स्वस्थानी व्रतकथा भाग – २५ : अप्सराहरूले गरे श्री स्वस्थानीको व्रत || मातालाई देख्ने बित्तिकै १ शेयर गरौ

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! राज्याभिषेकको केही दिनपछि एक दिन राजाले आफ्नी आमासित भने – ‘हे माताजी ! ईश्वरीको कृपाद्वारा हामी यसबेला दुःखी छैनौं, सबै थोकले परिपूर्ण छौं । यस्ता अवस्थामा हामीले धर्म र कर्तव्य बिर्सियौं भने ठूलो अकल्याण होला । तसर्थ हे आमा ! मलाई यस्तो लागेको छ कि हामीले आफ्ना राज्यमा भएका सदाचारी, सत्कर्मी र पूर्वजहरूले खनिदिएका बाटामा हिंडेका सबै सज्जन, लाटालङ्गडा, अपाङ्ग र दुःखीहरूलाई बोलाई राम्रा राम्रा व्यञ्जन र मिष्ठान्नसहितको भोजनले तृप्त गराऊँ । सज्जन ब्राह्मणहरूलाई दक्षिणा पनि दिऊँ ।

जसलाई जो कुराले दुःख कष्ट छ, त्यो हटाउने उपाय गरौं । आमा ! यो जन्ममा गरेका दानधर्मले अर्को जन्मलाई सहायता पुग्छ । पुत्र नवराजका कुरा सुनी माता गोमाले भनिन् – ‘पुत्र ! यी कुरा कल्याणकारी हुन् । तिम्रो चित्त सधै धर्ममा मात्र लागोस् । निमन्त्रणा गर्दा चन्द्रज्योति नगरमा भएका तिम्रा साथीहरूका साथमा सनातनी ब्राह्मण र अरु सज्जनसहित त्यहाँका दुःखीदरिद्रीलाई पनि बोलाउनु पर्छ । तिम्री पत्नी चन्द्रावती माइतमा छिन्, उनलाई पनि लिन पठाउनुपर्छ । यो महान् भोजमा वेद विद्यामा पारङ्गत भएका कुनै पनि ब्राह्मण छोडिनु हुँदैन ।’
आमाको कुरा सुनी राजा नवराजले माताको आज्ञा शिरोपर गरी मन्त्रीलाई बोलाई भने – ‘हे मन्त्री ! हाम्रा राज्यमा जति ब्राह्मणहरू छन्, ती सबैलाई बोलाएर भोजन गराउनु पर्छ अनि सबै सज्जन, अपाङ्ग र दुःखीसमेतलाई खुवाउनु, पियाउनु र उनीहरूका कष्ट हटाई दिनुपर्छ । यसकारण ती सबैलाई निमन्त्रणा गर्न पठाऊ र चाहिने सामाग्री तैयार गर ।’ उनले राजमाता गोमाले अह्राएअनुसार चन्द्रज्योति नगरका आफ्ना साथीसंगी र त्यहाँका सनातनी ब्राह्मण, वरुणपुरमा भएका आफ्ना सासू र ससूरा सहित आफ्नी पत्नी चन्द्रावतीलाई समेत निमन्त्रणा दिनुका साथै लिई आउनू भनी हुकुम गरे ।

मन्त्रीले पनि हुकुम बमोजिम सबै काम पूरा गरे । चन्द्रावतीलाई लिन फौजका साथ डोलेहरूलाई समेत पठाए । डोलेहरूले वरुणपुरका अग्निस्वामीका घरमा पुगी आफ्नो परिचय दिए र चन्द्रावतीका पति नवराज लावण्य देशका राजा भएका र रानी चन्द्रावतीलाई लिन भनी आएका छौं भनी अग्निस्वामीसित अनुरोध गरे । चन्द्रावतीले पनि यी सबै कुरा सुनिन् र आश्चर्य मान्दै डोलेहरूसित सोधिन– ‘हे डोले हो ! नवराज कसरी राजा हुन गए ?’ त्यो मलाई भन । यी कुराहरू सुनी डोलेहरूले नवराजलाई हात्तीले सुवर्ण कलशका जलले अभिषेक गरी जयमाला पहिर्याई राजा रोजेको सबै विवरण सुनाए र भने – ‘ती हाम्री महारानी चन्द्रावती कहाँ होइबक्सिन्छ ? तिमीले गएर छिटो यी कुरा भनिदेऊ । नगएमा अनि ढिलो भएमा राजाबाट रिसानी हुनेछ ।’

डोलेहरूका यस्ता कुरा सुनी चन्द्रावती मनले अति हर्ष मान्दै ‘अग्नि स्वामीकी छोरी नवराजकी पत्नी,चन्द्रावती नामकी ब्राह्मणी म नै हुँ’ भनिन् । डोलेहरूले पनि खुसी मान्दै हतारहतार प्रणाम गर्दै ‘हे महारानी ! छिटै सवारी होस्, सरकारको यस्तै हुकुम छ । अब विलम्ब गर्नु ठीक छैन । वहाँ लावण्य देशमा राजाबाट वृहत भोजको आयोजना गरिबक्सिएको छ । त्यसका निम्ति तपाईंका बाबा/महतारीलाई पनि निमन्त्रणा दिनु भन्ने हुकुम छ । वहाँहरू चाहिं तीन/चार दिनपछि यहाँबाट हिड्दा पनि उक्त ब्राह्मणभोजनमा सरिक हुन भ्याउनु हुन्छ । हामीले वहाँहरूलाई चिनेको नहुँदा हजुरबाट यो खबर आफ्ना माता/पितामा पुर्याई बक्सियोस्’ भनी बिन्ती गरे ।

त्यसपछि चन्द्रावतीले बाबा/महतारी छेउ पुगी भएभरका वृत्तान्त सुनाईन् र आज्ञा पाए म चाहिं आजै जाने थिएँ भनी आज्ञा मागिन् । आफ्नी छोरी चन्द्रावतीबाट यस्तो राम्रो कुरा सुन्न पाएका अग्निस्वामी र उनकी पत्नीलाई अगाध हर्षले छोप्यो । छोरीका शिरमा आफ्ना दुबै हातले सुम्सुम्याउँदै ‘धन्य हाम्रा ज्वाईं धन्य हाम्री छोरीको भाग्य, धन्य हाम्रो जन्म’ भन्दै दुबै जनाले हर्षाश्रु झारे । त्यसपछि छोरीलाई राम्राराम्रा वस्त्रालङ्कार पहिर्याई ‘हे पुत्री ! ज्वाईंले लिन पठाउनु भएको रहेछ, अब विलम्ब गर्नु हुँदैन, हाम्री छोरी भएर तिमीले आज रानी हुन पाउनु हाम्रो पनि कोख र काख धन्य भयो, अब जाऊ भनी विदा दिए ।

रानी चन्द्रावती पनि माता/पितालाई प्रणाम गरी, आफ्ना साथीसंगिनी र छिमेकीहरूसित विदा लिई, पालकीमा चढी लावण्य देशको बाटो लागिन् । चन्द्रावतीको विदामा कतिले आँसु झारे, तर रिस र डाह गर्नेहरूले भने – ‘आफ्ना पुरुष परदेश गएको मौका छोपी दुःख पाएकी सासूलाई एक्लै छोडी माइतमा बस्ने अपराधिनी पनि महारानी हुन पुगी’ भनी मनमनमा ईर्ष्या लिए । चन्द्रावतीलाई लिएर गएका रक्षक सहित डोलेहरू एउटा ठूलो वनको बाटो लिई लावण्य देशको यात्रामा अघि बढ्दै गइरहेका थिए । उक्त वनमा मृगका भालेपोथी, खरायो, सिंह, वानर, स्याल, कालीगाई आदि अनेक किसिमका वनचर र पशुहरू, त्यस्तै भालेपोथी जोडीजोडी भएका मयुर, मुनाल, जुरेली, ढुकुर आदि चराचुरुङ्गीहरू, ठूलाठूला पोखरीमा खेलिरहेका राजहंस, चखेवा, जलेवा, मलेवाहरू र पलाँस, शिरीष, जाई, जुही, सिमल, गुलमोहर आदिका ढकमक्क फुलेका वृक्षहरूको शोभा प्राप्त भएको थियो, त्यसरी त्यो वनलाई शोभा दिइरहेका नाना वृक्षमा नाना फलहरू भरिभराउ हुनाले तिनका हाँगा लचक्क लच्किरहेका देखिन्थे । त्यो ठाउँमा स्वर्गका केही अप्सराहरूले श्री स्वस्थानी परमेश्वरीको पूजा गरिरहेको दृश्य डोलेहरूले देखे ।

वनको मध्यभागमा निर्जन ठाउँमा यसरी आफूले कहिल्यै नदेखेका अपूर्व सुन्दरीहरूले पूजा गरेको देख्दा डोलेहरू अचम्मित भए र चन्द्रावतीसित बिन्ती गरी त्यहाँ जाने अनुमति माग्दै भने – ‘हे महारानी ! हामीलाई भोक लाग्यो, त्यहाँ पर निकैवटी सुन्दर स्त्रीहरू भेला भएर केही गरिरहेका देखिन्छन् । हामीसँग भएको खाजासामल पनि सिद्धियो, त्यसैले तिनीहरूसँग केही खानेकुरा छ कि सोधखोज गर्दछौं र केही रहेछ भने मागेर खाई आउने छौं ।’ डोलेहरूका कुरा सुनी चन्द्रावतीले जाने आज्ञा दिईन् ।

डोलेहरूले चन्द्रावती चढेको डोली (म्याना) लाई जतनसाथ भुइँमा राखे र अप्सराहरू भए ठाउँमा पुगी अप्सराहरूलाई सोध्दा भए – ‘हे अपूर्व सुन्दरी हो ! तिमीहरू कौ हो ? कहाँबाट आएका हौ र यहाँ के गर्न लागेका छौ ?’ यस्ता प्रश्न सुनेर अप्सराहरूले – ‘हे मनुष्य हो ! हामी स्वर्गका अप्सरा हौं, हामी पृथ्वीतलको यो शाली नदीमा वर्षेनी अएर श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी माघ महिनाभरि व्रत लिने गर्दछौं, यी परमेश्वरी ब्रह्मा, विष्णु र शिव सबैकी आराध्या देवी हुन्, यहाँ प्रतिमाभित्र श्री स्वस्थानी परमेश्वरी छिन् र प्राण प्रतिष्ठा गरी उनै ईश्वरीको पूजा गरिरहेका छौं’ भनी बताए ।

अप्सराहरूका कुरा सुनेर डोलेहरूका हृदयमा पनि श्री स्वस्थानी परमेश्वरीप्रति श्रद्धाभक्ति उत्पन्न भयो र उनीहरूले एकस्वरमा ‘हामी पनि तपाईंहरूका साथमा पूजा गर्छौं, तर हामीसित कुनै सामाग्री भने छैन, जसो गरेर हुन्छ हामीलाई पनि सहभागी गराउनुहोस्’ भनी अप्सरासित आग्रह गरे । अप्सराहरू पनि आफ्नै संसर्गमा पूजा गराउन राजी भए । डोलेहरूले पनि आफूहरूसँग पाद्य, अर्घ्य, नैवेद्यादि पूजासामाग्री नभए पनि उनीहरूले मालिकहरूलाई रिझाई सदादिन भारी बोकी, मिहिनेत गरी तथा डोली बोकी पाएको ज्याला र कमाइमध्येको द्रव्य भेटीका रूपमा श्री स्वस्थानी परमेश्वरीमा अर्पण गरिदिनू भनी अप्सराहरूलाई दिए । त्यसपछि डोलेहरूका साथ लागी जोजानेको विधिले श्री स्वस्थानी परमेश्वरीको पूजासम्पन्न गरी अन्त्यमा समस्त अप्सराहरूले पूर्ण आस्थाका साथमा एक स्वरले स्तुति गर्दा भए – नमस्ते देवदेवेशि स्वस्थानीपरमेश्वरि ॥

सर्वकामप्रदे सत्ये जरामरणवर्जिते ॥१॥
शक्रादयोऽपि देवास्ते परमार्थेन नो विदुः ॥
स्वरूपवर्णनं कर्तुं किं पुनर्देवि मानुषी ॥२॥
यस्याः सर्वं महीव्योमजलाग्निपवनात्मकम् ॥
ब्रह्माण्डमङ्गसम्भूतं सदेवासुरमानुषम् ॥३॥
न तस्या जन्मनि ब्रह्मा न नाशाय महेश्वरः ॥
पालनाय न गोविन्दस्तां त्वां स्तोष्याम्यहं कथम् ॥४॥
तथाष्टगुणमैश्वर्यं यस्याः स्वाभाविकं परम् ॥
निरस्तातिशयं लोके स्पृहणीयतमं सदा ॥५॥
यस्या रूपाण्यनेकानि सम्यग्ध्यानपरायणाः ॥
ध्यायन्ति मुनयो भक्त्या स्वस्थानीं जगदीश्वरीम् ॥६॥
हृदि सङ्कल्प्य यद्रूपं ध्यानेनार्चन्ति योगिनः ॥
सम्यग्भावात्मकैः पुष्पैर्मोक्षाय कृत निश्चयाः ॥
तां देवीं मानुषी भूत्वा कथं स्तौमि महेश्वरीम् ॥७॥
पूजा सकेर प्रसाद झिकी अप्सराहरूले डोलेहरूलाई दिंदै भने– ‘हे भारवाह ! जुन मनुष्यले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ला, कथा सुन्ला, अथवा तिनका महिमाले युक्त ग्रन्थहरू घरमा राख्ला, त्यसको सम्पूर्ण पाप, ताप, दुःखदारिद्र्य, रोग, शोक नाश हुँदै गएर यो लोकमा सुख, शान्ति, सन्तति, सम्पत्ति, दीर्घायुष्य प्राप्त गरी अन्त्यकालमा दिव्य रूप लिई कैलाशमा गएर बस्न पाउला ।

बाटो लागेका बटुवा भएर पनि आज तिमीहरूले माता परमेश्वरीप्रति श्रद्धा र आस्था प्रकट गर्न पायौ, तिमीहरूले पूर्वजन्ममा पक्का पनि सुकर्म गरेका रहेछौ, तिमीहरू धन्य रहेछौ’ भनी ती अप्सराहरू स्वर्गलोकमा जाँदा भए । डोलेहरू पनि आआफ्ना हातमा प्रसाद बोकी त्यहाँबाट डोली (म्याना) बिसाएका ठाउँमा रानी चन्द्रावतीका सामु पुगेर हाजिर भई प्रणाम गरे ।
इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां अप्सराकृत-श्रीस्वस्थानी-व्रतवर्णनं नाम षड्विंशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Purbeli TV

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / वि.सं. २०७६ श्रावण ३२ गते शनिबार

आजको राशिफल / २०७६ श्रावण २६ गते आइतबार

आजको राशिफल / २०७६ श्रावण १९ गते आइतबार

आजको  राशिफल / वि.सं. २०७६ श्रावण १८ गते शनिबार

आजको राशिफल / २०७६ श्रावण ११ गते शनिबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख ३१ गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २८ गते शनिबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २६ गते बिहीबार

आजको राशिफल  / वि.सं. २०७६ वैशाख २५ गते बुधबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २३ गते सोमबार

तपाईको प्रतिक्रिया

Loading…