पाँचौं साफ महिला च्याम्पियन्सीप : श्रीलंका र माल्दिभ्स भिड्दै

माेरङ / विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियन्सीप फुटबल अन्र्तगत शुक्रबार समूह ‘बी’को दोश्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्दै छन् । पहिलो खेलमा भारतसँग हार ब्यहोरि सकेको माल्दिभ्सले दुईपटक सेमिफाइनलको यात्रा तय गरिसकेको श्रीलंकाको सामना गर्नेछ । जारी प्रतियोगितामा रहिरहनका लागि माल्दिभ्सका लागि श्रीलंकाविरुद्धको खेलमा जित आवश्यक छ ।

पहिलो खेलमा माल्दिभ्स चारपटकको विजेता टोली भारतसँग बुधबार ६–० गोल अन्तरले पराजित भएको थियो । सो खेलमा माल्दिभ्सले हार ब्यहोरे प्रतियोगिताबाट घर फर्कने दोश्रो टोली बन्नेछ । साफको पाचौं संस्करणसम्म आइपुग्दा माल्दिभ्सले कुल १३ वटा खेल खेलेको छ । जसमा ३ जित दुई बराबरी र ७ वटा हार ब्यहोरेको छ । पछिल्लोसमय महिला फुटबलमा दरिलो बन्दै गएको माल्दिभ्सको टोली गत संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो ।

सो खेलमा पनि साफको साविक विजेता भारतसँग ६–० ले पराजित भएको थियो । अर्कोतर्फ श्रीलंकाले साफमा दुइ पटक अन्तिम चारको यात्रा तय गरेको छ । २०६८ सालमा घरेलु मैदानमा सम्पन्न दोश्रो साफमा श्रीलंकाले पहिलोपटक अन्तिम चारको यात्रा तय गरेको थियो । सो प्रतियोगितामा श्रीलंका नेपालसंग ३ –० ले पराजित भएको थियो पाकिस्तानमा आयोजित तेश्रो साफमा श्रीलंकन टोलीले अन्तिम चारमा स्थान पक्का गरेको थियो । सो प्रतियोगितामा श्रीलंका भारतसँग ५–० को फराकिलो अन्तरले हार ब्यहोर्न बाध्य बनेको थियो । श्रीलंकाले हालसम्म साफमा १४ वटा खेल खेलेको छ । जसमा ५ वटा जित, १ बरावरी र ८ वटामा हारको सामना गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया