साफ महिला च्याम्पियनसिप : माल्दिभ्स पनि बाहिरियो

माेरङ /विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट माल्दिभ्स बाहिरिएको छ । सहिद रंगशालामा शुक्रबार भएको खेलमा समूह ‘बी’ मा रहेको श्रीलंकासँग २–० गोल अन्तरले पराजित भएपछि उही समूहको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम बनेको छ । शुक्रबारको खेलमा माल्दिभ्सलाई पराजित गर्न श्रीलंकाकी चलानी इकनायाकेको प्रदर्शन उत्कृष्ट रहयो । उनले गरेको दुई गोलले नै श्रीलंकालाई सेमिफाइनल यात्रा सम्भव गराएको हो ।
श्रीलंकाको जितमा चलानी इकनायाकेले मध्यान्तर अघि पहिलो र मध्यान्तरपछि दोस्रो गोल गरिन् । ३७ औं मिनेटमा कप्तान इरान्डी लियानाङ्गेको फ्रिकिक प्रहारपछि रिवाण्ड भएको बललाई उनले गोल लाइनबाटै पोष्टको दिशा दिंदा बंगलादेशले खेलमा अग्रता लिएको थियो । माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले रोक्ने प्रयास गरेको बल रिवाण्ड भएपछि चलानीले मौका पाएकी थिइन ।

उनैले ५० औं मिनेटमा दोस्रो गोल गरेर श्रीलंकाको जित निश्चित गरिन् । अचला संजिवनी परेराको क्रस पासमा उनले बललाई वानटच जाली चुमाउँदा जित विहीन बन्दै माल्दिभ्स पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपबाटै बाहिरियो । पहिलो हाफसम्म फितलो प्रदर्शन गरेको माल्दिभ्सले दोस्रो हाफपछि केही सुधारिएको प्रदर्शन गरे पनि श्रीलंका सामु उसको केही लागेन ।

खेलमा श्रीलंकाले पनि पाएका धेरै अवसर गुमायो । माल्दिभ्सको अग्रपंक्ती कमजोर भएका कारण श्रीलंकाले विपक्षीबाट गोलको सामना गर्नु परेन । बिहीबार समूह ‘ए’ मा रहेको बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएर उही समूहको भुटान प्रतियोगिताबाट बाहिरिएको थियो । माल्दिभ्स बाहिरिएसँगै एक खेल अघि नै समूह ‘बी’ मा रहेका भारत र श्रीलंका सेमिफाइलन पुगेका छन् । भारत र श्रीलंकाबीच आगामी आइतबार हुने खेलले समूह विजेताको टुँगो लगाउने छ ।

यस अघि नै सेमिफाइनलमा पुगिसकेका समूह ‘ए’ मा रहेका नेपाल र बंगलादेशबीच शनिबार हुने प्रतिस्पर्धाले समूह विजेताको छिनोफानो गर्ने छ । समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नु पर्ने छ । सेमिफाइनलमा समूह उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नका लागि शनिबारको खेलमा नेपाललाई बंगलादेशमाथि जित निकाल्नै पर्ने दबाब छ । समूह ‘ए’ को उपविजेता टिमले समूह ‘बी’ को विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।

खेलपछि माल्दिभ्सका प्रशिक्षक मोहम्मद आतिफले अस्वस्थ खेलाडीका कारण पराजयको नतिजा हात परेको बताए । उनका अनुसार चोटका कारण माल्दिभ्सका मुख्य तीन रक्षक बेन्चमा रहँदा पहिलो खेलमा भारतसँग पराजय बेहोर्नु परेको थियो । ‘हाम्रा खेलाडी अस्वस्थ्य थिए,’ उनले भने, ‘खेलाडी पूर्ण रुपमा तयार हुन नसक्दा हाम्रा लागि यो प्रतियोगिता लाभदायक बन्न सकेन ।’ श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले खेलाडीको उत्कृष्ट प्रदर्शननै जितको कारण भएको बताए । उनले समूह विजेताको छिनोफानोका लागि भारतसँग हुने खेलमा जितको खोजिमा मैदान उत्रिने बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया