फोहर सङ्कलन गर्ने निकायबीच समन्वयको अभाव

काठमाडौँ / दैनिक सयौँ मेट्रिक टन फोहर उत्सर्जन हुने काठमाडौँमा फोहर सङ्कलन गर्ने सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वयको अभाव देखिएको छ ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थनीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन् । ती निकायबीच एकापसमा कुनै समन्वय भने हँुदैन । निजी कम्पनीले घरघरबाट र स्थानीय तहले सडकमा थुपारिएका तथा सार्वजनिकस्थल र केही पुराना बस्तीका फोहर सङ्कलन गर्ने गरेका छन् । दुवै निकायले सङ्कलित फोहर आ–आफ्नै टिपरमार्फत नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन गर्दै आएका छन् ।

उपत्यकामा दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका छन् । त्यसमध्ये १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । उपत्यकामा फोहर सङ्कलन गर्ने ४६ निजी कम्पनी छन् । निजी कम्पनीमा सफाइ मजदूर, चालक र अन्य प्रशासनिक गरी दुई हजार ६०० कर्मचारी कार्यरत रहेको फोहरमैला व्यवस्थापन सङ्घ नेपालका अध्यक्ष वासु उप्रेतीले जानकारी दिनुभयो । त्यसमध्ये ८० भारतीय मजदूरसमेत छन् ।

स्थानीय सरकारसँग कुनै सम्झौता नभई मौखिक कुरा गरेकै आधारमा त्यस्ता कम्पनीले काम गर्दै आएका छन् । कम्पनीको अनुगमन र नियमनसमेत हुँदैन । अध्यक्ष उप्रेतीले भन्नुभयो, “हामीले उपत्यकाका झण्डै ८० हजार घरबाट दैनिक ६५० मेट्रिक टन फोहर सङ्कलन गर्दै आएका छौँ ।” ती कम्पनीले फोहर सङ्कलन गरेबापत प्रति घरबाट न्यूनतम रु ३५० शुल्क लिने गरेका छन् । ठूला उद्योग र होटलबाट लिने शुल्क भने कैयौँ गुणा बढी छ ।

फोहर पुनःप्रयोगबाट रु पन्ध्र लाख आम्दानी

सङ्कलित फोहरमा १० देखि १५ प्रतिशत पुनःप्रयोग हुने प्लाष्टिकजन्य वस्तु, कागज, धातुजन्य र अन्य सामग्रीबाट दैनिक रु १५ लाख थप आम्दानी हुने गरेको अध्यक्ष उपे्रतीले बताउनुभयो । सबै फोहरलाई व्यवस्थित गरेर पुनः प्रयोग गर्न सके दैनिक रु ५० लाखसम्म आम्दानी गर्न सकिने उहाँको अनुमान छ ।

निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा बिसर्जन गर्दैआएका छन् । उनीहरुले त्यसरी बिसजर्न गरेको फोहरबापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिपरको रु ३५० कर तिर्ने गर्छन् । सिसडोलमा महानगरपालिकाले फोहर डोजरले मिलाउने र व्यवस्थापन गर्ने गर्छ ।

फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलमा वर्षात्मा बाटोको समस्या हुन्छ । यसबाहेक अन्य समस्या पनि त्यहाँ रहेको निजी कम्पनीको गुनासो छ । काठमाडौँको शान्तिनगरमा कार्यरत जनजागरुक वातावरण संरक्षण अभियानका अध्यक्ष नारद गिरी फोहर सङ्कलन गर्न टोलटोलमा खाली जमीनको अभाव भएको बताउनुहुन्छ । साथै आवश्यक नेपाली जनशक्ति नपाउँदा भारतबाट मजदूर ल्याउनुपर्ने, फोहर शुल्क समयमा नउठ्नेलगायत समस्या रहेको गिरीको भनाइ छ । “दुई महीनादेखि शिवपुरी राष्ट्रिय निकुञ्जले पनि प्रतिटिपर रु ५० शुल्क लिने गरेको छ,” उहाँले भन्नुभयो ।

उपत्यकामा स्थानीय तहले आफैँ पनि फोहर सङ्कलन गर्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन् । उहाँले भन्नुभयो, “फोहर सङ्कलन गर्ने निजी कम्पनीसँग हाम्रो कुनै समन्वय छैन, कुरा पटक पटक उठेको हो तर कुनै प्रगति भएको छैन ।”

ललितपुर महानगरपालिकाले आफैँ दैनिक ४० देखि ५० मेट्रिक टन फोहर सङ्कलन गर्ने गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो । ललितपुर महानगरपालिकाले दैनिक आठ टिपरमार्फत सङ्कलित फोहर सिसडोलमा व्यवस्थापन गर्र्दै आएको छ । प्रवक्ता महर्जन फोहर सङ्कलन गर्ने निजी कम्पनीसँग कुनै सम्झौता र समन्वय नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कुनै कुनैसँग समन्वय भएको छ , उनीहरुले कर पनि तिर्ने गरेका छन् तर अरुसँग कुनै सम्पर्क हुँदैन ।”

 

रु ३८ करोडमा ल्याण्डफिल निर्माण गरिँदै

 

शहरी विकास मन्त्रालयले नुवाकोटको बञ्चरेडाँडामा करीब रु ३८ करोडको लागतमा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल निर्माण थालेको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको ल्याण्डफिल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिने निर्णय गरेको थियो ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन गर्न ल्याण्डफिल निर्माण गर्न लागिएको हो । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार आगामी फागुनसम्ममा कस्तो ल्याण्डफिल निर्माण गर्ने भन्ने विषयमा नमूना तयार गरी अन्य काम अघि बढ्नेछ । हाल काठमाडौँ उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

सिसडोलमा करीब ४०÷५० मिटरमाथिसम्म निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले पहिरो जाने सम्भावना छ । त्यहाँ फोहर विसर्जन गर्न समस्या हुने देखिन्छ । सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ ।

यसबाहेक हरेक वर्ष वर्षात्को समयमा बाटो बिगँ्रदा र उत्पादन हुने फोहरमा समेत वृद्धि हुँदा लामो समयसम्म उपत्यकाको फोहर नउठ्ने समस्या नियमितजस्तै भइसकेको छ । बञ्चरेडाँडामा निर्माण गरिने ल्याण्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण सम्पन्न गर्न कम्तीमा तीन वर्ष लाग्ने यस क्षेत्रका जानकार बताउँछन् ।

रासस

तपाईको प्रतिक्रिया

×