बंगलादेशसँग भुटान पराजित

माेरङ/ विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशसँग भुटान २–० गोल अन्तरले पराजित भएको छ । विराटनगरस्थित सहिद रंगशालामा बिहीबार भएको खेलमा समूह ‘ए’ मा रहेको बंगलादेशको तुलनामा फिक्का प्रदर्शन गरेको उही समूहको भुटान समूह चरणबाटै बाहिरियो । भुटान पाँचौं साफमा प्रतियोगिताबाट बाहिरिने पहिलो टिम हो । भुटान गत मंगलबार एउटै समूहको नेपालसँग पनि ३–० गोल अन्तरले पराजित भएको थियो ।

बंगलादेशले भुटानलाई पराजित गरेपछि एक खेल अघि नै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । भुटानलाई हराएपछि बंगलादेश पनि सेमिफाइनल पुगेको छ । बिहीबारको खेलमा बंगलादेशलाई पहिलो हाफमा गोररहित बराबरीमा रोकेको भुटान मध्यान्तरपछि भने सम्हालिन सकेन । खेलको सुरुवातबाटै भुटानलाई दबाबमा राखेको बंगलादेशका लागि दुबै गोल मध्यान्तरपछि मात्रै सम्भव भएको हो ।

खेलको ४७ औं मिनेटमा मोस्त मिश्रात अहान मौशुमीले हेडर गोल गर्दै बंगालदेशलाई अग्रता दिलाइन् । उनले मोनिका चक्माको कर्नर प्रहार बललाई हेडर गोल गरेकी थिइन् । यही गोल बंगलादेशका लागि टर्निङ पोइन्ट बन्यो । त्यसपछि ८५ औं मिनेटमा कप्तान साविनाले गोल गर्दै बंगालदेशलाई २–० गोलको जीत दिलाइन् । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशबीच आगामी शनिबार प्रदर्शन प्रतिष्पर्धा हुँदैछ । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
पहिलो खेलमा आयोजक नेपालसँग ३–० गोलअन्तरले पराजित भएको भुटानलाई सेमिफाइनल सम्भावना जीवितै राख्न बंगलादेशलाई पराजित गर्नु पर्ने थियो । त्यही रणनीतिको साथ भुटान मैदानमा छिरेको थियो । उसको रणनीति पहिलो हाफसम्म सफल पनि भयो तर दोस्रो हाफमा भने दुई गोल खाँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो । प्रतियोगिताकै कमजोर टिम भुटानले साफ च्याम्पियनसिपमा अहिलेसम्म कुनै खेलमा जित हात पार्न सकेको छैन । यो संस्करणमा पनि जीतविहीन रहँदै भुटानले आफ्नो यात्रालाई सकाएको छ ।

खेलपछि भुटानका प्रशिक्षक सङ जाइ लि ले बंगलादेश नेपाल भन्दा राम्रो टिम भएकाले पनि बंगलादेशसँग जित निकाल्न नसकिएको प्रतिक्रिया दिए । नेपाल विरुद्धको खेलमा तीन खेलाडी घाइते अवस्थामा हुनु नै आफ्नो लागि दुर्भाग्यपूर्ण बनेको उनको भनाइ छ । उनले नेपालको रक्षापंक्ती र बंगलादेशको अग्रपंक्ती राम्रो भएको बताए । बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटोनले पूरै समय मैदानमा भुटानलाई डोमिनेट गर्न सकेको कारण जित सम्भव भएको बताए । उनले आफ्नो टिमको बल पोजिसन राम्रो हुनु पनि जितको मुख्य कारण भएको बताए । शुक्रबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया