पूर्व राजा आज उदयपुरको राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने

उदयपुर / देश दौडाहाको क्रममा रहेको पूर्व राजा ज्ञानेन्द्र शाह आज उदयपुरमा आउने भएको छ । तराईका जिल्लामा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्कन लाग्नु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले आज शनिबार राधाकृष्ण मन्दिरमा २ बजे धार्मिक पुजापाठ गर्ने कार्यक्रम रहेको छ । राधाकृष्ण मन्दिर, भगवति मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व राजा शाहले पुजा अर्चना गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक धुर्व रायमाझीले जानकारी दिए । स्वागतका लागि जलजले, देउरी, बगहा, मोतिगडा, गाईघाट लगायत स्थानमा गेट र व्यानरले सजिएको रायमाझीले बताए ।

पूर्व राजाको सवारीको लागि मेन चौक देखि सेतो पुलसम्म पैदल यात्राको कार्यक्रम रहेको छ भने भगवति मन्दिर हुँदै राधा कृष्ण मन्दिरसम्म लैजाने कार्यक्रम रहेको प्रचार प्रसार समितिकासंयोजक रायमाझीले जानकारी दिए । उदयपुर आउने भएपछि यहाँस्थित स्थानीयबासी, राष्ट्रवादी संघ, संस्था तथा राजावादी विभिन्न संगठनले स्वागतको भव्य तयारीमा जुटेको छ ।

लामो समयपछि पुर्व राजा शाहको दर्शन गर्न पाउने भएपछि स्थानीय नागरिक हर्षित भएका छ्न । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा शाहको स्वागतको लागि उदयपुरमा भव्य तयारी थालिएको प्रचार प्रसार समिति संयोजक रायमाझीले जानकारी दिए । उनले भने, ‘पूर्व राजा शाह उदयपुरमा करिव २ घण्टासम्म रहने कार्यक्रम तय भएको छ ।’ यस्तै पूर्व राजा आउने भएपछि सुरक्षा निकाय पनि सुरक्षाको आन्तरिक तयारीमा जुटेको स्रोतले बताएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको आन्तरिक तयारीमा जुटेको छ भने आवश्यक परेमा नेपाली सेना पनि सुरक्षा दिन सकिने सुरक्षा स्रोतले जनाएको छ । मुलुकमा राजतन्त्र सहितको हिन्दु अधिराज्यको चर्को आवाज उठिरहेको बेला शाहको मध्य तराई क्षेत्रहरूमा हुन लागेको भ्रमणलाई महोत्वका साथ हेरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…