साफ महिला च्याम्पियनसिप, खेल सकिएपछि सफाईमा मेयर

माेरङ / फागुन २८ बाट विराटनगरस्थित सहिद रंगशालामा साफको पाँचौं संस्करण चलिरहेको छ । यस भित्र लुकेको अर्को महत्वपूर्ण विषय पनि छ । प्रत्येक दिन ३ बजे सुरु हुने खेल सकिंदा लगभग ५ बजेको हुन्छ । खेल सकिएर अफिसियल, रेफ्री र खेलाडीले मैदान छाड्न साथ एउटा समूह हतारहतार गर्दै मैदान पस्छ । सेतो पोशाकमा रातो बोरा बोकेर मैदान छिर्ने टोलीमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि हुन्छन् । सीएमजी स्वस्थ्य क्लबमार्फत एउटै समूह बनाएर मैदान छिरेकाहरु रंगशालाको मैदान, प्यारापिट, मञ्च र आसपासमा रहेका फोहोरहरु संकलन गर्न थाल्छन् ।

२० मिनेट बढी समय लगाएर रंगशाला भित्र दर्शक, अतिथी र खेलाडी तथा अफिसियलले पानी खाँदा फ्यालेका बोतलहरु संकलन गर्नेदेखि लिएर अन्य सरसफाईसम्मका काम सकेर टोली मैदानबाट बाहिरिने गरेको छ । क्लबका अध्यक्ष किशोर धमलाले प्यारापिटको सरसफाईदेखि लिएर मञ्च, खेलाडी र अफिसियल बस्ने ठाउँ तथा मैदानको फोहोर व्यवस्थापनमा सुरुकै दिनदेखि खटिएको जानकारी दिए ।

‘क्लबका तर्फबाट हामीले यो काम निःशुल्क रुपमा गरिरहेका छौं । यसमा महानगरका मेयरले पनि साथ दिइरहनु भएको छ,’ उनले भने, ‘प्रतियोगिता सञ्चालन अवधिभर हामी यही भूमिकामा रहने छौं । हाम्रै सम्पत्ति भएकाले संरक्षणमा चासो दिनु पर्छ भनेर रंगलाशा भित्रका फोहोर तत्काल व्यस्थापन गर्ने जिम्मेवारी हामीले लिएका छौं ।’ अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले पनि मैदान र आसपासमा फोहोर हुन नदिनु आफूहरुको दायित्व भएको मेयर पराजुलीले बताए । जथाभावी फोहोर छाड्दा रंगशालाका बारेमा नराम्रो सन्देश प्रवाह हुने उनको भनाइ छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया