आठ हजार कुष्ठरोगीको उपचार

काठमाडौँ / लेलेस्थित आनन्दवन अस्पतालमा आठ हजार कुष्ठरोगीले उपचार गराएका छन् । गत वर्ष अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा सात हजार ८०५ र भर्ना भएका ७९१ बिरामीको उपचार भएको अस्पतालले जनाएको छ ।

रोग लागेपछि अस्पतालमा जचाउनुपर्छ भन्ने भावना बढ्दा अस्पतालमा आउने बिरामी सङ्ख्या बढिरहेको अस्पतालका तालिम संयोजक गोपाल पोखरेलले बताउनुभयो । पहिले कुष्ठरोग लागेपछि धामीझाँक्री कहाँ जाने वा रोग लुकाएर बस्ने गरेका थिए तर जनचेतना वृद्धिसँगै कुष्ठरोगका बिरामी अहिले उपचारका लागि अस्पताल आउने गरेका छन् । उहाँले भन्नुभयो, “कुष्ठरोगप्रति रहेको गलत धारणा कम हुँदै जाँदा उपचारका लागि अस्पताल आइपुग्ने विरामीको सङ्ख्या बढ्दो छ ।”

नेपाल कुष्ठरोग निवारण घोषणा भएको एक दशक पुगेको छ । संयोजक पोखरेलले भन्नुभयो, “एक दशक पहिले यो रोग निवारणको घोषणा गर्दाभन्दा अहिले नयाँ बिरामी सङ्ख्या बढिरहेको राष्ट्रिय तथ्याङ्कले पनि देखाएको छ ।”

अहिले पनि यो रोग लागेका व्यक्तिलाई परिवार र समाजले हेलाको दृष्टिले हेर्दा बिरामी उपचारका लागि हतार नगरेको अस्पतालका कुष्ठरोग विशेषज्ञ डा महेश साहले बताउनुभयो । यो रोग वंशाणुगत पनि नभएको र खानपानका कारणले पनि एक व्यक्तिबाट अर्काेमा नसर्ने उहाँले बताउनुभयो । कुष्ठरोग लागेर पनि उपचार शुरु नगरेका बिरामीबाट मात्रै रोगको किटाणु एक व्यक्तिबाट अर्काेमा सर्ने उहाँले बताउनुभयो ।

अस्पतालको बहिरङ्ग विभागमा सन् २०१७ मा सात हजार ८०५, सन् २०१६ मा छ हजार २१२, सन् २०१५ मा सात हजार २१६ र सन् २०१४ मा पाँच हजार ५१८ बिरामी उपचारका लागि अस्पताल आएका थिए ।

गत वर्ष ४४२ कुष्ठरोगीलाई अस्पतालमा शल्यक्रिया गरिएको थियो । अस्पतालले ३० बिरामीको रोग निदान प्रमाणित गरेको थियो । रोग निदान प्रमाणित गर्न नेपाल सरकारले यस अस्पताललाई मात्रै मान्यता दिएको छ । स्वास्थ्य सेवा विभागको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको तथ्याङ्कअनुसार यस वर्ष देशभरमा जम्मा नयाँ बिरामी सङ्ख्या तीन हजार १८७ रहेको छ ।

एक सय ९१ लाई कृतिम खुट्टा वितरण

दुर्घटनामा परेर खुट्टा गुमाएका १९१ अपाङ्गता भएका व्यक्तिलाई मारवाडी सेवा समितिले कृतिम खुट्टा वितरण गरेको छ ।

गत वर्ष साउनदेखि अहिलेसम्म उनीहरुलाई कृतिम खुट्टा वितरण भएको समितिले बताएको छ । सकेसम्म आर्थिकरुपमा विपन्न व्यक्तिलाई छनोट गरेर कृतिम खुट्टा वितरण भइरहेको अर्थाेपेडिक प्राविधिक हरिराम बोगटीले बताउनुभयो । सम्पर्कमा आएका अधिकांशलाई कृतिम खुट्टा दिइए पनि आफैँ खर्च गरेर हाल्न नसक्नेलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

गौशालास्थित धर्मशालामा नियमित रुपमा यो सेवा जारी छ भने समितिले कतिपय जिल्लामा शिविर गरेर कृतिम खुट्टा प्रदान गर्दै आएको पनि उहाँले बताउनुभयो ।

“कतिपय ठाउँमा अपाङ्गता भएका व्यक्तिले हामीकहाँ आउने माध्यमका बारेमा जानकारी नहुन सक्छ”, उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई हामीले त्यही पुगेर पनि कृतिम खुट्टा दिइरहेका छौँ ।”

‘खुट्टा भए वैशाखी किन’ भन्ने नाराका साथ समितिले गत वर्षदेखि कृतिम खुट्टाको वितरण थालेको मारवाडी परिषद्का पूर्वसंयोजक गोपाल बजाजले बताउनुभयो । आर्थिकरुपमा विपन्न व्यक्तिलाई कृतिम खुट्टा वितरणसँगै पहिले कृतिम खुट्टा राखेका व्यक्तिको परीक्षण गरिएको समितिले बताएको छ । मारवाडी सेवा समितिअन्तर्गतका विभिन्न संस्था मिलेर यसका लागि आर्थिक स्रोतको व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक महीनामा १५ वटासम्म कृतिम खुट्टा वितरण गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरु गरेका थियौँ ।” नेपालमा घुँडामुनिसम्मको कृतिम खुट्टाको रु ४० देखि ५० हजारको हाराहारीमा र घुँडामाथिको झण्डै रु एक लाखसम्म पर्छ ।

तपाईको प्रतिक्रिया