साफ महिला च्याम्पियनसिप : भाेली शनिबार घरेलु मैदानमा बंगलादेशको सामना

माेरङ / साफ महिला च्याम्पियनसिपमा शनिबार आयोजक राष्ट्र नेपालले समूह विजेता बन्नका लागि घरेलु मैदानमा बंगलादेशको सामना गर्दै छ । बंगलादेश साविक उपविजेता टिम हो । यस अघिका चार प्रतियोगिता मध्ये नेपाल तेस्रो संस्करणसम्म उपविजेता बनेको टिम हो । एउटै समूहमा रहेका दुवै टिमले उही समूहको भुटानलाई हराएर सेमिफाइलन पुगेका हुन् । घरेलु मैदान भएकाले पनि बंगलादेशमाथि जित नेपालले निकाल्न सक्ने अनुमान गरिएको छ । दुवै टिम समूह विजेता बन्ने होडमा छन् । भुटानमाथि जित निकालेर दुवै टिमले समान तीन अंक बनाएका छन् ।

नेपालले बंगलादेशविरुद्धको खेलमा कुनै दबाब नरहेको जनाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपाली टोलीको रेकर्ड राम्रो रहेका कारण जित निकाल्न गाह्रो नभएको बताए । उनले भने, ‘हामी जितका लािग खेल्ने छौं । घरेलु मैदान र दर्शकको पूर्ण साथ एवं खेलाडीको उत्कृष्ट प्रदर्शन हाम्रा लागि जितका आधार हुन् ।’ विगतका पाँच खेलमा नेपालले बंगलादेशमाथि चार खेलमा जित निकालेको छ । एउटामा बराबरी भयो । विगतमा विदेशी मैदानमा समेत दबाबमा राख्न सकिएकै कारण घरेलु मैदानमा जित निकाल्न गाह्रो नहुने उनको विश्लेषण छ ।

साफको पाँचौं संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालबीच दुई पटक भीडन्त भएको छ । जसमा गोर्खाली टोलीले बंगाल टाइगरलाई दुवैपटक पराजित ग¥यो । फिफा महिला वरियताको १ सय २५ औं स्थानमा रहेको बंगलादेशले साफमा कूल १६ वटा खेलमा सहभागिता जनाएको छ । जसमा ८ जित, १ बराबरी र ७ हार रहेको छ । त्यसै गरी नेपाली टोलीले कूल २० खेलमा १६ मा जित र ४ मा हार ब्यहोरेको छ ।

नेपालले पछिल्लो पाँचवटा अन्र्तराष्ट्रिय खेलमा ३ मा जित २ मा हार ब्यहोरेको छ । नेपालले भारतमा आयोजित वुमन्स गोल्डकप (हिरो) मा इरानलाई ३–०, भारतलाई २–१ र साफमा भुटानलाई ३–० गोल अन्तरले पराजित गरिसकेको छ । वुमन्स गोल्डकपमै म्यानमारसँग ३–० र उपाधि भिडन्तमा ३–१ गोल अन्तरले नेपाल पराजित भएको थियो ।

त्यसै बंगलादेशले भने पछिल्लो पाँच अन्तर्राष्ट्रिय खेलमा ३ मा जित २ मा हार ब्यहोरेको छ । नेपालका प्रशिक्षक खड्काले बंगलादेशका केही महत्वपूर्ण खेलाडीविरुद्ध रणनीति बुनिरहेको बताए । ‘बंगलादेशका राम्रा खेलाडीमाथि हामीले मार्क गरिरहेका छौं,’ उनले भने, ‘शनिबार त्यही अनुसारको रणनीति बनाएर खेल्ने छौं ।’ बंगलादेशी टोलीका राम्रा खेलाडीलाई मार्क गर्ने सन्दर्भमा आफ्नो टिमको संरचना केही तलमाथि हुन सक्ने उनले बताए ।

नेपाली टोलीको भर पुनः एकपटक अनुभवी कप्तान निरु थापामाथि रहने देखिएको छ । ३६ क्याप जितेकी निरुले हालसम्म ११ गोल गरिसकेकी छिन् । त्यसै गरी टोलीमा अनुभवी स्ट्राइकर सावित्रा भण्डारी पनि महत्वपूर्ण हतियारका रुपमा रहने छिन् । भण्डारीले अन्तर्राष्ट्रिय खेलमा २६ क्याप जितेकी छिन् । टोलीमै सर्वाधिक अन्तर्राष्ट्रिय २५ गोल गर्ने खेलाडी उनै हुन् । त्यसैगरि नेपाली टोलीमा युवा गोलरक्षक अन्जली तुम्बाफोको अनुभव बंगलादेशविरुद्ध काम लाग्ने खड्काले बताए । पहिलो रोजाइको किपर तुम्बाफोले १६ क्याप जितेकी छिन् । अर्कोतर्फ केही समयअघि भुटानमा आयोजित १८ वर्ष मुनीको खेलमा सनसनी मच्चाएकी रेखा पौडेल दोश्रो अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा उत्रिने छिन् । पौडेल इटहरीकी हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…