भाषा र साहित्यको घाँटी रेट्न पाइन्छ पशुपति जी…?

विछट्टै भोक लागेको किन नहोस, पस्काएको खाना खान बोलाउँदा पस्काउनेले रुखो श्वरले वा बचन लगाएर बोलाईदियो भने बरु खाना खाइन्न । खाएपनि खुशी भएर खाइन्न । बोलाउन त खाना खानकै लागि बोलाउने हो तर बोलाउनेका तरिका हुन्छन् । कुरुपहरु सुन्दर देखिने एउटैमात्र उपाय मिठो र सान्दर्भिक बोलिवचन हो । कतिखेर, कहाँ, के विषयमा कसरी बोल्ने भन्ने कुरा त कमन सेन्सको कुरा हो ।

पशुपति शर्माले जुन कुरा बोलेका छन्, त्यो सबैले बोलेकै कुरा हुन् । नाजायज पनि होइनन् ती । नेपालको एक कित्ता र सोँचका मान्छेले अहिले त्यही कुरा बोल्छन् । तर शर्माले बोल्दा ठाडै बोलिदिए । भाँती पु¥याएनन् । तुच्छ बोले । जसले गर्दा शर्मा जी आफै सरम मान्न बाध्य हुनुप¥यो । चीज यही विग्रिएको हो । अर्को कुरा, शर्माजीले चिया अगाडी राखेर खैनी माड्दै, सब्जी मण्डीमा भिण्डी किन्दै वा पँधेरामा लुगा धुँदै बोलेका होइनन् । गीत लेखेर गाएका हुन् । भिडियो बनाएर पनि सार्वजनिक गरिसकेका हुन् । अथवा बोल्दा उनमा कोही व्यक्तिसँग बोलेको भन्दा हजारौँ गुणा बढि जिम्मेवारी थियो । यतिखेर उनले शब्दचयन र लवजमा ध्यान दिनुपर्नेथियो । जिम्मेवारीबोध गरेर बोल्नुपर्ने थियो । तर उनले ‘हल्का’ बोलिदिए । सारा दुनियाँका लागि बोल्दैछु भन्ने विर्सेर कुतकुती सहन नसके झैँ गरेर बोलिदिए । कमनसेन्स नै नभएको मान्छे झैँ बोलिदिए । गीत संगीतमा उचाई लिईसकेका मान्छे, आफ्नो सारा लोकप्रियता पानीमा खसेको अगुल्टो झैँ छ्वाईँय हुने गरी बोलिदिए । चिप्लिए ।

अझ अर्को कुरा, भाषा र साहित्यको के सारो हरिविजोग बनाएको ? लोकगीत भन्दैमा ठाडो न ठाडो, असहज, अमिल्दा शब्दहरु जबरजस्ती थुपारेर भाषा र साहित्यको हुर्मत लिन पाइन्छ ? गीत–संगीत साहित्य भन्दा पर कहिल्यै हुनसक्दैन । मिठास र रसका लागि साहित्यसँग घुलिनु अति जरुरी हुन्छ गीत संगीतलाई । अहिलेको सबैभन्दा ठुलो चिन्ताको विषय भनेकै गीतमा साहित्य कम र शब्दहरुको बगर ज्यादा हुन्छ । विकाउ, व्यवसायिक र भाइरल शब्दहरुको प्रतिस्पर्धा छ । ठिक यही चिन्ताग्रस्त समयमै पशुपति जीले संवेदनशील विषयमा ढाँड, खोल्सी जस्तो शब्द भरिएको गीत सार्वजनिक गरिदिए ।

थप अर्को कुरा, पशुपति जीलाई यी सब बोल्ने हक छ । तर कुनै सिष्टम, मान्यता वा आस्थालाई नै संस्थागत धावा बोल्ने गरी असभ्य र अपाच्य बोल्ने हक छैन । स्रष्टा गैरजिम्मेवार हुन सक्छ तर छाडा हुनसक्दैन । यस्तो हुने छुट छैन । यही कुरालाई नै सभ्य र शिष्ट भाषामा पनि त भन्न सकिन्थ्यो । गीत, संगीत र साहित्यको भाषामा भनेका भए पशुपति जी आफैको विजोग त हुदैनथ्यो ।

नभनि नहुने कुरा, राजनैतिक टिप्पणी गरिएको सिर्जना हालसम्म अवाञ्छित मानिएको छ । अझ सिर्जनामा राजनितिकरण त दुधमा झिँगाको प्रवेश जस्तै फोहर प्रवृत्ति हो । पशुपति शर्माको गीत बजेपछि यस्तै नै भईरहेको छ । तर यसको कारण पनि स्वयं शर्माजी हुन् । उनले राजनैतिक लोकगीत लेखेर गीतसंगीतलाई फोहर मात्र पारेनन्, सर्जक र सिर्जनालाई राजनितिकरण गर्ने बाटो समेत खोलिदिए । भलै गीत सार्वजनिक भएपछि समाज दुई कित्तामा बाँडिएको छ । हुनसक्छ धेरै संख्याको कित्ता पशुपतिजीको समर्थनमा होला । यो राजनैतिक चरित्र मात्र हो तर पशुपति जीको सफलता होइन । पशुपति जी त्यही चुकेका छन् जब उनले खुल्लमखुल्ला राजनिति छोएर समर्थनको आग्रहमा गीत लेखे । पशुपति जी एक स्रष्टाको रुपमा उभिन सकेनन् बरु बजारिया र भाइरल गिताङ्गे बन्न खोजे । गीतलाई गीत जस्तै गरी लेखिदिएको भए कुरै सकिन्थ्यो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…