पूर्व सांसदहरु निर्वाचन प्रणालीको विरोधमा

माेरङ । पूर्व सांसदहरु विद्यमान निर्वाचन प्रणालीको विरोधमा देखिएका छन् । यसले मुलुकमा भ्रष्टाचार र अनियमितता बढाएको उनीहरुको ठहर छ । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरु आवद्ध संस्था पूर्व सांसद मञ्चले अहिलेको निर्वाचन प्रणालीमा असहमति जनाएको हो । संसदको परामर्श दातृ अंगका रुपमा रहेको मञ्चले निर्वाचन प्रणालीलाई परिमार्जन र सुधार गर्नु पर्ने खाँचो रहेको औंल्याएको छ । मञ्चका उपाध्यक्ष एवं पूर्व सांसद घनेन्द्र बस्नेतले निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरिरहेको बताए ।

उनले आर्थिक विकृति र विसंगति नियन्त्रण, मुलुकमा विभिन्न काल खण्डमा भएका राजनैतिक परिवर्तनबाट प्राप्त उपलब्धीको रक्षा, नेपाली जनताका परिवर्तन र उत्थानका चाहना, जनताको बलिदानी र संघर्षको उपलब्धीको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत एवं संविधान र संघीयता कार्यान्वयनको बाधक निर्वाचन प्रणाली रहेको ठहर गरिएको बताए । प्रत्यक्ष र समानुपातिक भनेर ‘मिक्स’ गरिएको दुई खाले निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको बताउँदै बस्नेतले यसको पीडा जनताले खेप्नु परेको बताए ।

‘प्रत्यक्ष निर्वाचन प्रणालीमा एउटा उम्मेदवारले लाखौं र करोडौं खर्च गर्नु पर्ने अवस्था अवस्था आयो । सामान्य हैसियतकाले चुनाव लड्न सक्ने अवस्था नै छैन,’ उनले भने, ‘अनि उसले निर्वाचन जितेपछि भएका खर्च असुल गर्न लाग्नु पर्ने अवस्था आउँदा मुलुकमा भ्रष्टाचार बढेर गयो । प्रत्यक्ष हटाएर समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्छ भन्ने आवाजहरु पनि बुलन्द हुन थालेका छन् ।’ उनका अनुसार निर्वाचनमा लाखौं र करोडौं खर्च गर्ने वातावरण बनाउने निर्वाचन प्रणाली मुलुकका लागि घातक रहेको छ ।

बस्नेतले चुनाव जित्नेले जनताका काम गर्न नसक्नु, चुनावमा गरिएको धेरै खर्च उठाउनु पर्ने अवस्था आउनु, जनताका चाहना र इच्छा विपरितका कामहरु हुनुमा निर्वाचन प्रणाली मुख्य कारण रहेको बताए । पूर्व सांसद एवं मञ्चका महासचिव शंकरनाथ शर्मा अधिकारीले निर्वाचन प्रणालीले नीतिगत भ्रष्टाचारको आधार खडा गरिदिएको बताए । अधिकारीले निर्वाचन प्रणालीलाई नै फेरबदल र परिवर्तन गरिएमा मात्रै भ्रष्टाचारी सोंच र नीतिगत रुपमा हुने त्रुटि एवं अनियमितताको अन्त्य हुने बताए ।

अधिकारीले मञ्चले मुलुकका सातवटै प्रदेशमा विद्यमान निर्वाचन प्रणाली, समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन भइरहेका प्रयासहरु र संविधान कार्यान्वयनका सम्बन्धमा गरिएका कामहरु एवं लोकतन्त्रको सुदृढीकरणका विषयमा जनसुझाव लिने अभियान चलाएको जानकारी दिए । यसै अभियान अन्तर्गत प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा पनि यही चैत २ गते प्रदेश स्तरीय विशेष कार्यक्रम गरिने उहाँको भनाइ छ । विभिन्न सरोकारावालाहरुसँग गरिएको छलफलबाट मुुलुकमा समानुपातिक निर्वाचन प्रणाली नै भ्रष्टाचार अन्त्यको उत्तम विकल्प भएको सुझाव प्राप्त भएको मञ्चले जनाएको छ ।

सबै प्रदेशमा कार्यक्रम चलाउँदै विभिन्न ठाउँमा सरोकारवालाहरुसँग छलफल गर्दै त्यहाँबाट प्राप्त सल्लाह अनुसार एउटा निस्कर्ष निकालेर सरकार एवं संसदलाई आवश्यक सुुझाव दिइने मञ्चका उपाध्यक्ष बस्नेतले बताए । विभिन्न सरोकारावालाहरुसँग गरिएका छलफलमा निर्वाचनका बेला गरिने प्रचारप्रसारमा समय कम गरिनु पर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनु पर्ने, एउटा उम्मेदवारले भन्दा पनि सिंगो पार्टीले निर्वाचनको प्रचारप्रसार गर्नु पर्ने सुझावहरु प्राप्त भएको उनको भनाइ छ । बस्नेतले मुलुकमा हुने भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि निर्वाचन प्रणाली सुधार गर्न अभियान चलाइएको र यसको अभ्यासमा लागिएको जानकारी दिए । मञ्चमा विभिन्न दलका पूर्व सांसदहरु आवद्ध छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया