प्रदेश १ का २७ बसपार्कको फोहोर संकलन , अव बसपार्कमा फोहोर गर्नेलाई जरिवाना गरिने

मोरङ / मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसी शनिबार विहान हातमा झाडु बोकेर विराटनगर बसपार्कमा निस्किए । बसपार्क सरसफाईमा निस्किएका उनी अन्य सरसफाईकर्मीसँगै फोहोर संकलनमा खटिए । बसपार्कमा थुप्रिएका फोहोर संकलनमा एक घण्टा समय खर्चिएका उनलाई अन्य प्रहरी र नागरिकले पनि साथ दिए । एसपी केसी मात्रै हैन बसपार्क सरसफाई गर्न र त्यहाँ थुप्रिएको फोहोर संकलन गर्न ठूलो संख्यामा प्रहरी र सर्वसाधारण भेला भएका थिए । उनीहरुले एक घण्टा लगाएर विराटनगर बसपार्कलाई सफा र फोहोर रहित बनाए ।
विराटनगर बसपार्कसहित प्रदेश १ का १४ वटै जिल्लाका बसपार्कहरु शनिबार सरसफाई गरिएको छ ।

सरसफाईसँगै त्यहाँ थुप्रिएका फोहोर संकलन गरेर व्यवस्थापन गर्न सम्बन्धीत स्थानीय तहको जिम्मा लगाइयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तह, नेपाल र ट्राफिक प्रहरी, विभिन्न संघ संस्था, सरसफाईसँग सम्बन्धित क्लबहरु र आमा समूहहरुको सक्रियतामा प्रदेश भरीका बसपार्क सरसफाई गरिएको हो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी रविराज पौडेलले मोरङका तीन, सुनसरीका तीन, झापाका चार, धनकुटाका तीन, इलामका तीन, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु समेतका जिल्लाका बसपार्क सफाई गर्दै त्यहाँ थुप्रिएका फोहोरहरु संकलन गरेर व्यवस्थापन गर्न स्थानीय तहलाई जिम्मा लगाइएको जानकारी दिए ।

उनका अनुसार प्रदेशका १४ वटा जिल्लाका २७ बसपार्कबाट ४० ट्रयाक्टर फोहोर संकलन भएको थियो । फोहोर संकलन गर्ने बकेट र ट्रयाक्टर ट्राफिक प्रहरीले व्यवस्था गरेको हो । पौडेलले फोहोर संकलन गर्न चाहिने झाडु, माक्स, ग्लोब्स लगायतका सामान ट्राफिकले जुटाएको थियो । भिन्दा भिन्दै बसपार्कमा गरेर पाँच हजार बढीको उपस्थितीपछि सरसफाई गरेर बसपार्कमा फोहोर राख्ने ड्स्टविनको व्यवस्था गरिएको छ । यात्रु र सवारी साधनको चाप अत्यधिक हुने सबै बसपार्कहरुमा जथाभावी फोहोर नफ्याँक्नका लागि अनुरोध गरिएका सन्देशमुलक सामग्रीहरु समेत राखिएको एसपी पौडेलले बताए । उनले बसपार्कमा जथाभावी फोहोर फ्याँक्नेलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धीत स्थानीय तहहरुले जरिवाना तोक्ने तयारी समेत गरिरहेको बताए ।

बसपार्कहरुमा जथाभावी फोहार फ्याँक्नेलाई जरिवाना गरिने नियम लागू गरिएको छ । जाथाभावी फ्याँकिने फोहोरले दुर्गन्ध बढाउनुका साथै वातावरणमामा समेत प्रतिकुल असर पर्ने भएका कारण फोहोर गर्नेलाई कारवाही स्वरुप जरिवाना गर्ने नियम लगाइएको हो । स्थानीय तहले त्यसको कार्यान्वायन र अनुगमनको जिम्मेवारी ट्राफिक प्रहरीलाई दिने निर्णय भएको छ । सवारीका साधन र यात्रुहरुको अत्यधिक चाप रहने बसपार्क सफा राख्नु पर्छ भन्ने उदेश्यले फोहोर फ्याल्नेलाई जरिवानाको नियम लगाइएको एसपी पौडेलले बताए । सार्वजनिक स्थलहरु सफा राख्नु पर्छ र त्यहाँ फोहोर गर्न हुँदैन भन्ने उदेश्यले सकारात्मक सन्देश सबैलाई दिइएको उनले बताए । सवारी साधनका यात्रु, यातायात मजदुर, पैदल यात्रु र आसपासमा सञ्चालन गरिएका पसलहरुको लापरवाहीका कारण बसपार्क फोहोर थुप्रिने थलो बन्दै गएपछि कडाई थाल्नु परेको जानकारी पौडेलले दिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया