बदलियो । धरान जाने योजना बनाएका उनी शव बेपत्ता बनाउन सप्तकोशीतर्फ हानिए । इटहरी चोकमा मोबाइल अफ गरे । कोशी पुगेपछि माछा मार्नेहरुलाई कुन ढोका खुल्ला छ भनेर सोधे । सप्तरीतर्फ २९ नम्बर ढोका खुल्ला भएको थाहा पाएपछि शव फालेर सडक पारीबाट गाडी घुमाए र घर फर्किए ।
भोलिपल्ट फागुन १८ गते दिउँसो पुनः शवको अवस्था बुझ्न कोशी व्यारेज पुगे । साथमा थिए विष्णु चुहान । नोबेल अस्पतालमा एकाण्टेन्टको काम गर्ने चुहानले नै राति २ बजे पैसा दिएका थिए योगेन्द्रलाई । बिहान रमिला हराई भन्दै अस्पताल पुगेका योगेन्द्रले सप्तकोशीमा आत्महत्या गरेको हुन सक्ने बताउँदै चुहानलाई लिएर गएका थिए ।

२९ नम्बर ढोका हुँदै पुल पारी बस्ने सप्तरीका स्थानीयसँग शव कतै देखियो कि भनेर सोधीखोजी गरे । स्थानीयले मरेर फालेको भए माछाले खाने र आफैं मरेको भए पानीमा तैरिने बताए । पुलदेखि केही तलसम्म पुगेका योगेन्द्र शव नदेखेपछि ढुक्क भएर फर्किए र इलाका प्रहरी कार्यालयमा आफ्नै अगुवाईमा निवेदन दिए । सम्भावित स्थानमा प्रहरीसँगै खोजी गर्न निस्किए । बेतनाको जंगल र आसपास प्रहरीसँग खोजी गरेका गुरुङ शंकाको सुई आफूतर्फ तेर्सिएपछि भने बेलवारी छाडेर भागे ।

सीसी क्यामेराले पत्ता लगाएको हत्यारा

६ वर्षको दौरानमा आफ्नो घरमा बस्दा गुरुङले रमिलालाई राति साढे ४ बजे आसपासको समयमा स्कुटरमा घर ल्याएर छाड्ने गरेका थिए ।
१७ गते राति सँगै बसेर १८ गते बिहान ४ बजे घरमा छाडेको गुरुङले बयान दिएका थिए । तर, कल डिटेलको रिपोर्ट -सीडीआर)ले गुरुङमाथि शंका झनै बढायो ।
अनुसन्धानको सुई आफूतिर सोझिएपछि योगेन्द्र फागुन २४ गते इलामको पशुपतिनगर हुँदै दार्जिलिङ्ग लागे । दुई दिनपछि फर्किन खोजेका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राई नेतृत्वको टोलीले इलामबाट पक्राउ गर्‍यो ।

सुरुमा त उनले अभियोग स्वीकार गरेका थिएनन् । तर, इटहरीबाट पश्चिम लागेको सीसीटीभी फुटेज फेला परेपछि गुरुङको बहानाबाजी बन्द भयो र रमिलाको हत्या गरेको स्वीकार गरे । प्रहरीसमक्ष हत्या गर्नुको कारण विवाह नै भएको बताए । प्रहरी स्रोतका अनुसार सप्तकोशी कटान क्षेत्र हुँदै कोसी ब्यारेजसम्म पुगेको फुटेज भेटिएपछि अनुसन्धान गर्न सहज भएको थियो । तर, रमिलाको शव फेला पार्न भने २६ दिन लाग्यो । तालिम प्राप्त गोताखोरसहित शव खोज्दा भेटिएन । चैत १३ गते रमिलाको शव सप्तकोशीमा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

गुरुङ कारागार चलान

हत्या प्रकरणको एक महिनासम्म अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा ‘कर्तव्य ज्यान’मा मुद्दा दर्ता गरेको छ र यागेन्द्रलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले शुक्रबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मुलुकी फैजदारी संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षको लागि थुनामा राख्न अदालले आदेश दिएको प्रहरीले जनाएको छ । (सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोगमा आधारित)

तपाईको प्रतिक्रिया