तीन तहका सरकारबीच द्वन्द्व होइन, सहकार्य जरुरी : मुख्यमन्त्री शाही

सुर्खेत / कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन तहका सरकारहरुबीच द्वन्द्व नभई आपसी समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य हुननसके सङ्घीयता संस्थागत हुन नसक्ने बताउनुभएको हो । संविधानको मूल ‘स्प्रिड’ नै तीन तहका सरकारहरुबीच समन्वय र सहकारिता रहेको भन्दै उहाँले एक–अर्काको अधिकार खोसेर गन्तव्यमा पुग्न नसकिने बताउनुभयो । सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भइरहेका केही अन्योल र अस्पष्टतालाई अनावश्यक रुपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।

“हामी प्रारम्भिक चरणमा छौँ, वित्तीय र प्रशासनिक पुनः संरचनामा हुन बाँकी नै छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा सिक्दै अघि बढ्ने हो, द्वन्द्वसिर्जना गरेर व्यवस्था मजबुत हुँदैन् ।”
मुख्यमन्त्री शाहीले तीन तहका सरकारबीच पर्याप्त संवाद र सहकार्यबिना राष्ट्रले सङ्कल्प गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराले सार्थकता नपाउने विचार व्यक्त गर्नुभयो । यद्यपि, सहकार्य गर्दा एक–अर्काको सह–अस्तित्वमा ठेस पु¥याउन नहुने बताउनुभयो । उहाँले सङ्घीयता विरोधीले भ्रम सिर्जना गर्ने अनेक प्रयत्न गरिरहेकाले सजग हुन आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश सांसद गुलाबजङ्ग शाहले गाउँपालिका महासङ्घ आफैँमा जनप्रतिनिधिको अगुवा सङ्गठन भएकाले प्रदेश र सङ्घ सरकारबीच उचित समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । “अधिकार मात्र खोजेर हुँदैन, संविधानमै सबैको अधिकार स्पष्ट लेखिदिएको छ,” उहाँले भन्नुभयो, “अब अधिकारको अधिकतम प्रयोग गरेर गाउँपालिकाहरुबीच विकासको प्रतिस्पर्धा हुन आवश्यक छ ।”

गाउँपालिका महासङ्घका प्रदेश संयोजक कवीन्द्रकुमार केसीले प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय तहबीच साझा लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति तय गरिने जानकारी दिनुभयो । नेकपा कर्णाली प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रदेश सांसद यज्ञबहादुर बिसी, जिविस महासङ्घका पे्रमबहादुर थापा लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । अधिवेशनमा कर्णालीका ५४ वटै गाउँपालिकाका प्रमुख÷उपप्रमुखको सहभागिता छ । अधिवेशनले आजै नयाँ नेतृत्व चयन तदर्थ समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…