मोरङमा ‘विप्लव’ नेत्रृत्वको नेकपाले आब्हान गरेको बन्दको आंशिक प्रभाव

माेरङ / नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले आब्हान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ । शैक्षिक संस्था र यातायात क्षेत्रमा बन्दको प्रभाव परेको छ । शैक्षिक संस्थाहरुमा पठन पाठन ठप्प भए । यातायातका साधन नचल्दा यात्रुहरु मारमा परेका छन् । उद्योग कलकारखाना र बजार पसललाई बन्दले असर गरेन । पूर्वका उद्योगी व्यवसायी बन्दको विपक्षमा छन् । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जथाभावी रुपमा आयोजना गरिने बन्दका कारण उद्योग धन्दा चौपट हुने गरेको बताए ।

‘औद्योगिक र व्यापारिक क्षेत्रले बन्दको विरोध गरेको छ,’ उनले भने, ‘मजदुरले काम नछाडुनजेल औद्योगिक क्षेत्रमा बन्दको कुनै पनि प्रभाव पर्ने छैन ।’ सारडाले बन्दको उल्लंघन गरिएको रुपमा भन्दा पनि बन्द र हड्ताल राम्रो हैन भन्ने कुरा बन्दकर्ताले बुझ्नु पर्ने बताए । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बन्दका कारण उत्पन्न हुने समस्यालाई मध्यनजर गर्दै सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । ‘ठाउँठाउँमा बन्दका नाममा अपराध हुन सक्नेतर्फ प्रहरी सचेत छ,’ उनले भने, ‘राजमार्ग, बजार क्षेत्र, सार्वजनिक स्थल, भित्री सडक खण्डहरु, शैक्षिक तथा औद्योगिक क्षेत्र लगायतका सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।’ केसीले बन्दका नाममा कुनै पनि अवाञ्छित गतिविधी भएमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाइने जानकारी दिए ।

विराटनगरमा जारी पाँचौं साफ च्याम्यिनसिपका आफूहरुको ध्यान केन्द्रीत भएकाले बन्दको प्रभाव नपरोस भनेर विशेष सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका क्रममा प्रदेश भरीनै कुनै पनि घटनाहरु भएका छैनन् । प्रदेश प्रहरीका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेले प्रदेशका १४ वटै जिल्लाको सुरक्षा व्यवस्था मजवुत बनाइएका कारण कुनै पनि ठाउँमा त्यस्ता अप्रिय घटना हुन पाएका छैनन् । बन्दकर्ताको खोजीका लागि नेपाल र सशस्त्र प्रहरीको विशेष टोली परिचालित रहेको बताइएको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन भने चल्न सकेका छैनन् । नेपाल यातायात मजदुर संघका सह–सचिव भुपाल केसीले बन्दका कारण यातायात क्षेत्र प्रभावित बनेको जानकारी दिए । उनले बन्दको प्रभावको अवस्था हेरेर साँझबाट सवारी साधन चलाउने या नचलाउने भन्ने कुराको निर्णय हुने जानकारी दिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…