पीपलबोटेको रजत जयन्तीमा निरौला बन्धुको साथ

इटहरी / आकाशको छानो र धर्तीको डेक्स बेञ्चमा सञ्चालित पीपलबोटे खुल्ला विद्यालयलाई निरौला बन्धु सेवा समाज इटहरीले सहयोग गरेको छ । बिना राज्यको लगानी, बिना अभिभावको लगानी, आफ्नै मानो खाएर करिब अढाई दशकदेखि निरन्तर सक्रिय एक्ला वृहस्पतीका रूपमा परिचित चन्द्र भण्डारी शिक्षाको गुणस्तरीय वेर्ना उत्पादनमा क्रियाशिल नाम हो । पातलो अग्लो शरीर, लामा खुट्टा, सधैं एउटै पहिरनमा देखिने भण्डारी इटहरी आसपासमा बनिबुतो गरिखाने बर्गका बालबालिकालाई कखरादेखि विभिन्न विषयका पाठ पढाइरहन्छन् । शनिबार बाहेक हरेक दिन विहानको नित्यकर्म पश्चात ७ बजेदेखि ९ बजेसम्म झरीबादल, हुरीबतास, घामको पर्वाह नगरी असल नागरिक बनाउने कारखानाका ‘प्रोडक्सन म्यानेजर’ लामो समयदेखि निरन्तर सक्रिय छन् ।

नीजि तथा सामुदायिक विद्यालयका गरी ४५ जना विद्यार्थी धर्तीको चिसो विछ्यौनामा हाल अध्ययनरत छन् । विना हलचल उभिरहने पीपल बोटको आडैमुनी । कुनै दाताले दिएका तर जीर्ण अवस्थाका काला फर्म माघको चिसो शीतसंग पांैठेजोरी खेल्दै गरेको भेटिन्छ । साथै समुन्द्र भेट्ने आशमा हतारिएर दौडिरहेको ट्याङ्ग्रा खोलाको चिसो सिरेटोको झोक्काले चस्स चस्स विद्यार्थीमात्र लाई नभएर शिक्षक भण्डारीलाई पनि घोच्छ । त्यसको त हुनेखाने सम्पन्न वर्गको भएर उनले यो पेशा रोजेका होइनन् । सामान्य बनिबुतोबाट गुजारा टार्ने भण्डारीका आङ ढाक्न कसैले पनि एकसुतो धागोले सम्झेको उदाहरण छैन । केवल सम्मानका पोका भने प्रसस्तै छन् ।

श्रीमती र २ छोराका साथले उनको पारिवारिक गुँड भरिभराउ छ । श्रीमती सावित्रा भण्डारी इटहरी नोवेल एकेडेमीमा शिक्षण पेशामै कार्यरत छिन् । छोरा इन्टरनेशनल एकेडेमीमा बीआईटीमा अध्ययनरत छन् । कनिष्ठ सुपुत्र उत्सव भने नोवेल एकेडेमीमा कक्षा १०मा अध्ययनरत छन् । चरम गरिवीबाट पिल्सिएका परिवारका बच्चालाई ज्ञानको ज्योती छर्ने विद्यालयमा अढाई दशक वित्दासम्म एउटा बोर्ड समेत छैन । विधिवत रूपमा विद्यालयको रूपमा स्थापित भएको श्री पीपलबोटे खुल्ला विद्यालयलाई इटहरी घर भई चावहिल काठमाण्डौमा बस्ने शारदाप्रसाद निरौलाले रजत जयन्तीको अवसर पारेर विद्यालयको बोर्ड हस्तान्तरण गरेका छन् । त्यसका साथै निरौला बन्धु सेवा समाज इटहरीले पीपलबोटेमा अध्ययनरत ५० जना बालबालिकालाई ५० थान ट्रयाकसुट वितरण गरेको छ ।

सोमबार विहान एक कार्यक्रमका बीच अध्यक्ष भोलाप्रसाद निरौला ,संस्थापक अध्यक्ष देवु निरौला, पूर्व अध्यक्षहरू रामबहादुर निरौला ,रमेशचन्द्र निरौला,प्रकाश निरौला, बालकृष्ण निरौला, पूर्व उपाध्यक्ष लेखनाथ (चण्डिका) निरौला, उपाध्यक्ष गणेशप्रसाद निरौला, सल्लाहाकार रामप्रसाद निरौला र रीता निरौलाले संयुक्त रूपमा छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको सचिव युगप्रीय निरौलाले बताए ।

सोमबार नै रजत जयन्ती मनाएका पीपलबोटेका शिक्षक चन्द्र भण्डारीले व्यक्तिगत तर्फबाट विद्यार्थीलाई कपी र डटपेन वितरण गरे । बिना भिक्षा रुखमुनीको शैक्षिक बास कहिलेसम्म ? भन्दा, ‘ज्यानले सकुञ्जेल’ भन्ने सहज उत्तरले प्रश्नको पूर्णविराम लगाए । थप योजना के त भन्दा ? उनको कामलाई निरन्तरता दिन इटहरी क्षेत्रमा प्राध्यापन पेशामा सक्रिय शिक्षासेवी जुवामा नारिने सोचमा रहेको बताए । पीपलबोटे खुल्ला विद्यालयको रिक्त दरवन्दीमा गाह्रा प्रश्नको सहज उत्तर दिएरमात्र पास नहुने भण्डारीले बताए । त्यसको लागि कठिन प्रयोगात्मक परीक्षामा समेत सहज उत्तिर्ण हुने व्यक्ति नियुक्ति गर्न चाहेको बताए ।

त्यसको लागि कुनै लालच नगर्ने आफ्नै घरले आर्जेको मानो खाने र चुहिने छानो आफैंले टाल्ने हिम्मतवाला व्यक्तिको खाँचो रहेको समेत बताए । श्रीमद्भागवत गीतामा भनिएझैं मुक्तिको बाटो रुखमुनीको बास, भिक्षाको गाँस र लगौटीको पहिरन त सम्भव नहोला । तर, स्वार्थ र लोभलाई कुनामा थन्क्याएर राख्दा त समृद्ध नेपालको परिकल्पनामा चन्द्र भण्डारी मुख्य सहायक पात्र बन्न सक्छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…