मोरङ पथरीशनिश्चरे राजमार्ग उत्तरको जंगलमा भेटियो महिलाको शव

माेरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका –१० स्थित भालुगौंडा जंगलमा शुक्रबार दिउँसो एक महिलाको शव फेला परेको छ । पहाडे समुदायको जस्तो देखिने अन्दाजी ५०÷५५ वर्षीय महिलाको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईका अनुसार पूर्वपश्चिम राजमार्गबाट करिव ८ सय मिटर उत्तरको जंगलमा शव फेला परेको हो । पानी पर्दा पहिरो गएर धसिएको जस्तो देखिने ठाउँमा शव भेटिएका कारण गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको बजगाईले बताए । उनका अनुसार दिउँसो घाँस दाउरा गर्न गएका स्थानीय बासिन्दाले महिलाको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

शव उठाउँदा किटनासक विषादीको गन्ध आए पनि घटनास्थलमा कुनै विषादीका बट्दाहरु फेला नपरेको प्रहरीले जनाएको छ । विषादी सेवन गराएर महिलाको हत्या गरिएको हुन सक्ने आशंका प्रहरीको छ । महिलाको शरीरमा कुनै चोटपटक नभेटिएको जनाइएको छ । ‘बाहिर हेर्दा शरीरका कुनै पनि अंगमा चोटपटक देखिंदैन,’ प्रनि बजगाईले भने, ‘ती महिला को हुन् र कहाँबाट त्यहाँ पुगिन् भन्ने पनि खुल्न सकेको छैन ।’ उनले महिलाको हत्या हो की हैन भनेर यकिन गर्न नसकिएको बताए ।

साथबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिले सञ्चालन गरेको ८०८६ नम्बरको बसको टिकट फेला परेको छ । बसको अल्फाबेट भने टिकटमा नखुलाइएको प्रहरीले जनाएको छ । टिकटमा नाम नलेखेको र काठमाडौं मात्रै लेखेका कारण नाम र ठेगाना पनि स्पष्ट हुन नसकेको जनाइएको छ । शवलाई पोष्टमार्टमका लागि मोरङको उर्लाबारस्थित मंगलबारे अस्पतालमा लगिएको र पोष्टमार्टमपछि सबै कुरा खुल्ने जानकारी बजगाईले दिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…