मनमोहन कप : प्रदेश नम्बर ७ लाई २ सय रनले हराउँदै नेपाल पुलिस फाइनलमा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जारी एम एम कपमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । टस जिति पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २३ रनको विशाल योगफल तयार गरेको थियो ।

नेपाल पुलिस क्लबको ब्याटिङमा दिलिप नाथले १ सय १५ रनको शतकिय पारीको योगदान दिए यस्तै कप्तान मन्जित श्रेष्ठले ५३ रन, कुशल भुर्तेलले २७ रन तथा योगेन्द्र कार्कीले २४ रनको योगदान दिए । प्रदेश नम्बर ७ का बलर बिकाश आर्ग्रीले ३ विकेट, बिनोद लामाले २ विकेट तथा लोकेश बम र चन्द्र साउदले समान १/१ विकेट हात पारे ।

राष्ट्रिय क्रिकेट टिमको ओपनिङ ब्याट्सम्यान रहिसकेका दिलिप नाथले ५ छक्का र ९ चौकाको सहयोगमा १ सय २५ बलमा नट आउट ११५ रन बनाउदै नेपाल पुलिस क्लबलाइ एम एम कपको फाइनल प्रवेश गराउन महत्त्वपूर्ण भुमिका खेले ।

ठूलो लक्ष पछ्याउँदै जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर ७ ले ३१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै मात्रै १ सय २३ रनमा समेटियो । उसका लागि बिपिन रावन र लोकेश बमले समान २६/२६ रन तथा नारायण जोशि र नरेन्द्र साउद पनि १६/१६ रन बनाउदा अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए । बलिङतर्फ नेपाल पुलिस क्लबका बलर सागर ढकालले ५, रामनरेश गिरि र नवीन थापाले समान २/२ तथा सुनिल धमलाले १ विकेट लिए ।

युवा बलर सागर ढकालले ठूलो लक्ष पछ्यायको प्रदेस न ७ लाई रोक्ने क्रममा ९ दशमलव ३ ओभरमा २ मेडन सहित ३० रन खर्चेर महत्त्वपूर्ण ५ विकेट लिदै टिमलाइ फाइनलमा प्रवेश गराए । प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनल खेलमा नेपाल आर्मी क्लब र प्रदेश नम्बर १ बीच खेल हुनेछ । माघ ५ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले ४ लाख १ हजार, उपविजेताले २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टिमले समान २५/२५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन ।

Purbeli TV

तपाईको प्रतिक्रिया