साफ महिला च्याम्पियनसिप : नेपाल उपाधिबाट विमुख

माेरङ / पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा भारतसँग नेपाल पराजित भएको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा ३–१ गोल अन्तरले नेपाललाई स्तब्ध बनाउँदै भारत पाँचौं पटक साफ च्याम्पियन बनेको हो । सन् २०१० बाट सुरु भएको प्रतियोगिता पाँचौं पटक भारतले उचाल्दा कुनै पनि टिमले रोक्न सकेनन् । पहिलो, दोस्रो, तेस्रो र पाँचौं संस्करणमा नेपाल उपविजेतामा खुम्चियो । चौथो संस्करणको उपविजेता बंगलादेश पनि सेमिफाइनलबाटै बाहिरियो । चिरप्रतिद्धन्द्धी भारत सधैं नेपालको च्याम्पियन हुने सपनामा बाधक बनिरहयो ।

खेलमा २६ औं मिनेटमा डालिमा छिब्बरको लगभग ३५ यार्ड टाढाको फ्रिकिक प्रहारले पोष्टको दिशा लिंदा भारत अघि बढेको थियो । त्यसको ७ मिनेटमै नेपालले जवाफी गोल फर्कायो । ३३ औं मिनेटमा सावित्रा भण्डारीको हेडर बलले जाली चुम्दा नेपाल खेलमा फर्किएको थियो । १–१ गोलको बराबरी अवस्थामा पहिलो हाफ सकिएको थियो । भारतको तुलनामा मध्यान्तरपछि फिक्का प्रदर्शन गरेको नेपालको अन्तत उपाधि उचाल्ने योजनामा फेरी भारत बाधक बन्यो ।

६२ औं मिनेटमा अनमार्क रहेकी भारतकी ग्रेस दाङ्मेले गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याइन । सन्ध्या रंगननाथनलाई विस्थापन गर्दै ६३ औं मिनेटमा मैदान छिरेकी अन्जु तामाङले गोल गर्दै भारतको जित ३–१ गोल अन्तरले निश्चित गरिन् । भारतसँग फाइनलमा चौथो हार बेहोरेको नेपालले फाइनलमा गरेको प्रदर्शन विर्सन लायक बन्यो । घरेलु मैदान र दर्शकको राम्रो समर्थन पाए पनि विपक्षी खेलाडीलाई मार्क गर्न नसक्दा नेपाल चुकचुकाउन प¥यो । भारतका स्ट्राईकरमाथि कुनै पनि दबाब सिर्जना गर्न नसक्दा र उनीहरुलाई रोक्ने प्रयास नहुँदा नेपाल उपाधिबाट बिमुख बनेको हो ।

घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपाली टोली उपाधिबाट भने बिमुख भयो । भारतीय टिमकी प्रशिक्षक मायामोल रक्कीले खेलाडीको उत्कृष्ट प्रदर्शनकै कारण उपाधि उचाल्न सकिएको बताइन । यस्तै नेपालका प्रशिक्षक हरि खड्काले खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि हार बोहोर्नु परेको बताए । दोस्रो गोल नै हारको टर्निङ प्वाइन्ट बनेको उनको भनाइ छ ।

प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी र भारतकी इन्दुमति खाथिरसेन समान ४ गोलसहित सर्वाधिक गोलकर्ता भए । यस्तै फाइनल खेलको मोस्ट भ्यालुएवल खेलाडी भारतकी डालिमा छिब्बर घोषित भइन् । गत फागुन २८ गतेबाट विराटनगरमा सुरु भएको प्रतियोगितामा भारत, नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी थिए । पाकिस्तान सहभागी भएन ।

Purbeli TV

तपाईको प्रतिक्रिया