राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, पूर्व नेपाल च्याम्पियनलाई झड्का

मोरङ / मोरङको पथरीशनिश्चरेमा जारी ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०७५’ मा पूर्व नेपाल च्याम्पियन नै पराजित भएका छन् । सुश्रत दाहालसंग पूर्व नेपाल च्याम्पियन सुरवीर लामाले आइतबार पराजयको झड्का बेहोरे । दाहालले उनलाई पराजित गर्दै २ अंकमा सीमित बनाइदिए । त्यस्तै बुद्धिचालमा नेपालकै टप रेटिङ अंक (२०३८) भएका रिजेन्द्र राजभण्डारी पनि पराजयको सिकार बने । उनलाई सुरज रायले २ अंकमा सीमित बनाइदिए । खेलको दोस्रो राउण्डमा लोकसागर लिम्बूसंग पूर्व च्याप्पियन नवीन तन्दुकारले बराबारी मात्रै खेल्न सकेन ।

प्रतियोगिताको दोस्रो दिन आइतबार १३ खेलाडी शीर्ष स्थानमा उक्लिएर उपाधि दौडमा छन् । उनीहरु ३—३ अंकसहित शीर्ष स्थानमा रहेको मुख्य आरविटर (एम्पाएर) विजय थापाले बताए । उनका अनुसार सुर्सुत दाहाल, कृष्ण थापा, राजन सुवेदी, सुमन राई, उमेश राई, विश्वविजय घिमिरे, सुमन श्रेष्ठ, बद्रीलाल नेपाली, भुपेन्द्र निरौला, सुमन लामा, निराजन पुडासैनी, ज्वाला लिम्बू, विवेक श्रेष्ठ शीर्ष स्थानमा रहेका हुन् ।

खेल स्वीस लिग अनुसार नौ राउण्डमा सकिन्छ । स्वीस लिग अनुसार खेल जित्नेको १ र बराबारी गर्नेको ०.५ अंक प्राप्त गर्ने छन् । एक सय ३५ जना खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा १३ जनाले भने अपराजित यात्रा तय गरेका हुन् । तीन अंक प्राप्त गर्ने मध्ये बद्रीलाल नेपाली र भुपेन्द्र निरौला पूर्व नेपाल च्याम्पियन हुन् ।

खेलमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमस नगद ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्रदान गरिने छ । आयोजकले खेलमा १५ औं स्थानसम्म हुने र अन्य विभिन्न टाइटल गरी ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया