साफ महिला च्याम्पियनसिप: बिहीबार भुटान र बंगलादेश भिड्दै

माेरङ / विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा बिहीबार समूह ‘ए’ मा रहेका भुटान र बंगलादेशबीच प्रतिस्पर्धामा हुँदै छ । बंगलादेश चौथो संस्करणको उपविजेता टिम हो । भुटानले भने अहिलेसम्म कुनै पनि प्रतियोगितामा एक खेल समेत जितेको छैन । मंगलबार पनि भुटानले आयोजक मुलुक नेपालसँग ३–० गोल अन्तरको हार बेहोर्नु प¥यो । साफमा पराजय मात्रै बटुल्दै आएको भुटान जितको खोजीमा छ । बंगलादेशमा सन् २०१० देखि सुरु भएको साफको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको भुटानलाई हालसम्म पराजयको नतिजा मात्रै हाल लागेको छ । भुटानका दक्षिण कोरियाली प्रशिक्षक सङ जाइ लि ले पनि भविष्यमा राम्रो टिम निर्माण गर्न आफ्नो टोलीमा युवा खेलाडी समावेश गरेको बताउँछन् ।

उनले अनुभवका लागि भए पनि साफमा सहभागिता जनाइएको बताए । यद्यपी साफकै अरु खेलमा भने सुधारिएको प्रदर्शन गरिने उनले बताए । उनले भविष्य हेरेर राष्ट्रिय टोली निर्माण गरिएको बताए । साफमा भुटानले हालसम्म १२ खेलमा एकमा बराबरी गरेको छ भने अन्यमा हार बेहोरेको छ । भुटानले पहिलो साफमा श्रीलंकाविरुद्ध समान एक गोलको बराबरी खेलेको थियो ।

बंगलादेश पनि भुटानमाथि दबाव कायम गर्ने दाउमा छ । पहिलो साफबाटै अघि बढेको बंगलादेशले हालसम्म १५ खेल खेलेको छ । जसमा ७ मा जित, १ मा बराबरी र ७ मा हारको सामना गरेको छ । चौथो संस्करणमा उपविजेता बनेको बंगलादेशले त्यस अघिका दुईवटा खेलमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

व्यवस्थापन फितलो

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फुटबलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरे पनि व्यवस्थापन भने फितलो देखिएको छ ।फितलो व्यवस्थापनमै कारण आयोजकले बुधबारको खेलमा मालदिभ्सको राष्ट्रिय गीत बजाउन सकेन । खेल सुरु हुनु अघि प्रतिस्पर्धामा रहेका दुवै टिमको देशको राष्ट्रिय गीत बचाउनु पर्ने नियम छ । आयोजकले भने समयमा व्यवस्थापन गर्न नसक्दा मालदिभ्सको गीत बजाउन सकिएन ।

भारतको राष्ट्रिय गीत बजीसकेको लगभग ५ मिनेटपछि फितलो व्यवस्थापनकै कारण मालदिभ्सको गीत बजाउन नसकिएपछि प्लेयर बक्समा माइक्रोफोन लगेर मालदिभ्सका खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय गीत गाउन लगाइएको थियो । विराटनगरका अधिकांश सडक बन्ने क्रम रहेका छन् । सडक बन्द हुँदा प्रतियोगिता स्थल सहिद रंगशाला अगाडिबाट सर्वसाधारणलाई पदैल मात्रै हिँड्न दिएको थियो । प्रतियोगिता स्थल सहिद रंगाशाला अघि भने सडक पिच गरिएको छ । उक्त सकडमा साइकल, मोटसाइकल, सीटी सफारी लगायतका साना तथा ठूला सवारी साधनलाई आवतजावतमा रोक लगाइएको छ ।

सवारी साधन आवत जावतले प्रतियोगितामा कुनै असर नगर्ने भए पनि अनआश्यक रुपमा लगाइएको नियमका कारण सर्वसाधारणले हैरानी बेहोर्नु परिहेको र कष्टपूर्ण रुपमा यात्रा गर्नु परिरहेको गुनासो स्थानीय बासिन्दाको छ । राम्रो सडकमा सवारी साधन चलाएर यात्रा गर्न नपाउँदा अप्ठेरो बाटो हुँदै गन्तव्य सम्म जानु पर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । ‘अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण सुरक्षा व्यवस्था कडा पारिनु पर्छ,’ एक स्थानीयले भने, ‘तर सुरक्षा व्यवस्थाका नाममा बाटो नै प्रयोग गर्न नपाउने गरीको प्रतिबन्ध सर्वसाधारणमा लगाउन हुँदैन ।’ प्रतियोगिता हेर्ने दर्शकको उपस्थिति पनि न्यून रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया