स्वस्थानी व्रतकथा, भाग २१ : नवराजको बाल्यावस्थाको कथा || मातालाई देख्ने बित्तिकै १ शेयर गरौ

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! शिव शर्मा ब्राह्मणका साथ छोरी गोमालाई पठाएपछि शिव भट्ट ब्राह्मण र सती ब्राह्मणीले आफ्ना छोरीज्वाइँ गएको बाटोलाई उनीहरू देखिउञ्जेल हेरीरहे । जब देखिन छोड्यो, तब रुखमा चढी हेर्न लागे । त्यहाँबाट पनि जब देखिन छोड्यो, तब रुखका एउटा हाँगामा बसी घरद्वार, सम्पत्ति सबै बिर्सिएर छोरीका सुर्ताले नाना किसिमका विलाप गर्न लागे । छोरीका मायाले गर्दा भोक, तीर्खा, निद्रा, जाडोको कुनै पर्वाह नगरी विलाप गर्दैगर्दा दैव गतिका कारण अकस्मात्, ती बसेको रुखको हाँगो भाँच्चिन गई दुबै पति/पत्नी भूइँमा झरेर त्यही हुरुक्कै भए र तिनको प्राणपखेरु उड्यो । त्यसै बखत शिवदूत आई तिनलाई विमानमा बसाली कैलाशतर्फ लैजाँदा भए । कैलासमा पुगेर ती ब्राह्मण/ब्राह्मणी दिव्य देह पाई आनन्दले रहे । अघि गोमालाई ‘तेरा बाबा/महतारीको चाँडो मृत्युहोस्’ भन्ने महादेवको श्राप थियो, तापनि सो आशीर्वाद स्वरूप हुन गयो र महादेवको सामीप्य प्राप्त भयो ।

उता बाबा/आमासित विदा भई शिव शर्माका साथ गएकी गोमाले बाटामा डोलेहरूसंग ‘यो हरियो वनको नाम के हो ? त्यो अग्लो पर्वतको नाम के हो ? यो ठूलो र चिल्लापात भएको रुखको नाम के हो ? त्यो लामो पुच्छर गरेको जन्तुको नाम के हो ?’ भनी सोध्दै जान्थिन्, डोलेहरूपनि ‘तिनको नाम यो हो, यो हो’ भनी चिनाउँदै जान्थे । कतै खोला, कतै छाँगा, कतै साँघु कतै भिरपाखा, कतै मैदान, कतै बेंसी र खर्कको बाटो भएर जाँदाजाँदै निकै टाढा पुगेपछि एउटा ठूलो वन देखियो । त्यो वनका माझमा भएको एउटा पोखरीनिर पुग्दा साँझ पनि पर्यो । त्यहीं बास बस्ने मन गरी खानपीन गरी सबै सुते । महादेवको श्रापका कारण हिंडाइका थकानले गाढा निद्रामा परेका वेला चोरहरू आई बाबा/आमाले दिएका गोमाका शरीरका गहना र अरु धनमाल सबै लगिदिए । अर्का दिन ब्युँझिएर हेर्दा भए भरको धनमाल र आफ्ना अङ्गमा लागाएका गहना समेत चोरिएको देखी गोमा साह्रै रुन र कराउन लागिन् । यस्तो देखी डोलेहरूले भने – ‘हे गोमा ब्राह्मणी ! थाकेर आएका हुनाले हामीलाई पनि साह्रै निद्रा लागेछ र यस्तो पर्न गयो । हामी अभागीहरूले अब तिम्रा बाबा/महतारीलाई के भन्न जाउँला ? अनि आफ्नो मुख कसरी देखाउँला ?’ यसो भनी अँध्यारो मुख लगाए ।

यो देखी गोमाले भनिन् – ‘हे भरिया हो ! हे डोले हो ! विस्मात् नगर । तिमीहरूलाई दिने र भरणपोषण गर्ने धन पनि अब मसित छैन, त्यसैले अब तिमीहरू फर्किएर घर जाओ । हामीलाई यहाँसम्म सकुशल पुर्याएको खबर मेरा बृद्ध माता/पितालाई सुनाई सन्तोष गराउनू ।’ यसरी गोमा ब्राह्मणीबाट विदा पाएर ‘सन्ताप नगर्नुहोला, अब हामी फर्किन्छौं’ भनी प्रणाम गरी शिव शर्मा र गोमाबाट डोलेहरूले विदा लिए । डोले र भरियाहरू फर्किएपछि शिव शर्मा र गोमा पनि जंगलका बाटाका छेउछाउमा भेटिने फल, कन्दमूल खोज्दै, टिप्दै, उखेल्दै खाँदै उकालो पार गरी एउटा अग्लो डाँडामाथि पुगे । त्यहाँ पुगेपछि गोमाले – ‘हे स्वामी ! मलाई ज्यादै भोक लाग्यो, हिड्न पनि सकिनँ, भनी जिउ छोडेर भुइँमा थुचुक्कै बसिन् । गोमा गर्भिणी भएकी र बाबा/आमाका न्याना काखमा पालिएकी हुनाले यस्तो कठिनाई पर्न गएको हो भन्ने बुझेर शिव शर्मालाई गोमामाथि ठूलो करुणा भयो । त्यहाँपछि उनले गोमालाई काखमा राखी माया गर्दै भने – ‘गोमा ! यहाँ फलफूल र कन्दमूल केही पनि पाइँदैन, पानीको धारो वा कुवा पनि छैन । यस कारण यस्ता नाङ्गा डाँडामा बसेर हुँदैन । यहाँबाट अलिकति पर पुग्नसके त्यहाँ फलफूल र कन्दमूल पाइन्छन्, जलाशय पनि छ । हिँड, उहीं जाऊँ ।’ यसरी सम्झाई बुझाई गोमाको हात समातेर उठाई सुस्तसुस्त हिंडाउँदै शिव शर्माले त्यसपछिको यात्रा सुरु गराए ।

गोमाले मनमनमा ‘हे हरि ! अब कसो होला, आज मेरो यो अवस्था भयो’ भनी सुस्केरा हाल्दै, अलिअलि गर्दै हिंडेर पतिको हातको सहारामा डाँडाको फेदीमा पुगिन् । शिव शर्मा ब्राह्मणले छेउछाउबाट फलफूल र कन्दमूल खोजी ल्याएर खान दिए । पातको सोली बनाई कुवाबाट पानी उघाई ल्याएर पिलाए र निकै बेर थकाइ मार्न लगाए । थकाइ मर्दै गएपछि उनले भने – ‘हे प्रिये ! अब हाम्रो घर पनि नजिकै आउन लाग्यो, लौ हिँड ।’ यसरी फकाइफुल्याइ गर्दै अलिअलि हिडाउँदै र ठाउँठाउँमा बिसाउँदै चन्द्रज्योति नगरको बाहिरसम्म पुर्याए । त्यहाँ पुगेका केही बेरपछि शिव शर्माले आफ्ना योग बलद्वारा केही पर एउटा खरको झुपडी उत्पत्ति गरी – ‘हे स्त्री ! हाम्रो घर ऊ त्यही हो, अब हामी दुई तीन घडी हिंड्न सके घर पुग्नेछौं’ भनी गोमालाई देखाए ।

नभन्दै केही बेरमा त्यहाँ पुगी आफ्ना पतिद्वारा द्वारका संघारको दुईपट्टि राखिएका मङ्गल कलशको जल अचाई गोमाले आफ्ना गृहमा बधुप्रवेश गरिन् । त्यहाँभित्र गई हेर्दा आफ्नो माइती घर सम्झिएर गोमा रुन लागिन् । किनभने त्यस झुपडीभित्र माकुराको जालो, धूलो र कसिंगरमात्र भरिएको थियो । केही बेरपछि अब रोएर के गर्नु, जसो भए पनि मैले आफ्नै कर्म भोग्नु पर्छ भनी मन बुझाई माकुराको जालो र धुलो मिल्काई कसिंगर बढारेर सफा तुल्याईन् । यसै प्रकारले चित्त धैर्य गराएकी गोमाले जेजस्तो जुट्छ, त्यही खाई आफ्ना पतिका सेवामा तैनात रही आगामी दिनहरू बिताउँदै गईन् । केही दिनपछि शिव शर्माले आफ्नी पत्नीछेउ गई भने – ‘हे गोमा ! तँ गर्भिणी छेस्, हाम्रा घरमा कुनै जेथो र कतैबाट आउने बाटो पनि छैन । जातक कर्म, सुतक शुद्धि, न्वारान र सुत्केरीबाट तँलाई उकास्ने खर्च नभई हुँदैन । त्यसका निम्ति म परदेश गएर भिक्षा मागी खर्च कमाएर लिई आउनेछु । आफ्ना आमा/बाबा र मलाई मात्रै सम्झिई सुर्ताएर रोई नबसेस् ।’

स्वामीका यस्ता कुरा सुनी गोमाले भनिन्– ‘हे पति ! यो बिराना ठाउँमा, यो अवस्थामा मलाई एक्लै छोडी कहाँ जाने कुरा गर्नु भएको ? म यस्ता जिउकी अबला स्त्री जातिले एक्लै कसरी बसुँली ? के खाउँली ? यस्ता अवस्थामा मेरो हेरचाह कोबाट होला ? अर्कातिर तपाईं बृद्ध अवस्थाका पुरुषलाई एक्लै कसरी जान दिऊँ ? यहीं छेउछाउका यजमानले जेजति दिन्छन्, मागेर सञ्चय गरौंला र परि आएका काम टारौंला । हे स्वामी ! यस्ता बेलामा कतै जाने मन नगर्नुहोस् ।’ गोमाका यी कुरा सुनी शिव शर्माले झन् ढिपी गर्दै भने– ‘हे प्रिये ! भिक्षाटनमा जानु त हाम्रो कर्म नै हो । महिना दिन पुग्दा म आई पुगुँला । त्यो बेलासम्मलाई खान नपुगेमा यसै चन्द्रज्योति नगरका मेरा यजमानहरू कहाँ गई मेरो नाम गरी भिक्षा मागी खाएस्’ भनी बुझाए । गोमाले पनि गाह्रो मान्दै विदा दिँदी भईन् र हवस् न त ! त्यसै गरौंला भनिन् ।

तहाँउप्रान्त गोमालाई एक्लै छोडी भिक्षा माग्न भनी परदेश लागेका शिव शर्मा ब्राह्मण दुई दिनको बाटो टाढा पुगेपछि गङ्गाका तीरमा कुनै ऋषिका आश्रममा पुगे । त्यहाँ उनले बृद्ध अवस्थाका एक जोडी ब्राह्मण दम्पती पनि बसेको देखे । पहिले गङ्गास्नान गरी ती ब्राह्मण दम्पतीछेउ आई पूजा गर्नका निम्ति केही फलफूल मागे । यसरी फलफूल माग्ने नौला बृद्ध व्यक्तिलाई देखी त्यहाँका बृद्ध ब्राह्मणले नाम, धाम र काम सोधे । तब शिव शर्माले पनि आफ्नो नाम बताउँदै ‘म चन्द्रज्योति नगरमा घर भएको ब्राह्मण हुँ । घरमा गृहिणी गर्भवती छे । जातकादि, छैटी र नामकरण गर्नलाई धन नहुँदा पत्नीलाई घरमा एक्लै छोडी भिक्षाटनका निम्ति निस्किएको हुँ’ भने । शिव शर्माका यी करुणापूर्ण कुरा सुनेर आश्रमका वरिपरि भएका फल र फूलहरूतिर देखाउँदै ‘यो बगैंचा र यहाँका फलफूलको हेरचाह गर्ने हामी नै हौं । जेजस्तो र जति चाहिन्छ टिपेर लै जाऊ, कसैले बाधा गर्ने छैन’ भनी बृद्धा ब्राह्मणीले भनिन् ।

यी कुरा सुनी ढुक्क भएर शिव शर्मा ब्राह्मण रुखमा चढी फल टिप्न लागे । दैवको लीलाले गर्दा उनी चढेको हाँगो भाँच्चिई भूइँमा बजारिँदा शिव शर्माको प्रणान्त भयो र महादेवको रूप लिई कैलाशमा जाँदा भए । महादेव आएको देखी पार्वतीले सुनको कमण्डलुमा जल लिएर बाहिर आई पतिका पाउ धोई दिईन् र भित्र लगी भनिन्– ‘हे ईश्वर ! पुरुष जातिको चित्त ज्यादै निष्ठुरी हुँदो रहेछ । राम्री स्वास्नी पाए सबै थोक बिर्संदा रहेछन् । हजुरले पनि मलाई बिर्सिनै लाग्नु भएथ्यो, तर कसरी सम्झनु भएछ र आज पाउ कष्ट भयो । अर्को कुरा, त्रास र छलद्वारा बिहे गरी गर्भिणी तुल्याई त्यस्ता बिराना ठाउँमा पुर्याई फ्याँकेर आज एक्लै आउनुभयो । अब त्यो गोमा ब्राह्मणीको के अवस्था हुने हो ?’ पार्वतीले भनेको कुरा सुनी सकेपछि महादेवले हाँसेर भन्नुभयो – ‘हे पार्वती ! सुखपछि दुःख, दुःखपछि सुख घुमिरहन्छ । पुर्वजन्मको कमाइअनुसार आफूले गरेका कर्मको भोग गर्नै पर्छ । लोकमा जति मेरा भक्तहरू छन्, उनीहरूले आफ्नो पूर्वजन्ममा गरेका शुभाशुभ कर्मको भोग गरेका हुन् । दुःख पाएका वा सुख पाएका होइनन् । अब त्यो गोमा पनि सुखी हुन्छे । तिमीले विस्मात् र सन्देह नमान ।’

हे अगस्त्य मुनि ! उता गोमालाई घरमा एक्ली छोडेर भिक्षा माग्न भनी परदेश गएका शिव शर्मा धेरै दिन बितिसक्दा पनि घर नफिरेकाले गोमाले पाउनसम्म दुःख पाईन् र उनले पति र धनको अभावमा चन्द्रज्योति नगरमा गएर यजमानहरूसँग भिक्षा मागी पुंसवनादि कर्म गरिन् । मास पूर्ण भएपछि सम्पूर्ण राज लक्षण लिएको पुत्ररत्नको जन्म भयो । गोमा ब्राह्मणीले चन्द्रज्योति नगरबाट वेद पढेका र ज्योतिष शास्त्रमा निपुण भएका सदाचारी ब्राह्मणहरू डाकी नामकरण गराईन् । ब्राह्मणहरूले पनि ज्योतिषशास्त्रको वचनअनुसार धुलौटो कोरेर राम्रो अध्ययन गरी बालकको नाम ‘नवराज’ भनी कान फुकिदिए र गोमासित भने – ‘हे गोमा ब्राह्मणी ! यो बालक राजलक्षण सम्पन्न योग लिएर जन्मिएकोले भविष्यमा राजा हुनेछ र तिमीलाई सुख सन्तोष दिनेछ, तिमी राजमाता हुनेछयौ ।’ ती ब्राह्मणहरूका आशीर्वादसहितका शुभवाणि सुनेकी गोमाले मनमा हर्ष मानी गुरुपुरोहितलाई श्रद्धाभक्तिपूर्वक भोजन र दक्षिणाले सुन्तुष्ट गराईन् । उनीहरू पनि प्रसन्न हुँदै आफ्ना घरतर्फ लागे ।

त्यहाँउप्रान्त गोमाले पनि आफ्नो बालकलाई स्याहारसुसार गर्दै हुर्काउन लागिन् । अर्काका घरमा गएर ढिकी जाँतो गरिल्याएका अन्नपानीले आफ्नो र बालकको रक्षा गर्न पुर्याउँथिन् । त्यो बालक पनि शुक्लपक्षका चन्द्रमा बढे झैं दिनानुदिन बढ्दै गयो । साथीभाइसित खेल्न जाँदा पनि कसैसित झगडा नगरी खेलेर आउने र आमाले दिएको खाने कुरामा पनि कलह नगरी सन्तोक गरी खाने उसको बानी थियो । आफ्ना पुत्रको त्यस प्रकारको शीलस्वभाव देखी गोमा ब्राह्मणी अत्यन्त खुसी हुने गर्दथिन् । एकदिन गोमाले आफ्ना यजमानका घरमा गएर भनिन् – ‘यजमानहरू हो ! मेरो पुत्र उसका साथहिरुसित खेल्न जान्छ र खेलीसकेर वेलैमा घर आउँछ । भोक लागे पनि खान देऊ भनेर झगडा गर्दैन अनि रिसाउँदैन पनि । खाने कुराहरू, यो मिठो, यो नमिठो पनि भन्दैन । जसरी भएपनि मलाई सन्तोष छ ।’ आफ्ना पुत्रको असल गुण र राम्रो शीलस्वभाव पाएकी हुँदा मातृहृदयले गदगद हुँदै गोमाले फेरि – ‘मेरा छोराको मुख हेरेर र उसको आनीबानीले गर्दा मैले दुःख बिर्सिएकी छु, तापनि हे यजमान हो ! मेरा पति अहिले घरमा होई बक्सिन्न । मसित सम्पत्ति पनि छैन । तपाईंहरूकै कृपाले गर्दा हामी आमा छोराको हेरचाह र रक्षा भइरहेको छ । अब त्यसको चूडाकर्म, उपनयनादि कर्म गरिदिने उमेर भयो । यसका निम्ति पनि तपाईंहरूबाट नै दया हुन गए ती कर्महरू सम्पन्न हुने थिए ।’ भनी आफ्नो इच्छा पोखिन् ।

गोमा ब्राह्मणीका कुरा सुनी यजमानहरू मिलेर श्रद्धा र शक्तिअनुसार जो सकेको सहायता गरे । त्यसपछि गोमाले पनि जो चाहिने आवश्यक सामाग्रीहरू जुटाईन् । धर्मशास्त्र र वेदविद्या जान्ने आचारले पवित्र भएका असल गुरुपुरोहितहरू डाकी नवराजको चुडा र व्रतबन्धनादि कर्म गराई, वेदपुराणादि शास्त्रहरूको अध्ययनमा लगाईन् । एकदिन ज्ञान र गुणले युक्त भएर नवोदित सूर्य झैं देखिने नवराजदेखि सन्तुष्ट भएका यजमानहरूले गोमासित भने – ‘हे गुरुआमा ! हजुरको नवराजको विवाह गर्ने इच्छा भए वरुणापुरका अग्नि स्वामी नाउँ गरेका ब्राह्मणकी अत्यन्त सुन्दरी चन्द्रावती नाउँकी कन्या छिन्, तिनका साथ विवाह गरिदिऊँ ।’ यजमानका इच्छा बुझी प्रसन्न भएकी गोमाले भनिन् – ‘हे दयाले युक्त हृदय भएका यजमान हो ! मेरा पुत्रले केही पनि धनार्जन गर्न सकेको छैन, घरमा केही सम्पत्ति पनि छैन, तपाईंहरूलाई थाहा नै छ । मेरा छोरालाई कन्या कसले कसरी देला ? अनि कसरी विवाह होला ?’
गोमाका कुरा सुनी यजमानहरूले भने – ‘हे गुरुआमा ! तपाईंका घरमा त्यस्ता सम्पूर्ण लक्षणसम्पन्न पुत्र हुनुहुन्छ, धर्मशास्त्र र वेदका ज्ञाता भएका पुत्रकी माता पनि हुनुहुन्छ, हामी तपाईंमा श्रद्धा राख्ने इष्टमित्र पनि वरिपरि छौं, अनि तपाईंलाई के अपुग छ ? ठूलो सम्पत्ति र इज्जत भनेको असल छोराछोरी, शुद्ध मन, आत्मीय र प्रेम दर्शाउने इष्टमित्र हुन् । चाहिने सरजाम केके चाहिन्छ, हामीहरू जुटाई दिनेछौं, तपाईंले यसमा पीर मान्नु पर्दैन ।’ आफ्ना यजमानका यस्ता चित्त बुझ्दा कुरा सुनेर गोमा हर्षविभोर भई भन्दी भईन् – ‘हे यजमान हो ! म धन्य रहेंछु, लौ विवाहको निधो गर ।’ तब यजमानहरूले पनि ती अग्नि स्वामी ब्राह्मणका घर गई केटी माँगी, कुरा छिनी, दिन र लग्न ठहर्याई फिरेर आइपुगे र गोमालाई सबै विवरण बताए ।

तब गोमाले पनि यजमानहरू र उनका पत्नीहरूका सल्लाह अनुसार विवाहलाई चाहिने सामाग्री तैयार गरिन् । ठहर्याइएको शुभ लग्नमा कुल परम्पराअनुसारको शुभ विवाहमा नवराज र चन्द्रावतीको लग्नग्रन्थि बाँधियो । यसरी चन्द्रावतीलाई विवाह गरी ल्याएपछि गोमा ज्यादै खुसी भईन् । केही दिनपछि एक दिन नवराजका साथी भाइले ‘हे नवराज ! तिमीलाई हामी गोमाका छोरा हौ भनी जान्दछौं तर तिम्रा पिताका बारेमा भने केही बुझेका छैनौं, तिमी केवल आमाका मात्र छोरा कसरी भयौ ? बाबुको नाम चाहिं के हो ?’ भनी सोधे । आफ्ना साथीहरूको त्यस्तो प्रश्न सुनी उत्तर दिन नसक्दा नवराज सरासर घरमा गई साथीहरूले भनेका कुरा आमालाई सुनाएर सोधे – ‘हे आमा ! म कसको पुत्र हुँ ? मेरा पिताको नाम के हो ? अहिले कहाँ के गर्दै हुनुहुन्छ ?’ छोराको कुरा सुनेर आँखाभरि आँसु पारी – ‘हे नवराज ! तेरा पिताको नाम शिव शर्मा हो, तँ गर्भमा नै छँदा भिक्षाटनका निम्ति परदेश जानु भएथ्यो, आजसम्म कुनै हालखबर छैन’ भनी गोमाले बर्बर आँसु झारी रुन लागिन् । त्यसपछि धैर्य दिलाउँदै नवराजले आमासित भने – ‘हे माता ! मलाई आज्ञा होस्, पिताको खोजीमा म जानेछु र कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा के गर्दै हुनुहुन्छ ? सबै कुरा बुझी भरसक वहाँलाई साथमा नै लिएर आउनेछु ।’ नवराजका यस्ता कुरा सुनी गोमाले भनिन् – ‘पुत्र ! आजसम्म तेरो मुख हेरेर तेरा पितालाई बिर्सिएकी थिएँ । तैले पनि छोडेर गएपछि म कुन आधारमा बाँचेर रहनु ? तँ गएपछि बुहारी चन्द्रावती पनि यहाँ बस्न नमान्ली । आफ्ना पिताको टुङ्गो त अवश्य लगाउनु पर्ने हो, तर यस वेला जान्छु नभन् ।’

आमाका कुरा सुनी नवराज भन्छन् – ‘हे माता ! म जे भन्छु, त्यसलाई राम्ररी सुन्नुहोस्, पितृको उद्धार गर्नु बराबर पुत्रको अर्को धर्म छैन । पितृउद्धार जस्तो महिमाले युक्त महान् कर्मलाई पर पारेर केवल आफ्नो सुख भोगका पछिमात्र लाग्ने सन्तानले त जबसम्म आकाशमण्डलमा चन्द्र र सूर्य हुन्छन्, जबसम्म पृथ्वी रहन्छिन्, तबसम्म घोर नरकमा बास गर्नु पर्दछ । यदि मलाई माताका गर्भमा नै छोडेर जानुभएको हो र मेरो यो उमेर भइसक्दा पनि फर्कनु भएको छैन भने यिनै धरतीमा नै रहनुभएको छ वा देह त्याग गरिसक्नुभयो अवश्य विचार गर्नुपर्छ । देह त्याग गर्नु भएको प्रमाण ठहरे अन्तिम काज क्रिया नगरी हुँदैन । संसारभित्र नै जीवित अवस्थामा भेट्न सकें भने निश्चय पनि साथै लिएर आउने छु । यति पनि गरिएन भने मैले जन्म लिएको व्यर्थ हुनेछ । हे माता ! बुहारीले हजुरको सेवा गर्नेछिन्, मलाई विदा बक्सियोस् ।’

छोराको कुरा सुनी सकेपछि हर्षका आँसु झार्दै सन्तोष भएर गोमाले भनिन् – ‘हे पुत्र ! मेरो कोख धन्य रहेछ । शास्त्र प्रमाणका कुरामा आफ्नो दृढनिश्चय आज मैले आफ्ना पुत्रका मुखबाट सुन्न पाएँ । मलाई सन्तोष छ, तेरो कल्याण होस् ।’ यति भनी नवराजका शिरमा हात राखी आशीष दिईन् र नवराजले पनि माताका चरणकमलमा साष्टांग दण्डवत् गरी आफ्नी पत्नीलाई धेरै कुरा अह्राई परदेशमा चाहिने ओढ्ने, ओछ्याउने र सातुसामल लिई प्रस्थान गरे । घरबाट निस्किएर अनेक ठाउँ, गाउँ, सहर, देशविदेश घुम्दै त्यहाँका कति भद्र भलादमीलाई भेटी नवराज शिव शर्मा नाउँ गरेका कुनै बृद्ध ब्राह्मणलाई भेट्यौ कि ? देख्यौ कि ? भन्दै खोज्दै हिंड्न लागे । जाँदाजाँदा एक दिन नवराज गङ्गाका तीरमा रहेको कुनै एक ऋषिका आश्रममा पुगे । त्यहाँ तिनले बृद्ध अवस्थामा एक द्विज दम्पतीलाई देखी – ‘तिमीहरू को हौ ? अनि यो ठाउँमा किन बसेका हौ ?’ भनी सोधे । ती बृद्ध ब्राह्मणले भने – ‘हामी ब्राह्मण दम्पती हौ, बृद्धावस्था भएकाले गङ्गाका काखमा प्राण छोड्न पाए मुक्ति मिल्ला कि भनी घरद्वार, धनदौलत त्यागी यहाँ आई बसेका छौं । हे युवक ! तिमी को हौ ? अनि यस्ता ठाउँमा एक्लै केका लागि आयौ ?’ यस प्रकारको कुरा बृद्ध ब्राह्मणबाट सुनी नवराजले भने – ‘हे माता/पितातुल्य तपस्वी ! म नवराज नाम गरेको ब्राह्मण हुँ । म गर्भमा नै हुँदा मेरा पिता भिक्षा माग्न भनी परदेश लाग्नु भएको थियो । वहाँको नाम शिव शर्मा हो, अहिले मेरो उमेर पनि यहाँसम्म पुगिसक्यो, तर पिता फिर्नु भएको छैन र वहाँकै खोजीमा घरबाट निस्किएर धेरैतिर घुम्दै, सोध्दै यहाँ आई पुगेको हुँ । कतै तपाईंहरूले देख्नु भयो कि भनी यहाँ आउँदैछु । देखेको सुनेको भए कृपा गरी बताई दिनुहोस् ।’

पितृभक्त युवकका यस्ता कुरा सुनी दयाले युक्त भई बृद्ध ब्राह्मणले– ‘हे नवराज ! चन्द्रज्योति नगर निवासी भिक्षाटनमा हिंडेका शिव शर्मा नाम गरेका बृद्ध ब्राह्मणलाई हामीले देखेका थियौं । आफ्नी गर्भिणी स्त्रीलाई घरमा एक्लै छोडी आएको कुरा उनैबाट हामीले सुनेका थियौं । तिम्रो उमेर हेर्दा र यहाँ आएको बखत मिलाउँदा तिम्रै पिता रहेछन् भन्ने हामीलाई पक्का भयो । यहाँ नित्य पूजा गर्ने फलफूल टिप्न सधैं जंगलमा जाने गर्थे । एक दिन दैवसंयोगले ऊ त्यो परको अग्लो रुखमा फल टिप्न चढेका बेला उनी बसेको हाँगो भाँच्चियो र भूइँमा झरी परलोक भए । त्यहाँ उनका अस्थिपञ्जरहरू अझै पनि रहेकै होलान्, त्यहाँ गएर हेर ।’ भनी देखाई दिए ।

नवराज पनि हतारका साथ त्यहाँ पुगी हेर्दा रुखका फेदमा छरिएका झारपातले आधा छोपिएका पुराना हाडखोड देखी – ‘हे पिता ! मेरो जातकादि कर्म गर्न र मेरी मातालाई सुत्केरीबाट उकास्ने मनसायले भिक्षा माग्न आउनु भएकोमा मेरो मुख पनि देख्न नपाई यस्ता बिराना ठाउँमा आई, रुखका हाँगासंगै झरी, हामीलाई छोडी परमधाम हुनु भएछ । यी कुराहरू मैले अब माताका साथ कसरी गरुँला ?’ यसरी अनेक प्रकारका विलाप गरी ‘आमाले रुन लाग्दा के भनी मन बुझाई दिउँला ?’ भनी धेरै शोक गरी भूइँमा बसी नवराज रुन कराउन लागे । केही बेरपछि मनमा धैर्य लिई छरिएका हाड बटुली गङ्गाका तटमा लगी दाहसंस्कार गरे । त्यसपछि आश्रममा रहने बृद्ध ब्राह्मण दम्पतीका सहाराले आफ्ना मर्यादाअनुसार पिताको दशगात्र क्रियाकर्मादि पनि गर्दा भए । यति कर्तव्य गरिसकेपछि मनमा अनेक तर्कना लिंदै नवराज छटपटाउन लागे – ‘अब कता जाऊँ, कसो गरुँ, घरमा जाऊँ भने खर्च छैन । केही नकमाई जाँदा वहाँ अति दुःख छ । अर्कातिर आमालाई यो शोक समाचार सुनाएपछि आमा रोएको सुन्नु र वहाँको अवस्था देख्नु पर्दा सही नसक्नु होला । यसो हुँदा कुनै उत्तम राजाको सेवा गरी शुद्ध द्रव्यको आर्जन गरी लिएर जान सकें भने धेरै कल्याण होला ।’ नवराजले यस्तो विचार गरेर कुनै एक देशका सहरमा गई सदाचारी राजाको सेवा गरी रहँदा भए ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां नवराज-चरित्र–वर्णनं नाम द्वाविंशोऽध्यायः ।।
ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Purbeli TV

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / वि.सं. २०७६ श्रावण ३२ गते शनिबार

आजको राशिफल / २०७६ श्रावण २६ गते आइतबार

आजको राशिफल / २०७६ श्रावण १९ गते आइतबार

आजको  राशिफल / वि.सं. २०७६ श्रावण १८ गते शनिबार

आजको राशिफल / २०७६ श्रावण ११ गते शनिबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख ३१ गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २८ गते शनिबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २६ गते बिहीबार

आजको राशिफल  / वि.सं. २०७६ वैशाख २५ गते बुधबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २३ गते सोमबार

तपाईको प्रतिक्रिया

Loading…