स्वस्थानी व्रतकथा, भाग – २४ (हात्तीले छान्यो देशको नयाँ राजा) ! सक्दो सेर गर्नुहोस !

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! उता लावण्य देशका मन्त्रीहरू, राजगुरुहरू र देशवासी सबै प्रजाहरू मिलेर सुवर्णको कलश र फूलको माला हात्तीलाई दिई मङ्गल बाजाका साथ राजा खोज्न भनी हात्तीका अघिपछि ठूलो लर्को लिई राजदरबार बाहिर निस्किए । नाना श्रृङ्गारले सुसज्जित भएको तथा आफ्ना सुँड र दाह्रामा सुनको कलश र फूलको माला लिएको हात्तीका अघिपछि लोकहरूपनि आफू स्वयं नै राजा भइन्छ कि भन्ने आशा लिई राम्राराम्रा वस्त्रालङ्कार पहिरी हिंड्न लागे ।

त्यसै बेला शिव शर्मा र गोमाका पुत्र नवराज पनि त्यहाँ पुगेर हात्ती आउँदै गरेको देखेर एउटा दोबाटोका एउटा किनारामा लाम लाग्नेहरूका छेउमा बसे । ठीक त्यसै मौकामा हरिहर हात्तीमा प्रवेश गर्नुभयो र त्यो हात्तीले अन्यत्र कतै नहेरिकन सरासर गएर नवराजका गलामा फूलको माला पहिर्याई सुवर्ण कलशका जलले अभिषेक गर्दो भयो । यो देखी ‘लौ यो हात्ती बहुलायो, यहाँ कोही क्षत्रिय नै नभए जस्तो सरासर गएर ब्राह्मणका गलामा माला लगाई दियो’ भनी जनसमूहमा ठूलो कोलाहल भयो । कोही भन्न लागे ‘कसरी हात्ती बहुलाउँथ्यो, तिमीहरू पो बहुलायौ, बोलीमात्र छैन, अरु थोकमा मानिसभन्दा हात्ती ज्ञानी हुन्छ, ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र जो भएपनि उसका प्रारब्धले, सत्कर्मले, कुलका धर्मले, माता/पिताका पुण्यले राजामा वरण भएको हो । विनानारायणका अंशले, विनाईश्वरका कृपाले कोही राजा हुन्छु भन्दैमा राजा भई हाल्छ र ? जो राजा भयो आफना प्रारब्ध पुण्यका प्रतापले भयो, सब चुप लागौं भनेर सम्झाए । उता हात्तीले माला लगाएर आफना सुँडले अभिषेक गरिदिएपछि त्यस देशका मन्त्री र भाइभारदारहरू अघि सरी नवराजलाई विभिन्न वस्त्रालङ्कारले सजाई पालकीमा राखी दरबारमा लिइगए र त्यस देशकी राजकुमारी लावण्यवती कन्याका साथ विधिपूर्वक विवाह गरी राजा बनाए ।

त्यसपछि गुरुपुरोहित र मन्त्रीले भने हे महाराज ! राज्याभिषेकको शुभ दिन ठहर्याई राज्याभिषेक ग्रहण गरिबक्सियोस् । सामाग्रीहरू सबै नै जु्टाई ठीक गरेका छौं । यी कुरा सुनी नवराजले भने – ‘हे मन्त्रीगण ! हे गुरुवृन्द ! हे पुरोहितवर्ग ! मेरी माताले आशीर्वाद र अभिषेक सुरुमा नदिई अरुको अभिषेक म कसरी लिऊँ ? चन्द्रज्योति नगरको सहरदेखि बाहिर एउटा खरले छाएको सानो घर छ, त्यो घरमा गोमा नाऊँ गरेकी ब्राह्मणी बस्नुहुन्छ । उहाँ नै मेरी माता हुनुहुन्छ ।

चाँडो गरी लिएर आउने व्यवस्था गरिदिनुहोस् ।’ यस्तो नवनियुक्त राजा नवराजको हुकुम सुनी मन्त्रीले आफैं गएर राजमातालाई ल्याउने निधो गरे र पालकी,नाना वस्त्र र अलङ्कार,डोले र फौजसमेत साथ लिई चन्द्रज्योति नगरका निम्ति बाटो लागे । सोध्दैखोज्दै त्यहाँ पुगेर गोमा ब्राह्मणीलाई भेटेर प्रणाम गरी मन्त्रीले बिन्ती गरे ‘हे राजमाता ! हजुरका सुपुत्र नजराज लावण्य देशका राजा होई बक्स्यो । म त्यो देशको मन्त्री हुँ । महाराजबाट हजुरलाई वहाँ बोलाई बक्सिएकाले लिन आएको हुँ । यी वस्त्र र अलङ्कार ल्याएको छु । पहिरेर जानका निम्ति तैयार भई बक्सियोस् ।’ मन्त्रीका कुरा सुनी हर्षले रमाएकी गोमा ब्राह्मणी पनि लुगा, गरगहना पहिरी जान ठीक परिन् । मन्त्रीले त्यसपछि राजमातालाई पालकीमा चढाई फौजमा लावालस्कर अघिपछि पारी भरिया, सुसारेसहित लावण्य देशतिर लिई गए । यो कुरा चन्द्रज्योति नगरमा सबैतिर फैलियो गोमालाई र उनलाई लिन आएका मानिसहरूलाई हेर्न त्यो नगरका सारा नरनारीको ओइरो लाग्यो ।

आफ्नाआफ्ना काम छाडेर हत्तपत्त गरी दुगुरेर आउँदा कसैका केश खस्किएका, कसैले आधामात्र बस्त्र लगाएका, कोही खाँदै गरेको भोजन छोडी आएका, कसैले बच्चाहरू रुवाउँदै र टाउको ठोक्काउदै गरेका देखिन थाले । अघिपछि फौज र माझमा पालकीभित्र भएकी गोमा ब्राह्मणीलाई देखी मानिसहरू आपसमा अनेक कुरा गर्न लागे – ‘गोमाले सधैं धागो कातेर अर्काको ढिकीजाँतो गरी दुःखले बालक छोरो हुर्काएकी थिईन्, जस्तै दुःखका घडीमा पनि धैर्य लिई, कसैलाई वचनले नबिझाई, सत्कर्ममा दृढ रही आजसम्म अनेक दुःख बेहोरेर आज राजमाता हु गई पालकीमा चढी छोरा राजा भएको देख्न पुग्ने भईन् ‘ भनी सबैले एक अर्कामा भन्न लागे ।

अब उता गोमा ब्राह्मणी पनि विस्तारविस्तार लावण्य देशको नजिक पुग्न लागिन् । आफ्नी आमा आई पुग्न लागेको खबर पाई राजा नवराजले हात्ती, घोडा र अरु थप फौज साथमा लिई आमाको स्वागतका निम्ति केही वरसम्म लिन भनी आए । त्यस बखतमा नाना मङ्गलवाद्य, गीत, नृत्य आदिका साथ लावा, अबीर र पुष्प वर्षाका साथ माताजीलाई दरबारमा पुर्याई साष्टाङ्ग दण्डवत् गरी भने – ‘हे राजमाता ! श्री स्वस्थानी परमेश्वरीको कृपा, हजुरका पुण्यप्रताप र भगवान् हरिहरका कृपाले आज म लावण्य देशको राजा भएँ ।

धन्य मेरी आमाको तपस्या र सत्कर्म ! हजुरजस्तै पुण्यकीर्ति माताका पवित्र कोखमा वास गरेका छोराछोरीको भाग्य अवश्य नै महान् हुनेछ । माता ! अब हजुरका हातले मलाई राजगद्दीमा आसीन गराई वेदका मन्त्रले पवित्र भएका कलश जलद्वारा मेरो राज्याभिषेक होस् ।’ छोराको वचनलाई सुनी श्री स्वस्थानी परमेश्वरीको स्वरूपलाई हृदयमा लिई गुरुपुरोहितद्वारा ठहर्याइएका सुदिन र शुभ साइतमा सुवर्णमय सिंहासनमा बसाली राजारानी नवराज र लावण्यवतीलाई आशीर्वचनका साथमा गोमाले विधिपूर्वक राज्याभिषेक गरिदिईन् र आफ्नै हातले डोर्याएर राजगद्दीमा लगी बसालिन् । त्यसपछि राजारानीले गुरुपुरोहितलाई भोजन दक्षिणा र गरिबगुरुवालाई अन्नवस्त्रादिद्वारा सन्तुष्ट गराई सारा राज्यभरिका असहाय र अनाथहरूमा समेत अन्नवस्त्रादि बाँडी देशभर उत्सव मनाउने हुकुम गर्दा भए ।’

इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां नवराजराज्याभिषेक-वर्णनं नाम पञ्चविंशोऽध्यायः ।।
ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल  / वि.सं. २०७६ वैशाख ०६ गते शुक्रबार

आजको राशिफल  / वि.सं. २०७६ वैशाख ०५ गते बिहीबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख ०४ गते बुधबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख ०३ गते मङ्गलबार

यस्ताे छ नयाँ बर्ष २०७६ वैशाख ०१ गते आइतबारकाे राशिफल

आजको राशिफल  / वि.सं. २०७५ चैत्र ३० गते शनिबार

आजको राशिफल / वि.सं  २०७५ चैत्र २९ गते शुक्रबार

आजको राशिफल / वि.सं. २०७५ चैत्र २८ गते बिहीबार

आजको राशिफल / वि.सं. २०७५ चैत्र २५ गते सोमबार

आजको राशिफल / वि.सं. २०७५ चैत्र २२ गते शुक्रबार

तपाईको प्रतिक्रिया