“अब म लुक्न चाहन्नँ,” सल्मान रुस्दी


पेरिस / इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ ।

“म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीलाई सुनाउनुभयो । यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक “दी सटानिक भर्सेज” इस्लाम विरोधी भएको जनाउँदै रुस्दीको हत्या गर्न “आदेश (फतवा)” जारी गर्नुभएको थियो । तेहरानले हरेक वर्ष यो फतवा जारी गरिरह्यो ।

रविन्द्रनाथ टेगोर पछिका सर्वाधिक सफल भारतीय लेखक मानिएका रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनुन् भनेर नक्कली नाम राख्नुभएको थियो । उहाँलाई प्रहरीले निरन्तर सुरक्षा दिएको थियो ।

“म त्यतिखेर ४१ वर्षको थिएँ, अहिले ७१ वर्ष पुगिसकें । अहिले परिस्थिति ठिकै देख्छु,” उहाँले गत सेप्टेम्बरमा भन्नुभएको थियो । “हामी निकै तिब्र रुपमा परिवर्तन भइरहेको विश्वमा छौं । र यो निकै पुरानो विषय पनि हो । अहिले अरु धेरै कुराले मानिसलाई व्यग्र बनाउन थालेका छन्, र अरु कुनै व्यक्तिले पनि कसैको हत्या गर्न सक्छ ।”

रुस्दीले सन् २००१ को सेप्टेम्बर ११ देखि नक्कली नाम राख्न छाड्नुभएको थियो । तेहरानले रुस्दीमाथिको चेतावनी फिर्ता लिएको तीन वर्षपछि उहाँले नक्कली नाम राख्न छाड्नुभएको हो ।

तर एएफपीलाई पेरिसको एक प्रकाशन गृहमा अन्तर्वार्ता दिँदा पनि कार्यालयको मूलगेटमै सादा पोशाकका प्रहरीको निगरानी थियो । कार्यालय बाहिरको परिसरमा पनि अरु प्रहरीले सुरक्षा दिएका थिए ।

यसअघि, पूर्वी फ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण श्रोताकै रुपमा उहाँ सहभागी हुनुभएको थियो, तर न्यूयोर्कमा भने उहाँ विल्कुलै सामान्य जीवनमा रहने गर्नुहुन्छ । न्यूयोर्कमा उहाँ झण्डै दुई दशक बस्नुभयो । “म भूमिगत बाटो (सब वे) बाटै यात्रा गर्दछु,” उहाँले भन्नुभयो ।

“दी सटानिक भर्सेज” रुस्दीको पाँचौं पुस्तक हो । अहिले उहाँको १८औं पुस्तक आइसकेको छ । भर्खरौं उहाँको “दी गोल्डेन हाउस” प्रकाशन भएको छ जुन भारतको मुम्बईका एक व्यक्तिको बारेमा छ ।

दङ्गा, बम आक्रमणको योजना तथा दी सटानिक भर्सेज पुस्तकका एक अनुवादकको हत्या एवं अरु दुई जनामाथि गोली र चक्कु प्रहारको दुर्दान्त विगत देख्नुभएका रुस्दीले भन्नुभयो, “त्यो अब अतितको भइसक्यो ।”

“इस्लामको केही कुरै होइन । कसैले पनि त्यसरी सोचेका थिएनन्,” द सटानिक भर्सेज प्रकाशनका दिनहरुको स्मरण गर्दै उहाँले भन्नुभयो, “पश्चिमा मुलुकका मानिसहरु पहिलेभन्दा बढी जानकार देखिएका थिए ।”

त्यति हुँदा पनि, पुस्तकका बारेमा गलत बुझियो । उहाँले भन्नुभयो, “यो पुस्तक मुलतः लन्डनमा रहेका दक्षिण एसियाली आप्रवासीहरुका बारेमा थियो ।” रुस्दीका साथी बेलायती–पाकिस्तानी लेखक हनिफ कुरेसी यो पुस्तक लेख्ने दुस्साहस कसैले नगर्ने बताउँदै छाप्ने त अझ कठिन रहेको बताउनुहुन्छ ।

कुरेसीले द सटानिक भर्सेजको पाण्डुलिपी पढ्दा समेत आफूले कुनै विवादित विषय नदेखेको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “पुस्तकमा अतिवादीहरुलाई उत्तेजित तुल्याउने त्यस्तो केही थिएन । मैले यो पुस्तकमा पागलपन, नवीनता र परिवर्तनका कुरा देखेको छु ।”

तैपनि यो पुस्तकले सिर्जना गरेको रापतापले राजनीतिक इस्लामको उदयलाई प्रश्रय दिएको छ । रुस्दी आफैँ पनि दार्शनिक हुनुहुन्छ । यस्तो पुस्तक लेखेकामा पश्चाताप लागेको छैन भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “मलाई कुनै पछुतो छैन ।”

तपाईको प्रतिक्रिया