विराटनगर १३ का वडा अध्यक्ष झरीलाल महतोमाथि बुहारीलाई जागिर दिएको आरोप

माेरङ / विराटनगर महानगरपालिका – १३ का वडा अध्यक्ष झरीलाल महतोमाथि स्वास्थ्य बिमा कर्तामा आफ्नी बुहारीलाई जागिर दिएको आरोप लागेको छ । योग्य महिला स्वास्थ्य स्वयंसेविका हुँदा हुँदै महतोले बुहारी दिवीया घतानीलाई जागिर दिएको आरोप लागेको हो । वडा कार्यालयले स्वास्थ्य बिमा कर्तामा प्रवेशिमा पास गरेका महिला स्वास्थ्य स्वयंसेविका लाई प्राथमिकता दिने भन्दै सूचना जारी गरेको थियो । तर महिला स्वास्थ्य स्वयंसेविका द्वय आशा झा र गीता ओझा घिमिरेले आफूहरुलाई वाईपास गरेर कुनै पनि भूमिकामा नरहेकी बुहारीलाई महतोले जागिर दिएको आरोप लगाए ।

उनीहरुका अनुसार स्वास्थ्य बिमा कर्ता नियुक्ती गर्ने अन्तरवार्तामा वडा अध्यक्ष महतो आफै बसेका थिए । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरेर वडा अध्यक्षले बुहारी नियुक्त गरेको र अनुभवी एवं योग्य स्वास्थ्य स्वयंसेविकाहरुलाई पाखा लगाएको आरोप लगाइएका छ । महिला स्वयंसेविका जमुना गौतमले अन्तरवर्तामा वडा अध्यक्ष महतोसँगै वडा सचिव शम्भु साह र महानगरको स्वास्थ्य महाशाखाका एपोलो भगत सहभागी थिए ।

उनीहरुकै मिलेमतोमा वडा अध्यक्ष महतोले आफ्नी बुहारीलाई नियुक्ती दिएको उनले बताइन । गौतमले बुहारीलाई नै नियुक्त गर्न वडा अध्यक्ष स्वयं अन्तरवर्तामा बसेर स्वास्थ्य क्षेत्र भन्दा बाहिरका प्रश्न सोध्ने गरेको बताइन । यता वडा अध्यक्ष महतोले प्राब्धान भन्दा बाहिर गएर कसैलाई पनि नियुक्ती नदिएको बताए । उनले सूचना अनुसार नै स्वास्थ्य बिमा कर्ता नियुक्त गरेको भन्दै आफ्नी बुहारी योग्य रहेकाले नियुक्ती दिएको दावी गरे । उनले कोही कसैले पनि विरोध गर्नुको औचित्य नभएको प्रतिक्रिया दिए ।

यस अघि वडा नम्बर ९ मा समेत महिला स्वास्थ्य स्वयंसेविकालाई वाइपास गरेर स्थानीय एक महिलालाई वडा अध्यक्ष विश्वनाथ भगतले नियुक्त गरेका थिए । दुई जना महिला स्वास्थ्य स्वयंसेविकाले आवेदन दिए पनि सहमति विपरित स्थानीय रेणु गुप्तालाई स्वास्थ्य बिमा कर्तामा नियुक्त गरिएको थियो । स्वास्थ्य बिमा कर्ताले स्वास्थ्य विमा गराए बापत कूल रकमको १० प्रतिशत पाउने प्राब्धान रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया